Techie IT
  • शुक्रबार, मंसीर ५, २०८३ / Friday, November 20, 2026
गृहपृष्ठ ∕ प्रदेश ∕ स्वास्थ्य क्षेत्रका समस्या समाधान गरी सबै नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्‍याउनुपर्छ : मुख्यमन्त्री भट्ट

स्वास्थ्य क्षेत्रका समस्या समाधान गरी सबै नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्‍याउनुपर्छ : मुख्यमन्त्री भट्ट


धनगढी । स्वास्थ्य क्षेत्रमा देखिएका विविध समस्या समाधान गर्दै सबै नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउनु आवश्यक रहेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बताएका छन्।

उद्योग वाणिज्य संघ अत्तरियाद्वारा आयोजित स्वास्थ्य युवा महोत्सवलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले स्वास्थ्य क्षेत्रमा बढ्दै गएका चुनौती समाधान गर्न जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम आवश्यक रहेको बताए।

उनले पछिल्लो समय सरुवा रोगभन्दा नसर्ने रोगको जोखिम बढ्दै गएको, मानसिक तनाव, डिप्रेसन तथा आत्महत्याका घटना गम्भीर सामाजिक तथा जनस्वास्थ्य समस्याका रूपमा देखिएको उल्लेख गरे। यस्ता समस्याको रोकथाम तथा न्यूनीकरणका लागि स्वास्थ्य युवा महोत्सवजस्ता कार्यक्रम प्रभावकारी माध्यम बन्न सक्ने उनको भनाइ थियो।

स्वास्थ्य क्षेत्रको सुधार, रोगको रोकथाम तथा जनस्वास्थ्यसँग सम्बन्धित गतिविधिमा प्रदेश सरकार सहकार्य र सहयोग गर्न सधैँ तत्पर रहेको उनले बताए।

सुदूरपश्चिमको भौगोलिक विकटता र विशेषगरी पहाडी क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचमा देखिएका समस्यालाई ध्यानमा राख्दै बैतडीको खोड्पे र डोटीको बुडरमा मिनी ट्रमा सेन्टर स्थापना गर्ने निर्णय गरिएको मुख्यमन्त्री भट्टले जानकारी दिए।

त्यसैगरी, प्रदेश सरकारले स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै दार्चुलाको गोकुलेश्वर र बाजुराको कोल्टीमा प्रादेशिक अस्पताल निर्माणको प्रक्रिया अघि बढाएको उनले बताए।

मुख्यमन्त्री भट्टले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय यस क्षेत्रका नागरिकको चाहना, निरन्तर संघर्ष र लामो प्रयासको प्रतिफल भएको उल्लेख गर्दै विश्वविद्यालयमा एमबीबीएस अध्ययन सुरु हुने अवस्थामा कुनै पनि बहानामा पठनपाठन रोकिन नहुनेमा जोड दिए।

संघीय सरकार र डा. गोविन्द केसीबीच भइरहेको सम्झौताका कारण एमबीबीएस अध्ययन प्रभावित हुन सक्ने आशंका व्यक्त गर्दै उनले विश्वविद्यालयको शैक्षिक कार्यक्रम निर्वाध रूपमा सञ्चालन हुनुपर्ने धारणा राखे।



तपाईको प्रतिक्रिया

ताजा अपडेट


यो पनि पढनुहोस

error: Content is protected !!