ट्रमा सेवा विस्तार र दुर्घटना उपचार सहज बनाउन प्रदेश सरकारको प्रतिबद्धता
काठमाडौँ । बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन सरकारी अस्पतालमा ट्रमा सेवा विस्तार गर्ने, ट्रमा सेन्टरको क्षमता अभिवृद्धि गर्ने तथा आवश्यक कानुनी र नीतिगत व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ ।
नेपाल यातायात व्यावसायिक राष्ट्रिय महासङ्घका केन्द्रीय अध्यक्ष सरोज सिटौलाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग आज भएको छलफलमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सार्वजनिक यातायात क्षेत्रमा देखिएका समस्याको दीर्घकालीन समाधानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएको महासङ्घले जनाएको छ ।
मुख्यमन्त्री बानियाँले दुर्घटनामा मृत्यु हुनेका परिवारलाई उचित क्षतिपूर्ति सुनिश्चित गर्ने, घाइतेको उपचारलाई सहज बनाउने तथा सम्बन्धित निकाय र यातायात व्यवसायीसँग समन्वय गरी आवश्यक सुधार अघि बढाइने विश्वास व्यक्त गरे। उनले दुर्घटनापछि घाइतेको प्राथमिक उपचार सरकारी अस्पतालमै सुनिश्चित गर्ने दिशामा आवश्यक कानुनी तथा नीतिगत पहल गरिने पनि बताए ।
भेटका क्रममा महासङ्घले विशेषगरी काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक जाम, दुर्घटनापछिको क्षतिपूर्ति वितरण प्रक्रिया तथा घाइतेको उपचारसँग सम्बन्धित समस्या समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएको थियो ।
महासङ्घका अध्यक्ष सिटौलाले हालको बिमा व्यवस्थाअनुसार घाइतेको उपचार खर्च अधिकतम रु तीन लाखसम्म मात्र उपलब्ध हुने भएकाले महँगा निजी अस्पतालमा उपचार गराउँदा व्यवसायी र पीडित दुवै आर्थिक रूपमा समस्यामा पर्ने गरेको बताए ।
उनले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने, दुर्घटनापछिको उपचार प्रणाली सुधार गर्ने र क्षतिपूर्ति वितरण प्रक्रियालाई व्यावहारिक तथा समयानुकूल बनाउन प्रदेश सरकारले आवश्यक समन्वय गर्नुपर्नेमा जोड दिए ।
सिटौलाले सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाउन जिपिएस प्रणाली जडान, अनलाइन टिकटिङ, सिसी क्यामेरा जडान तथा यात्रुले तोकिएको स्थानबाट अनिवार्य रूपमा टिकट लिएर मात्र यात्रा गर्ने व्यवस्था कार्यान्वयनका लागि आवश्यक कानुनी तथा नीतिगत वातावरण निर्माण गरिदिन पनि आग्रह गरे ।
मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सङ्घीय राजधानी रहेको प्रदेश भएकाले देशभरका ६० प्रतिशतभन्दा बढी सवारीसाधनको चाप यहीँ रहने उल्लेख गर्दै ट्राफिक सुधार, दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षित आवागमन सुनिश्चित गर्न प्रदेश सरकार निरन्तर सक्रिय रहने बताए ।
यातायात व्यवसायीहरूले ट्राफिक व्यवस्थापन, दुर्घटनापछिको उपचार प्रणाली र क्षतिपूर्ति व्यवस्थामा सुधार भए सार्वजनिक यातायात सेवा थप सुरक्षित, भरपर्दो र प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन् ।
ताजा अपडेट
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व
- आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुनर्संरचनाको तयारी
- जलन उपचार सुधारमा मन्त्रालयको जोड : स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी
- चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
- बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
- तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
- गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया