बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
बागमती । बागमती प्रदेश सरकारले स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राखेर विशिष्टीकृत सेवा विस्तार गरेसँगै प्रदेशमा स्वास्थ्य उपचार सेवा प्रभावकारी बन्दै गएको पाइएको छ ।
प्रदेश मातहतका अस्पतालहरूमा विभिन्न विशिष्टीकृत स्वास्थ्य सेवा थप गरिनुका साथै उपचार सुविधाको विस्तार गरिएको छ ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरका अनुसार प्रदेश सरकारले भक्तपुर अस्पताल, धादिङ अस्पताल, त्रिशूली अस्पताल, बकुलहर रत्ननगर अस्पताल तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौँडा अस्पतालमा २२ वटा डायलासिस मेसिन थप गरी सेवा विस्तार गरेको छ ।
प्रदेश सरकारले क्यान्सर रोगको उपचारमा थप रु ५० हजारसम्म सहुलियत उपलब्ध गराउने प्रतिबद्धताअनुसार प्रदेशभित्रका १८ अस्पतालसँग सम्झौता गरी उपचार सहुलियत प्रदान गरिरहेको उनले बताए। साथै, हृदयाघातका बिरामीलाई उपचार सहुलियत प्रदान गर्ने कार्यक्रम पनि निरन्तर सञ्चालनमा रहेको छ ।
भक्तपुर अस्पतालमा ‘स्ट्रोक म्यानेजमेन्ट’सहित स्नायुरोगसम्बन्धी विशेषज्ञ सेवा सुरु गरिएको छ भने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौँडा अस्पतालमा मुटुरोगसम्बन्धी विशेषज्ञ सेवा सञ्चालनमा ल्याइएको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा विशेषज्ञ आवासीय चिकित्सक परिचालन गरी धादिङ र सिन्धुली अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गरिएको छ ।
यसैबीच, सिन्धुपाल्चोकको चौतारा अस्पताल र मकवानपुरको हेटौँडा अस्पतालमा मानसिक स्वास्थ्य वार्ड स्थापना गरी अन्तरङ्ग सेवा सञ्चालनमा ल्याइएको छ भने भक्तपुर अस्पतालबाट ‘अल्जाइमर’सम्बन्धी सेवा पनि प्रदान गर्न थालिएको छ ।
प्रदेशका १३ वटै जिल्लाका दुर्गम क्षेत्रमा एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियान सञ्चालन गर्नुका साथै विशेषज्ञ स्वास्थ्य शिविरमार्फत विभिन्न स्वास्थ्य सेवा प्रदान गरिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमार्फत विशेषज्ञ आयुर्वेद सेवा पनि उपलब्ध गराइएको छ ।
“प्रदेशमा स्वास्थ्य उपचार सेवाको प्रभावकारिता अभिवृद्धिका लागि थुप्रै काम भएका छन्,” मन्त्री थापा मगरले भने, “प्रदेश मातहतका अस्पतालमा विभिन्न विशिष्टीकृत सेवा विस्तार गरिनुका साथै समुदायस्तरमै सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने दिशामा सरकार अघि बढिरहेको छ ।”
ताजा अपडेट
- एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि सबै क्षेत्रबीच सहकार्य आवश्यक : मन्त्री मेहता
- स्वास्थ्य प्रवर्द्धनलाई राष्ट्रिय स्वास्थ्य प्रणालीको प्राथमिकतामा राख्नुपर्नेमा मन्त्री मेहताको जोड
- चिकित्सा शिक्षा आयोगद्वारा एमबीबीएस प्रवेश परीक्षाको नतिजा प्रकाशन
- स्वास्थ्य क्षेत्रका समस्या समाधान गरी सबै नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्याउनुपर्छ : मुख्यमन्त्री भट्ट
- शिक्षा–स्वास्थ्य मन्त्रालयको क्षेत्राधिकार अन्योलमा गेटा विश्वविद्यालय, अस्पताल हस्तान्तरणदेखि पदाधिकारी नियुक्तिसम्म अल्झियो
- जलवायु परिवर्तनका चुनौती सामना गर्न स्वास्थ्यलाई जलवायु कार्ययोजनाको केन्द्रमा राख्नुपर्नेमा स्वास्थ्यमन्त्री मेहताको जोड
- जलवायु परिवर्तनका मुद्दामा स्वास्थ्यलाई केन्द्रमा राख्न मन्त्री मेहताको जोड
- नेपालमा पहिलोपटक राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलन हुँदै
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया