Techie IT
  • बिहीबार, साउन ७, २०८३ / Thursday, July 23, 2026
गृहपृष्ठप्रदेशसुदूरको सपनामाथि गोविन्द केसीको गिद्धे नजर : सञ्चालन हुनै लागेको स्वास्थ्य बिज्ञान विश्वविद्यालय रोक्न अनशन बस्दै

सुदूरको सपनामाथि गोविन्द केसीको गिद्धे नजर : सञ्चालन हुनै लागेको स्वास्थ्य बिज्ञान विश्वविद्यालय रोक्न अनशन बस्दै

सुदूरपश्चिममा विरोध


काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ताका रूपमा परिचित डा. गोविन्द केसी आज (बिहीबार) दिउँसो ३ बजेदेखि धनगढीमा आमरण अनशन बस्ने भएका छन् । अनशनका लागि दार्चुला पुगेका केसी धनगढी फर्किएका हुन् । उनका सहयोगी डा. अमृत जैशीका अनुसार डा. केसी धनगढी–१ स्थित कृष्ण मन्दिरको धर्मशालामा अनशन बस्ने कार्यक्रम तय भएको छ ।

यसपटकको अनशनमा डा. केसीले अघि सारेका प्रमुख मागहरूमध्ये कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विषय पनि रहेको छ । विश्वविद्यालयको स्थापना र सञ्चालन प्रक्रियाप्रति उनले असहमति जनाउँदै आएका छन् ।
विगतमा चिकित्सा शिक्षाको गुणस्तर, पहुँच र पारदर्शिताका पक्षमा उठाएका उनका विभिन्न मागप्रति आम नागरिकको सहानुभूति रहँदै आएको थियो । तर शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विषयमा उनले लिएको पछिल्लो अडान भने सुदूरपश्चिमवासीको आकांक्षा र क्षेत्रीय विकासको भावनाविपरीत रहेको भन्दै स्थानीय स्तरमा विरोध हुन थालेको छ ।

लामो राजनीतिक तथा सामाजिक संघर्षपछि कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको बाटो खुलेको अवस्थामा डा. केसीले त्यसको विरोधलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन् । उनले हतारमा ऐन ल्याएर निजी स्वार्थअनुकूल नयाँ संरचना थोपर्न खोजिएको दाबी गर्दै आएका छन् । साथै, नयाँ विश्वविद्यालय आवश्यक परे त्रिभुवन विश्वविद्यालयअन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) वा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नै विश्वविद्यालयका रूपमा विस्तार गर्न सकिने तर्क पनि प्रस्तुत गरेका छन् ।

यद्यपि, सुदूरपश्चिमका चिकित्सक, प्राध्यापक, नागरिक, बुद्धिजीवी तथा स्थानीय सरोकारवालाले भने डा. केसीको उक्त अडानप्रति असहमति जनाइरहेका छन् । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिका सदस्य लोकेन्द्र धामीले डा. केसी सुरुदेखि नै विश्वविद्यालयको विरोधमा रहेको बताए । उनका अनुसार विश्वविद्यालयको विरोध गर्दै यसअघि गेटामा अनशन बस्न आएका डा. केसीलाई स्थानीयले फर्काएका थिए । धामीले सरकारले विश्वविद्यालयसम्बन्धी ऐन ल्याइसकेको, पदाधिकारी नियुक्त गरिसकेको तथा शिक्षण अस्पताल सञ्चालनसँगै शैक्षिक कार्यक्रम सुरु गर्ने तयारी भइरहेका बेला पुनः विश्वविद्यालयको विषयलाई विवादमा ल्याउनु उचित नभएको बताए ।

त्यस्तै, प्रा. डा. शुभेषराज कायस्थले विश्वविद्यालय स्थापना, कानुनी संरचना निर्माण, सञ्चालन मोडालिटी तथा आवश्यक प्रक्रियाहरू पूरा भइसकेकाले अहिले यसको औचित्यमाथि प्रश्न उठाउनु जायज नभएको धारणा व्यक्त गरे ।

सुदूरपश्चिम प्रदेश निजी अस्पताल संस्था (अफिन) का प्रदेश अध्यक्ष तीर्थराज जोशीले पनि डा. केसीको अडानप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनका अनुसार डा. केसीले निजी स्वास्थ्य संस्था सञ्चालकलाई माफियाको संज्ञा दिने, सरकारी स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षाका कार्यक्रमहरूमा निरन्तर अवरोध सिर्जना गर्ने प्रवृत्ति देखाउँदै आएका छन् ।

जोशीले विश्वविद्यालय सञ्चालनसँगै विशेषज्ञ स्वास्थ्य सेवा विस्तार र दक्ष जनशक्ति उत्पादनको प्रक्रिया अघि बढिरहेका बेला त्यसलाई अवरोध गर्ने उद्देश्य देखिएको आरोप लगाए । उनले डा. केसीकै आन्दोलनका कारण मापदण्ड पूरा गरेका नर्सिङ कलेजहरूले समेत अनुमति नपाउँदा नेपाली विद्यार्थी नर्सिङ अध्ययनका लागि विदेश जान बाध्य भएको दाबी गरे ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

error: Content is protected !!