नेपालको जलवायु मुद्दाको केन्द्रमा बालबालिका तथा युवा
काठमाडौँ। मुलुकभरका एक सय बढी बालबालिका तथा युवाले जलवायु परिवर्तन र यसबाट उत्पन्न सङ्कटका बारेमा चिन्ता व्यक्त गर्दै त्यसबाट जोगिने उपायको खोजी गरेका छन् ।
बालबालिका तथा युवा (वायु) संवादका लागि भेला भएका उनीहरूले सरकारको आयोजनामा हुन गइरहेको अन्तरराष्ट्रिय ‘सगरमाथा संवाद’को सन्दर्भमा बालबालिका तथा युवाको नेतृत्वमा जलवायु परिवर्तन प्रतिकार्यका विषयमा छलफल गरेका थिए ।
विशेषगरी २४ वर्षमुनिका युवाले नेपालको झन्डै आधा जनसङ्ख्या ओगट्ने अवस्थामा यो कार्यक्रमले एक महत्त्वपूर्ण सन्देश दिएको वन तथा वातावरण मन्त्रालय उपसचिव डा प्रकाशसिंह थापाले जानकारी दिए । सो कार्यक्रममा सहभागी २० वर्षीय निश्चल भट्टले भने, “जलवायु परिवर्तन भविष्यको चिन्ता होइन, यो आजकै यथार्थ हो, हामी युवासँग परिवर्तन ल्याउने जोश र शक्ति छ । हामी जलवायु न्यायसहितको र उत्थानशील समाज निर्माणमा योगदान दिनका लागि अनुकूल वातावरणको माग गरिरहेका छौँ ।”
जलवायु परिवर्तनमा उनीहरूको योगदान धेरै कम भए पनि बालबालिका तथा युवाले यसको परिणाम सबैभन्दा बढी व्यहोर्नुपरेको छ । अत्यधिक गर्मी, भीषण वर्षा, जलवायुजन्य विपद् र प्रदूषित हावापानीका कारण उनीहरूको स्वास्थ्यमा जोखिम, कुपोषणमा वृद्धि र अध्ययनमा बाधा पुगिरहेको छ । नेपालमा सङ्क्रामक कीटजन्य रोग, खाद्य सुरक्षा तथा विद्यालय बन्द हुनुसँग जलवायु परिवर्तन जोडिएको छ । यी सबै चुनौतीले बालबालिका तथा युवाहरू बढी प्रभावित छन् ।
“सबै बालबालिकाले सुरक्षित र स्वस्थ वातावरणमा हुर्कन पाउने अधिकार राख्छन् । जलवायु परिवर्तनले यस अधिकारलाई दैनिक रूपमा जोखिममा पारिरहेको छ”, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका कार्यवाहक आवासीय संयोजक डा एलिस अकुङ्गाले भने । वायु संवादमा बालबालिका तथा युवाको नेतृत्वमा गरिएको जलवायु सङ्कट समाधानको प्रदर्शनी, श्रव्यदृश्य प्रदर्शन, जलवायु उत्थानशीलतासम्बन्धी विज्ञ सत्र र दुई अन्तरपुस्तीय प्यानल छलफल समावेश थिए ।
पहिलो सत्रमा शिक्षा, स्वास्थ्य, पानीजस्ता आधारभूत सेवामा जलवायु परिवर्तनको प्रभावबारे छलफल गरिएको थियो । दोस्रो सत्रमा जेठ २ देखि ४ गते हुन गइरहेको सगरमाथा संवादको मूल विषयसँग मेल खाने गरी पर्वतीय पारिस्थितिकी, जलवायु परिवर्तन र मानवताको भविष्यबारे प्रकाश पारिएको थियो । सो संवादमा बालबालिका, किशोरकिशोरी तथा युवाले जलवायु परिवर्तनसम्बन्धी आफ्ना प्रत्यक्ष अनुभव तथा स्थानीयस्तरमा गरिरहेका प्रयास पनि साझा गरेका थिए ।
कार्यक्रमको एउटा मुख्य उपलब्धि भनेको सहभागी बालबालिका तथा युवाद्वारा तयार गरिएको घोषणापत्रलाई लिइएको छ । त्यसमा उनीहरूले जलवायु परिवर्तनप्रति उत्थानशील नेपाल निर्माणका लागि आफ्ना माग, प्रतिबद्धता र प्रस्तावित कार्य समेटेका छन् । यो घोषणापत्र सगरमाथा संवादअघि यसको सचिवालयमा बुझाइने छ ।
“बालबालिका र युवालाई हाम्रो जलवायु प्रतिबद्धताको केन्द्रमा राख्दै नेपाल विश्वभर नै उदाहरण बनेकामा हामी गर्व गर्छौँ”, कार्यक्रमलाई सम्बोधन गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले भने, “हाम्रो दोस्रो राष्ट्रिय रूपमा निर्धारण गरिएको योगदानले बालबालिका तथा युवाको आवश्यकतालाई पहिल्यै समावेश गरिसकेको छ र यो विश्वकै सबैभन्दा समावेशी दस्तावेजमध्ये एक हो ।” उनले वायु संवाद युवाका आवाजलाई नीतिमा, व्यवहारमा र हरियाली तथा उत्थानशील नेपालको यात्रामा परिणत गर्ने अत्यन्तै महत्त्वपूर्ण मञ्च भएको मन्त्री शाहीको भनाइ थियो ।
वन तथा वातावरण मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले बालबालिका र युवाको अगुवाइमा भएको कार्यक्रमको प्रशंसा गर्दै संवादका निष्कर्षले नेपालका नीति तथा योजनालाई मार्गदर्शन गर्ने बताए ।
ताजा अपडेट
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
- भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया