Techie IT
  • शुक्रबार, साउन १, २०८३ / Saturday, July 18, 2026
गृहपृष्ठमुख्य समाचारस्वास्थ्य बिमा : अस्पताललाई दुई अर्ब भुक्तानी

स्वास्थ्य बिमा : अस्पताललाई दुई अर्ब भुक्तानी


काठमाडौँ। स्वास्थ्य बिमा बोर्डले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थालाई दुई अर्ब रुपियाँ भुक्तानी गरेको छ । अर्थ मन्त्रालयले रकम निकासा गरेपछि बोर्डले देशभरका ३६४ स्वास्थ्य संस्थालाई रकम भुक्तानी गरेको हो ।

बोर्डकी कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले ३६४ स्वास्थ्य संस्थालाई दुई अर्ब रुपियाँ भुक्तानी गरिएको जानकारी दिए । प्राप्त बजेटलाई पारदर्शी, न्यायोचित तथा समानुपातिक ढङ्गले वितरण गरिएको प्रजापतिले जानकारी दिए ।

अर्थ मन्त्रालयबाट प्राप्त रकमलाई प्राथमिकताका आधारमा देशभरका स्वास्थ्य संस्थामा वितरण गरिएको जानकारी दिए । उनले स्वास्थ्यसेवा प्रवाहमा देखिएको आर्थिक दबाब केही हदसम्म कम हुने विश्वाससमेत व्यक्त गरे ।

स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी र दिगो बनाउन बाँकी दाबी रकम व्यवस्थापनका लागि पनि सम्बन्धित निकायसँग समन्वय भइरहेको उहाँको भनाइ छ । कार्यक्रम अन्तर्गत सेवा प्रदान गरेका सरकारी, सामुदायिक तथा निजी अस्पतालले लामो समयदेखि दाबी रकम भुक्तानी हुन नसक्दा आर्थिक समस्या झेल्दै आएका थिए । कतिपय स्वास्थ्य संस्थाले भुक्तानी नपाए बिमा बन्द गर्न सक्ने चेतावनीसमेत दिएका थिए ।

निजी मेडिकल कलेजको छाता सङ्गठन एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष प्राडा ज्ञानेन्द्रमानसिंह कार्कीले सरकारले बाँकी दाबी रकम पनि यथाशीघ्र उपलब्ध गराउनुपर्ने बताए । लामो समयसम्म भुक्तानी नपाउँदा निजी स्वास्थ्य संस्था गम्भीर आर्थिक सङ्कटमा परेको दाबी गर्दै सरकारले निजीमा बन्द गरेको बिमा कार्यक्रमको बाँकी रकम तत्काल व्यवस्था गर्नुपर्ने बताए। दाबी रकम नपाउँदा निजी अस्पतालले औषधी तथा स्वास्थ्य सामग्री आपूर्तिकर्तालाई समयमै भुक्तानी गर्न नसकेको गुनासो कार्कीले गरे ।



तपाईको प्रतिक्रिया

error: Content is protected !!