Techie IT
  • शनिबार, पुस १२, २०८२ / Saturday, December 27, 2025
गृहपृष्ठऔषधि तथा उपकरणएचपिभी खोप : नियमित खोप कार्यक्रममा राखेर सञ्चालन हुदै

एचपिभी खोप : नियमित खोप कार्यक्रममा राखेर सञ्चालन हुदै


काठमाडौँ । पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाउने एचपिभी खोप सरकारले नियमित रूपमा सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एचपिभी भ्याक्सिनलाई राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत राखेर सञ्चालन गर्न लागेको हो ।

बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले एचपिभी भाइरसविरुद्धको खोप माघको अन्तिम साताबाट राष्ट्रिय खोप कार्यक्रममार्फत सञ्चालन गर्न लागेको जानकारी दिए ।

उनका अनुसार विद्यालय तहमा कक्षा ६ मा अध्ययनरत सबै बालिका र १० वर्षका करिब साढे तीन लाख किशोरीलाई लक्षित गरेर एचपिभी खोप सञ्चालन गरिने छ ।

पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभीविरुद्धको खोप एक मात्रा लगाएर पुग्ने जानकारी दिँदै डा। गौतमले खोप सुरक्षित र जीवनरक्षा गर्ने भएकाले ढुक्क भएर लगाउन आग्रह गरे ।

यसअघि सरकारले एचपिभीविरुद्धको खोप अभियान सुरु गरेर देशभरका नौ वर्षदेखि १४ वर्ष उमेर समूहका १७ लाख किशोरीलाई यो खोप लगाइसकेको छ । डा. गौतमले सरकारले माघबाट खोप अभियान सञ्चालन गर्नका लागि विद्यालय र विद्यालयबाहिर खोप केन्द्र तय गरेको जानकारी दिए ।

एचपिभी खोप विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरिसकेको र राष्ट्रिय खोप सल्लाहकार समितिको सुझावपछि मात्र नेपालमा लगाउन सुरु गरिएको जानकारी गराउँदै उनले एचपिभीविरुद्धको खोपलाई लिएर थुप्रै भ्रम सिर्जना भए पनि खोप सुरक्षित र पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी भएकाले ढुक्क भएर लगाउन आग्रह गरे ।

सरकारले २०३४ सालदेखि खोप अभियान सुरु गर्दै आएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका डा. पवन उपाध्यायले खोप अभियान सञ्चालन गरेको ५० वर्षमा विश्वमा खोपले १५ करोड ४० लाखको जीवन बचाएको अध्ययनले देखाएको बताए । उनले खोप कार्यक्रम सञ्चालन गर्न सुरु गरेदेखि बाल मृत्युदर घट्दै गएको जानकारी दिए ।



तपाईको प्रतिक्रिया

error: Content is protected !!