Techie IT
  • शुक्रबार, मंसीर ५, २०८३ / Friday, November 20, 2026
गृहपृष्ठ ∕ मुख्य समाचार ∕ जलवायु परिवर्तनका मुद्दामा स्वास्थ्यलाई केन्द्रमा राख्न मन्त्री मेहताको जोड

जलवायु परिवर्तनका मुद्दामा स्वास्थ्यलाई केन्द्रमा राख्न मन्त्री मेहताको जोड


काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पारिरहेको प्रभाव र यसबाट सिर्जित चुनौतीलाई अन्तर्राष्ट्रिय मञ्चमा प्राथमिकताका साथ उठाउन जोड दिनुभएको छ।

COP31 मा सहभागी हुन पुगेका नेपाली युवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूसँगको भेटमा मन्त्री मेहताले जलवायु परिवर्तनसम्बन्धी छलफल, संवाद र पैरवीमा स्वास्थ्यका विषयलाई केन्द्रमा राख्न आग्रह गर्नुभएको हो।

उहाँले विशेषगरी हिमाली क्षेत्रमा देखिएका जलवायुजन्य जोखिम र त्यसले जनस्वास्थ्यमा पार्ने प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभावलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्राथमिकताका साथ प्रस्तुत गर्न आग्रह गर्नुभयो। सम्भव भएसम्म COP31 का सबै सत्र, छलफल तथा संवादमा स्वास्थ्यसम्बन्धी विषयमा सक्रिय पैरवी गर्न पनि उहाँले प्रतिनिधिहरूलाई अनुरोध गर्नुभयो।

जलवायु परिवर्तन वातावरणीय समस्यामा मात्रै सीमित नभई मानव जीवन र जनस्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको उल्लेख गर्दै मन्त्री मेहताले जलवायुसम्बन्धी हरेक नीति, छलफल तथा निर्णय प्रक्रियामा स्वास्थ्यको सवाललाई प्राथमिकताका साथ समेट्नुपर्ने बताउनुभयो।

जलवायु परिवर्तनका कारण उत्पन्न स्वास्थ्य जोखिम न्यूनीकरण, हिमाली क्षेत्रको संवेदनशीलता र जनस्वास्थ्य सुरक्षाका विषयलाई अन्तर्राष्ट्रिय जलवायु संवादमा प्रभावकारी रूपमा स्थापित गर्नुपर्नेमा उहाँको जोड थियो।



तपाईको प्रतिक्रिया

ताजा अपडेट


यो पनि पढनुहोस

error: Content is protected !!