Techie IT
  • शुक्रबार, मंसीर ५, २०८३ / Friday, November 20, 2026
गृहपृष्ठ ∕ औषधि तथा उपकरण ∕ एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि सबै क्षेत्रबीच सहकार्य आवश्यक : मन्त्री मेहता

एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि सबै क्षेत्रबीच सहकार्य आवश्यक : मन्त्री मेहता


काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) नियन्त्रणका लागि स्वास्थ्य, कृषि, पशुपन्छी तथा वातावरण क्षेत्रबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ।
विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह (World AMR Awareness Week–2026) को अवसरमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री मेहताले एएमआर कुनै एक क्षेत्रको मात्र समस्या नभई मानव, पशुपन्छी, वनस्पति, खाद्य प्रणाली र वातावरणसँग जोडिएको साझा चुनौती भएको बताउनुभयो।
उहाँले एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोगले संक्रमणको उपचार कठिन बनाउनुका साथै उपचार खर्च बढाउने र स्वास्थ्य प्रणालीमा थप दबाब सिर्जना गर्ने उल्लेख गर्नुभयो। यसको नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्दै संघ, प्रदेश र स्थानीय तहसम्म समन्वित प्रयास आवश्यक रहेको उहाँको भनाइ थियो।
नेपालले सन् २०२४ मा संयुक्त राष्ट्रसंघको महासभाबाट पारित एएमआरसम्बन्धी घोषणापत्रप्रति प्रतिबद्धता जनाइसकेको र सन् २०२४-२०२८ का लागि एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणसम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा रहेको मन्त्री मेहताले जानकारी दिनुभयो।
कार्यक्रममा ‘Protocol for Antimicrobial Use Point Prevalence Survey in Hospitals of Nepal, 2026’ समेत सार्वजनिक गरिएको छ। अस्पतालहरूमा एन्टिमाइक्रोबियल औषधिको प्रयोगको अवस्था अध्ययन गर्न तयार गरिएको उक्त प्रोटोकलले औषधि प्रयोग तथा चिकित्सकीय सिफारिसको अभ्यासबारे व्यवस्थित तथ्यांक संकलन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसबाट अस्पतालमा एन्टिमाइक्रोबियल औषधिको विवेकपूर्ण प्रयोग प्रवर्द्धन गर्न तथा प्रमाणमा आधारित नीति निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ।
मन्त्री मेहताले एएमआर नियन्त्रणका लागि औषधिको प्रयोगमा नियामकीय निगरानी कडा बनाउनुका साथै खोप, संक्रमण रोकथाम तथा नियन्त्रण र सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छताका अभ्यासलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो।
चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एन्टिमाइक्रोबियल औषधि विवेकपूर्ण रूपमा सिफारिस गर्न, नागरिकलाई स्वास्थ्यकर्मीको सल्लाहबिना त्यस्ता औषधि प्रयोग नगर्न तथा कृषि र पशु स्वास्थ्य क्षेत्रलाई जिम्मेवार प्रयोग र जैविक सुरक्षाका उपाय अवलम्बन गर्न उहाँले आग्रह भएको छ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट


यो पनि पढनुहोस

error: Content is protected !!