गेटा अस्पतालमा चरम लापरवाहीः ईमरजेन्सीमै भान्सा, रिकभरी रूममै चिकित्सकको बास !
धनगढी । शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन भइरहेको गेटा अस्पतालमा गम्भीर लापरवाही र स्वास्थ्य मापदण्डको खुलेआम उल्लंघन भइरहेको तथ्य बाहिर आएको छ ।
बिरामीको जीवनरक्षा गर्नुपर्ने ईमरजेन्सी कक्षलाई नै चिकित्सक तथा नर्सिङ कर्मचारीले खाना पकाउने भान्साघर बनाएको पाइएको छ । अस्पताल स्रोतका अनुसार ईमरजेन्सी वार्डभित्रै दैनिक रूपमा खाना पकाउने गरिएको छ । उपचारका लागि अत्यन्त संवेदनशील मानिने स्थानमा धुवाँ, गन्ध र फोहोर फैलिने गरी खाना पकाउँदा बिरामीको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने अवस्था सिर्जना भएको छ ।
स्रोतका अनुसार खाना पकाउँदा आएको गन्ध र वातावरणका कारण केही बिरामीले बान्तासमेत गरेका थिए । अस्पतालभित्रकै कर्मचारीहरूले यस्तो कार्य रोक्न आग्रह गरे पनि हालसम्म उक्त गतिविधि रोकिएको छैन ।
स्वास्थ्य संस्थाको सबैभन्दा संवेदनशील क्षेत्र मानिने ईमरजेन्सीमा खाना पकाइनु केवल अनुशासनहीनता मात्र नभई संक्रमण फैलाउने, बिरामीको अवस्था झन् जटिल बनाउने र अस्पतालभित्रको सरसफाइ तथा स्वास्थ्य सुरक्षा मापदण्डमाथि गम्भीर प्रहार भएको जानकारहरू बताउँछन् । विशेषज्ञहरूका अनुसार यस्तो गतिविधिले अस्पतालजन्य संक्रमणको जोखिम बढाउने, बिरामीको उपचारमा अवरोध पु¥याउने र आकस्मिक सेवाको विश्वसनीयतामाथि प्रश्न उठाउने खतरा हुन्छ ।
यति मात्र होइन, ईमरजेन्सीभित्र निर्माण गरिएको रिकभरी रूमलाई समेत चिकित्सकहरूले निजी आवासका रूपमा प्रयोग गरिरहेको आरोप लागेको छ । स्रोतका अनुसार उक्त कोठामा एसी जडान गरिएकाले केही चिकित्सक त्यहीँ बस्ने तथा सुत्ने गरेका छन् । बिरामीको निगरानी र आकस्मिक उपचारका लागि प्रयोग हुनुपर्ने रिकभरी रूमलाई व्यक्तिगत आरामस्थल बनाइनुले अस्पताल प्रशासनको चरम गैरजिम्मेवारी उजागर भएको कर्मचारीहरूको भनाइ छ ।
अर्कोतर्फ, अस्पतालले आवासका रूपमा प्रयोग गरिरहेको भवनभित्र नर्सिङ कर्मचारीले कुकुर पालेर राखेको समेत पाइएको छ । अस्पताल परिसरमै जनावर राखिँदा सरसफाइ, संक्रमण तथा दुर्गन्धको समस्या बढेको कर्मचारीहरूकै गुनासो छ । स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्रमा यस्तो गतिविधिले थप स्वास्थ्य जोखिम निम्त्याउने चिन्ता व्यक्त गरिएको छ ।
राज्यको ठूलो लगानीमा सञ्चालित तथा शिक्षण अस्पतालको रूपमा विकास गरिँदै आएको गेटा अस्पतालमा भइरहेको यस्तो लापरवाहीले अस्पताल प्रशासन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सम्बन्धित निकायको अनुगमनमाथि गम्भीर प्रश्न उठाएको छ । बिरामीको उपचारस्थललाई नै भान्सा र विश्रामस्थल बनाउने कार्य तत्काल रोक्न तथा दोषीलाई कारबाही गर्न आवश्यक छ ।
यता, गेटा अस्पतालका सूचना अधिकारी नैन सिंह कार्कीले भने, ईमरजेन्सी वार्डमै भान्सा सञ्चालन नगरेको दाबी गरे । ‘नर्सिङ स्टेशन नजिक नाइट ड्युटीमा रहेका कर्मचारीले चिया–नास्ता खाने गरेको हुन सक्छन्,’ उनले भने । कार्कीका अनुसार रिकभरी रूममा भने बिरामी नभएको समयमा नाइट ड्युटीमा रहेका कर्मचारीहरूले केही समय आराम गर्ने गरेका छन् ।
ताजा अपडेट
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
- गेटा अस्पतालमा चरम लापरवाहीः ईमरजेन्सीमै भान्सा, रिकभरी रूममै चिकित्सकको बास !
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान
- घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
- ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ : बालबालिकामा कुपोषण बढ्यो
- एमबीबीएस तथा बीडीएस इन्टर्नको भत्ता पुनरावलोकन गर्न सिफारिस
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया