कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
टीकापुर । बालबालिकामा देखिने शीघ्र कुपोषण अन्त्यका लागि टीकापुरमा बालबालिका खोजी थालिएको छ ।
टीकापुरमा सङ्घीय सरकार र स्थानीय पालिकाको प्रयासबाट छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाको पोषणको लेखाजोखा गरेर पोषण सुधारका कार्य भइरहेका छन् । यसका साथै प्रदेश स्वास्थ्य निर्देशनालयले समेत कुपोषण भएका बालबालिकाको खोजीमा सघाइरहेको छ ।
टीकापुर अस्पतालसहित पाँच स्वास्थ्य संस्थामार्फत बालबालिकाको पोषण लेखाजोखा गर्ने, कुपोषित बालबालिकाको उपचारका कार्य भइरहेका छन् । टीकापुरमा अहिले ३० बालबालिका शीघ्र कुपोषण भएका र एक सय २० बालबालिका कुपोषणको जोखिममा रहेका तथ्याङ्क छ । स्वास्थ्यकर्मी नै समुदायमा तौल र लम्बाइसमेत नापजाँच गरी पोषणको लेखाजोखा गर्न थालेपछि गत वर्षका तुलनामा टीकापुरमा यस वर्ष कुपोषण भएका बालबालिका बढी भेटिएका नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
सरकारले देशैभरि कुपोषणको जोखिममा रहेका बालबालिका खोजीका लागि स्मार्ट सर्भे गरेको छ, जसमा देशैभरि कुपोषित बालबालिकाको सङ्ख्या बढी देखिएको छ ।
विगतमा महिला स्वास्थ्य स्वयंसेविकाको सहयोगमा पाखुराको नाप र तौललाई मात्र आधार मानेर गरिने कुपोषण परीक्षण हाल स्वास्थ्यकर्मी स्वयंले उचाइ र तौलका आधारमा मापन थालेपछि कुपोषण भएका बालबालिका बढिरहेका छन् ।
टीकापुर वनगाउँकी मीना चौधरीको दोस्रो बच्चा १५ महिनाको छ । उनको बच्चालाई कुपोषण भएको छ । पन्ध्र महिनामा छ केजीमात्र तौल भएपछि टीकापुर अस्पतालमा उपचारपछि उपचारात्मक तयारी खाना खुवाइरहेकी छिन् । एक महिना नियमित खाना खुवाएपछि एक केजी तौल बढेको छ ।
चिकित्सकका अनुसार तीन महिनासम्म नियमित तयारी खाना खुवाउन भनिएको छ । विगतमा राम्ररी बच्चा स्याहार गर्न नसकेकी मीना आजभोलि बच्चाकै स्याहारमा लागिरहेका छन् । “गाउँघर क्लिनिकमा बच्चाको वृद्धि अनुगमनका बेला स्वास्थ्यकर्मीले शीघ्र कुपोषण भएको छ भन्नुभयो”, उनी भन्छन्, “पहिलो बच्चा स्वस्थ थियो, दोस्रो बच्चा राम्ररी हुर्काउन सकिएन, अहिले तयारी खाना खुवाइरहेकी छु ।”
प्रादेशिक अस्पताल टीकापुरमा शीघ्र कुपोषण भएका छ बच्चाले हाल तयारी खाना खाइरहेका छन् । अस्पतालमा वडावडामा हुने वृद्धि अनुगमन र बहिरङ्ग कक्षमा उपचार सेवा लिन आएका बच्चाबाट पहिचान भएका बच्चाको पोषण सुधारका लागि उपचार र खाना खुवाउने गरिएको अस्पतालका नर्सिङ निरीक्षक निलम रावल बताउछिन्। “यसरी आउने बच्चामा मध्यम शीघ्र कुपोषण देखिएकालाई ६० प्याकेट बालभिटा दिएर उपचार गर्ने गरिएको, पोषणको महत्वबारे आमा र परिवारका सदस्यलाई सचेत गराउने गरेका छौँ”, रावल भन्छिन्, “शीघ्र कुपोषण भएकालाई उपचारात्मक तयारी खाना दिन्छौँ ।”
यसका साथै यसरी कुपोषण भएका बच्चाको उपचार पालिकाका वडास्तरमा रहेका स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्रमा पनि हुने गरेको छ । वडास्तरमा रहेका स्वास्थ्य संस्थामा पोषण सुधारका लागि थुप्रै प्रयास भइरहेका छन् ।
स्वास्थ्य संस्थामै पोषण कर्नर राखेर जानकारी दिने लगायतका कार्य गर्ने गरिएको धनसिहपुर स्वास्थ्य चौकीका पोषण फोकल पर्सन तथा अनमी पुनम साउद बताउछिन् । “हामीले गर्भावस्थादेखि नै पोषणबारे जानकारी दिन्छौँ, गर्भमै हुँदा आमा र बच्चा स्वस्थ हुनुपर्छ”, उनले भनिन्, “स्वस्थ्य जन्मिएको बच्चा सही तरिकाले स्याहार गरेमा कुपोषण हुनबाट जोगाउन सकिन्छ ।”
टीकापुर नगरपालिकाले पोषण सुधारका लागि थुप्रै प्रयास गरेको छ । विगतमा टीकापुर अस्पतालमा मात्र रहेको पोषण प्रवर्द्धन बहिर्गमन उपचार केन्द्र हाल वडास्तरमा रहेका स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्रमा समेत विस्तार गरिएको छ ।
हाल टीकापुर अस्पतालसहित नारायणपुर, धनसिंहपुर स्वास्थ्यचौकी, विजयनगर, अस्नेहरी सहरी स्वास्थ्य केन्द्रमा समेत उपचार केन्द्र स्थापना गरी बालबालिकाको पोषण सुधारका प्रयास भइरहेका छन् ।
टीकापुर नगरपालिकाका सिनियर अहेव अधिकृत तथा पोषण फोकल पर्सन कमलबहादुर रावल स्वास्थ्यकर्मी नै कुपोषित बालबालिका खोज्न खटेपछि अहिले बालबालिका बढेका छन् । ‘‘बालबालिका देखिने शीघ्र कुपोषण न्यूनीकरणमा जनचेतना फैलाउन स्वास्थ्य संस्थामा पोषण कर्नर, गाउँघर क्लिनिक तथा खोप कार्यक्रममा पोषणबारे जानकारी दिने, गर्भावस्थादेखि नै पोषण सुधारका कार्य गर्दै आएका छौँ”, उनले भने, ‘‘साम र माम देखिएका बच्चा खोजीका लागि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य शिविर, सर्वेक्षण, घरदैलोजस्ता कार्यमा खटाएका छौँ ।”
ताजा अपडेट
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व
- आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुनर्संरचनाको तयारी
- जलन उपचार सुधारमा मन्त्रालयको जोड : स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी
- चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
- बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
- तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
- गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया