बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी
चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपणका लागि आवश्यक भौतिक एवं चिकित्सकीय तयारी थालेको छ । यसका लागि नेपाल सरकारसंगको सहकार्यमा चीन सरकारले भवन निर्माण, उपकरण खरिद र चिकित्सक, नर्सलाई तालिम दिने गरी यो परियोजना अघि बढाएको हो ।
चिकित्सकका अनुसार शरीरको फ्ल्याट हड्डीभित्र हुने बोनम्यारोमा रातो रक्त कोष (आरबिसी), सेतो रक्त कोष (डब्लुबिसी) र प्लेटलेट्स बन्ने गर्छ। बोनम्यारोको रोग विशेषगरी दुई तरिकाले लाग्छ। एप्लास्टिक एनिमिया र रक्त क्यान्सर वा बोनम्यारो क्यान्सर। यी दुवै रोगले बोनम्यारोको नियमित काममा बाधा ल्याइदिन्छ र बोनम्यारोमा बन्नु पर्ने आरबिसी, डब्लुबिसी र प्लेटलेट्स बन्न पाउँदैन। यस्तो अवस्थामा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ। बोनम्यारो प्रत्यारोपणमा शरीरको कुनै अङ्ग नै झिक्ने, चिरफार गर्ने हुँदैन। यो भनेको सुइबाट रगत झिक्ने वा बोनम्यारो झिक्ने र सुइबाटै राख्ने विधि हो।
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उमेश नेपालले चिनियाँ टोली केही दिन अघि दुई साता यहाँ बसेर ‘बोनम्यारो’ प्रत्यारोपण सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधारका विषयमा छलफल गरेको जानकारी दिए । टोलीले भरतपुर महानगरपालिका, सहरी विकास तथा भवन निर्माण आयोजना, नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्राविधिकसहित बसेर सुझाव समेत लिएको थियो ।
उनका अनुसार यसका लागि नेपाल सरकारसँग पुनः सम्झौता पश्चातआवश्यक काम अघि बढ्ने छ । अस्पतालको अन्तरङ्ग भवनको अगाडि तीन तलाको भवन बनाइने छ । निमित्त कार्यकारी निर्देशक नेपालका अनुसार सन् २०२६ मा नै काम सुरु गर्ने चिनियाँ टोलीको तयारी छ ।
चिनियाँ सरकारले यो परियोजना सम्पन्न गर्न करिब ३७ मिलियन चिनिया रकम खर्च गर्दै छ । अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार ‘बोनम्यारो’ प्रत्यारोपण सेवा सञ्चालनका लागि भवन निर्माण, उपकरण खरिद र जनशक्तिलाई तालिमसमेत चीन सरकारले व्यवस्थापन गर्ने छ । यसअघि नेपाल सरकार र चीनको चिनियाँ अन्तरराष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेसनल डेभलेपमेन्ट को–अपरेसन एजेन्सी) का बीच सम्झौता भइसकेको छ ।
बोनम्यारो युनिट पाँच श्ययाको हुनेछ । उहाँका अनुसार सुरुमा पुरानो भवनमा युनिट सञ्चालन गर्ने तयारी गरिएको भए पनि यो सम्भव नहुने भएपछि नयाँ भवन बनाउन लागिएको हो । भवन बनाउने ठाउँको माटो परीक्षणलगायतका काम यसअघि नै सम्पन्न भइसकेका छन् ।
बोनम्यारो युनिटमा काम गर्नका लागि हाल अस्पतालका तीन जना चिकित्सक र नर्स चीनमा तालिम लिईरहेका छन् । निवर्तमान कार्यकारी निर्देशक डा पौडेलले भने “‘बोनम्यारो’ प्रत्यारोपणका लागि यसअघि नै तीन स्वास्थ्यकर्मी जनाले छ महिनाको र पाँच जनाले दुई हप्ताको तालिम लिएर फर्किएका छन् । ”त्यहाँ काम गर्ने जनशक्तिलाई चीन सरकारको तर्फबाट थप आवश्यक तालिम दिइँदै छ । उनीहरुले निर्माण थालेको एक वर्ष छ महिनामा काम सम्पन्न गर्ने तयारी गरेको जनाइएको छ ।
यो स्तरको अत्याधुनिक बोनम्यारो प्रत्यारोपण युनिट नेपालमा पहिलो हुने डा पौडेलको दावी छ । अहिले बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने बिरामी विदेश जान बाध्य छन् । यहाँ यो सेवा सुरु भएसँगै कम खर्चमा बिरामीहरुले उच्चस्तरको सेवा पाउने उनी बताउछन् ।
विसं २०५१ मा चीन सरकारको सहयोगमा क्यान्सर अस्पताल निर्माण गरिएको थियो । त्यसयता यहाँ निरन्तर चिनियाँ चिकित्सकले समेत बिरामीको उपचार गरिरहेका छन् । यहाँ नेपाल सहित भारतका बिरामी समेत उपचार गर्न आउने गर्दछ ।
- # ‘बोनम्यारो’ प्रत्यारोपण
- # निमित्त कार्यकारी निर्देशक डा उमेश नेपाल
- # बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया