Techie IT
  • शुक्रबार, मंसीर ५, २०८३ / Friday, November 20, 2026
गृहपृष्ठ ∕ मुख्य समाचार ∕ नेपालमा पहिलोपटक राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलन हुँदै

नेपालमा पहिलोपटक राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलन हुँदै


काठमाडौं । नेपालमा पहिलो राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलन आयोजना हुने भएको छ। ‘स्वास्थ्य प्रवर्द्धन केवल गतिविधि मात्र होइन, यो एक स्थापित स्वास्थ्य विधा हो’ भन्ने मूल नारासहित आयोजना हुन लागेको उक्त सम्मेलनमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता प्रमुख अतिथिका रूपमा रहने आयोजकले जनाएको छ।

स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपाल (HEPEAN) को आयोजनामा नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको नेतृत्वमा हुने यो सम्मेलन आगामी २०८३ मंसिर ४ र ५ गते (नोभेम्बर २० र २१, २०२६) ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (PAHS) मा हुनेछ।

सम्मेलनमा WHO, IUHPE, NHRC, UNFPA, GIZ,पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (PAHS)लगायतका विकास साझेदार तथा सहयोगी संस्थाहरूको सहकार्य रहेको स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघका अध्यक्ष हेमराज खड्काले बताए। सम्मेलनको उद्देश्य स्वास्थ्य प्रवर्द्धनको महत्व, स्वास्थ्य सेवा प्रणालीमा संस्थागत विकास, नीतिगत सुधार, अनुसन्धान तथा सार्वजनिक स्वास्थ्य क्षेत्रमा प्रभावकारी कार्यान्वयनबारे अन्तर्राष्ट्रिय र राष्ट्रिय अनुभव आदानप्रदान गर्नु रहेको छ। सम्मेलनपछि स्वास्थ्य प्रवर्द्धनसम्बन्धी ‘पाटन घोषणापत्र’ जारी गरिने पनि आयोजकले जनाएको छ।

ओटावा चार्टरको विश्वव्यापी घोषणा भएको ४० वर्ष पूरा भएको अवसरमा नोभेम्बर २१ मा नेपालमा दोस्रो  पटक स्वास्थ्य प्रवर्द्धन दिवस मनाइने छ। सम्मेलनमा सहभागी हुन अनलाइन दर्ता खुला गरिएको छ। इच्छुक व्यक्तिले आयोजकले उपलब्ध गराएको आधिकारिक लिङ्कमार्फत अनलाइन दर्ता गर्न सक्ने आयोजकले जनाएको छ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट


यो पनि पढनुहोस

error: Content is protected !!