बालबालिकाको स्वास्थ्य र संरक्षणमा विशेष ध्यान दिन सिजपको अपिल
काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बालबालिकाको स्वास्थ्य, संरक्षण र शिक्षामा विशेष ध्यान दिन अपिल गरेको छ ।
अभियानका अध्यक्ष तिलोत्तम पौडेलद्वारा आज जारी विज्ञप्तिमा ‘जेनजी’ले सञ्चालन गरेको आन्दोलन र त्यसपछि भएका विभिन्न हिंसात्मक गतिविधिले बालबालिकालाई नकारात्मक मानसिक असर परिरहेकाले बालकेन्द्रित भएर अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगलगायत संस्थालाई आग्रह पनि गरिएको छ ।
आन्दोलनमा भएको मानवीय क्षति, मानव अधिकारको उल्लङ्घन, सरकारी तथा निजी सम्पत्ति, उद्योग, सञ्चार गृह, सङ्घसंस्थाका कार्यालय, विद्यालयमा आगजनी, तोडफोड, लुटपाट जस्ता गतिविधि हुनाका साथै विभिन्न अपराधको सजाय भोेगिरहेका १३ हजार व्यक्ति जेलबाट बाहिर निस्कनु जस्ता घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै समग्र घटनाको उच्चस्तरीय न्यायिक छानबिन गरी दोषीमाथि कारबाही गर्न सिजपले माग गरेको छ ।
“जस्तोसुकै असहज परिस्थितिमा पनि सुरक्षित बाँच्ने, संरक्षण हुन पाउने बालबालिकाको अधिकार हो । सञ्चारमाध्यममा प्रकाशित प्रसारित विभिन्न हिंसात्मक घटनाक्रममा बालबालिका विद्यालय पोसाकमा नै स्वयंको संलग्नता हुनु, अभिभावकहरू नै सडकमा उत्रनु, बालबालिका घाइते र मृत्यु हुनुलगायत समाचारले बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानलाई चिन्तित बनाएको छ”, विज्ञप्तिमा भनिएको छ, “वर्तमान अवस्थामा विद्यालय बन्द भएका छन्, कतिपय विद्यालय जलेका पनि छन् । बालबालिकाका कलिलो मानसिकतामा हजारौँ प्रश्नका लहर उठेको छ । मानसिक स्वास्थ्यमा नै समस्या पर्ने अवस्था छ । बाल संरक्षण, विद्यालय र बालबालिका शान्ति क्षेत्र हुन्, बालबालिका राष्ट्रिय गौरव हुन भन्ने अवधारणालाई समेत जोखिममा पारेको देखिएको छ ।”
सबै जोखिमहरूबाट आफू र आफ्ना बालबालिकालाई जोगाउँदै अपाङ्गता भएका, गर्भवती तथा सुत्केरी, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, जोखिममा परेका, रोजगारीका अवसर गुमाएका बाबुआमाका छोराछोरी, गाउँघर, देशबाहिर रहेका अभिभावकका बालबालिकालाई विशेष ध्यान दिन, सहजता र सुरक्षामा ध्यान दिँदै सकारात्मक सन्देश मात्र प्रवाह गर्न, बालमैत्री वातावरण सिर्जना तथा बालबालिकालाई समय दिन आग्रह गरिएको छ ।
बाल अधिकार उल्लङ्घनका घटनाहरू र जोखिममा पर्नसक्ने अवस्थामा तत्काल नजिकका सुरक्षाकर्मी र बाल ‘हेल्पलाइन’ सेवा १०९८ मा खबर गर्न पनि आग्रह गरिएको छ । साथै आन्दोलनरत जेनजी पुस्ताले भ्रष्टाचार र अनियमितताविरुद्ध उठाएका मागहरूलाई पूरा गर्न नेपालको संविधानभित्रै रहेर लोकतन्त्र, गणतन्त्र तथा प्राप्त उपलब्धिहरूलाई जोगाउँदै राजनीतिक निकास निकाल्न पनि अपिल गरिएको छ । यसबीचमा बालबालिकाको राष्ट्रिय पर्वका रुपमा मानाइने राष्ट्रिय बाल दिवस भदौ २९ गते पनि ओझेलमा परेकामा सिजपले चिन्ता व्यक्त गरेको छ ।
ताजा अपडेट
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी !
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया