खेलाडीको स्वास्थ्योपचारका लागि राखेप र नाम्सबीच सहकार्य
काठमाडौ । नेपालका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी र प्रशिक्षकले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स), वीर अस्पतालबाट स्वास्थ्य सेवा र उपचारमा विशेष छुट पाउने भएका छन् ।
राखेपमा आज आयोजित एक कार्यक्रमकाबीच राखेप र नाम्सले राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी, प्रशिक्षकलाई आवश्यकताअनुरूप विशेष सेवा दिनेगरी सम्झौता भएको छ ।
राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङ र नाम्सका उपकुलपति प्रा डा भूपेन्द्रकुमार बस्नेतबीच उक्त सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । खेलाडी र प्रशिक्षकको सहजताका लागि सम्पर्क अधिकृत तोकेर यो सुविधा दिन लागिएको छ । यो सम्झौता पाँच वर्षको हुने र पछि सहमतिमा नवीकरण हुनेगरी अगाडि बढाइएको राखेपले जनाएको छ ।
नेपाली खेलकुद विकासमा थप टेवा पुग्नेगरी कूल ११ वटा सर्तहरूसहित सहकार्य भएको र नाम्सले खेलकुदमा नै काम गर्ने प्राविधिकसँगै कर्मचारीलाई पनि यो सुविधा उपलब्ध गराउनेछ । उनीहरूले विशेष ग्राह्यताका साथ दक्ष चिकित्सकको निगरानीमा स्वास्थ्य सेवा पाउने भएका छन् ।
खेलाडीले उपचारका क्रममा प्रयोगशालाबाट दिने सुविधामा विभिन्न चरणमा सहुलियत पाउनेछन् । प्रयोगशाला परीक्षण, बहिरङ्ग सेवा (ओपिडी), एक्स–रे, भिडियो एक्स–रे, अपरेसन, एमआरआई, सिटीस्क्यान र बिरामी भर्नालगायत सबै प्रकारका सेवामा अस्पतालको मूल्य सूचीबाट खेलाडीले छुटसमेत प्राप्त गर्नेछन् । अस्पतालका सबैखाले सेवामा ओलम्पियनले सबैभन्दा धेरै ८० प्रतिशत छुट पाउनेछन् ।
यस्तै, एसियाली र दक्षिण एसियाली खेलकुदमा पदक प्राप्त गर्ने तथा राष्ट्रिय टोलीका खेलाडीले ६० प्रतिशत, राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीले ५० प्रतिशत र राखेपका कर्मचारीले ४० प्रतिशत छुट पाउनेछन् । राखेपको सम्पर्क अधिकृतले प्रमाणीकरण गरेपछि मात्र प्रतिष्ठानले खेलाडी, प्रशिक्षक र कर्मचारीलाई उक्त विशेष सेवा दिनेछन् ।
उपचारका साथै राखेपले आयोजना गर्ने खेलकुदका प्रतियोगितामा स्वास्थ्यसम्बन्धी शैक्षिक जनचेतना, प्राथमिक उपचार, एन्टी डोपिङ, फिजियो थेरापी र पोषणसम्बन्धी विभिन्न कार्यक्रम नाम्सले दिने सहमति भएको छ ।
राखेप सदस्य–सचिव टङ्कलाल घिसिङले नेपाली खेलकुद विकासमा लागेका व्यक्तित्वहरूलाई यो सहकार्यले ठूलो प्रोत्साहन पुग्ने विश्वास व्यक्त गरे । उहाँले नेपालमा यी दुई संस्थाको अस्तित्व भइरहँदासम्म सहकार्य होस् भन्ने आफ्नो चाहना रहेको बताए ।
राखेपले सञ्चालन गरेको मिसन– २०२६ लगायत राष्ट्रिय टोलीको प्रशिक्षणमा पनि विशेष प्रोत्साहन पुगोस् भन्ने उद्देश्यले नेपालको स्वास्थ्य क्षेत्रको सबैभन्दा जेठो अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानसँग सहकार्य गरिएको घिसिङले बताए । राखेपले राष्ट्रिय टोलीका खेलाडी र प्रतियोगिताका क्रममा घाइते भएका खेलाडीलाई बिमासँगै उपचारमा केही खर्च गर्दै आए पनि यो सहकार्यले उनीहरूलाई ढुक्कसँग प्रशिक्षण गर्ने वातावरण मिल्ने उनको विश्वास छ ।
नाम्सका उपकुलपति प्रा डा भूपेन्द्रकुमार बस्नेतले देशको पहिचान गराउने खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो सहकार्य गरिएको बताए । उहाँले स्वस्थ्य रहन खेलकुद नै सबैभन्दा बलियो माध्यम रहेको उल्लेख गर्दै आगामी दिनमा थप सहकार्य बढाउँदै लैजाने बताए।
उक्त कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामचरित्र मेहता, नाम्सका निर्देशक डा दिलीप शर्मा, डा ज्ञानेन्द्रविक्रम शाह र राष्ट्रिय टोली तयारी समितिका निर्देशक दीपक विष्टलगायतको उपस्थिति थियो ।
ताजा अपडेट
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व
- आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुनर्संरचनाको तयारी
- जलन उपचार सुधारमा मन्त्रालयको जोड : स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी
- चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
- बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
- तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
- गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया