Techie IT
  • मंगलबार, भदौ १६, २०८३ / Tuesday, September 1, 2026
गृहपृष्ठमुख्य समाचारबाढीपीडितको पीडामा कोटेश्वर क्याम्पसको साथ, ५१ हजार ५ सय रुपैयाँ सहयोग

बाढीपीडितको पीडामा कोटेश्वर क्याम्पसको साथ, ५१ हजार ५ सय रुपैयाँ सहयोग


काठमाडौं । कोटेश्वर बहुमुखी क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरूले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५१ हजार ५ सय रुपैयाँ सहयोग गरेका छन्।

क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरूले तत्कालका लागि व्यक्तिगत रूपमा संकलन गरेको उक्त रकम बिहीबार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको प्राध्यापक संघ, कोटेश्वर क्याम्पस इकाइका सभापति सुरेश पोखरेलले जानकारी दिए। भदौ १० गते भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीका कारण नदी आसपासका बस्तीमा ठूलो जनधनको क्षति भएको छ।

बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, गोरखा, धादिङलगायतका जिल्लाका नदी आसपासका १ हजार ५ सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् भने हजारौं नागरिक प्रभावित भएको जनाइएको छ। बाढीका कारण ज्यान गुमाउने तथा बेपत्ता हुनेको संख्या पनि बढ्दै गएको छ। गृह मन्त्रालयका अनुसार बाढी तथा पहिरोमा परी मृत्यु भएका २७० जनाको शव फेला परेको छ।

विपत्तिका कारण प्रभावित परिवारहरू आवास, खाद्यान्न, स्वास्थ्य उपचार तथा अन्य आधारभूत आवश्यकताको अभावमा कठिन अवस्थामा रहेका छन्। क्याम्पसले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ।

विपत्तिको यस घडीमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरूले आफ्नो तर्फबाट प्रारम्भिक सहयोग जुटाएर राहत कोषमा रकम जम्मा गरेका हुन्। क्याम्पसले आगामी दिनमा समेत आवश्यकताअनुसार सहयोग तथा सहकार्यका लागि पहल गर्ने जनाएको छ।

क्याम्पसले देशभरका क्याम्पस, विद्यार्थी तथा अभिभावकहरूलाई समेत बाढीपहिरो प्रभावितको उद्धार र राहतका लागि आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न अपिल गरेको छ। विपत्तिमा परेका नागरिकको जीवनरक्षा, राहत वितरण र पुनःस्थापनाका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको क्याम्पसको भनाइ छ।



तपाईको प्रतिक्रिया

error: Content is protected !!