Techie IT
  • शनिबार, चैत्र २८, २०८२ / Saturday, April 11, 2026
गृहपृष्ठप्रदेशवरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !

सुदूरपश्चिमकै पहिलो क्याथ ल्याबको कमाण्डर


धनगढी । कुनै समय थियो, सुदूरपश्चिमका नागरिकले मुटुमा सामान्य समस्या देखिँदा पनि भारतका महँगा अस्पताल वा काठमाडौँका ठूला अस्पताल धाउनुपर्ने बाध्यता थियो । गरिब र निमुखा जनताका लागि मुटुरोगको उपचार ‘आकासको फल’ जस्तै थियो । तर, पछिल्लो तीन वर्षदेखि सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा एउटा आशाको किरण उदाएको छ । त्यो किरणको नाम हो– डा. विप्लव कार्की । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव कार्की अहिले सुदूरपश्चिमका मुटुरोगीहरूका लागि ‘नयाँ जीवन’ दिने सारथी बनेका छन् ।

डा. विप्लव कार्कीको जन्म २०४३ साल कार्तिक २७ गते दाङको घोराही नगरपालिका वडा नं. ५ मा भएको हो । बुवा जुद्ध बहादुर कार्की, जो बैंकिङ क्षेत्रमा कार्यरत थिए । आमा पार्वती कार्की, जो शिक्षण पेशामा आबद्ध थिइन् । आमा–बुवाकै मार्गदर्शनमा विप्लवले संस्कारी र अनुशासित बाल्यकाल बिताए । तीन सन्तानमध्येका माहिला छोरा विप्लवका एक दिदी र एक भाइ छन् । मध्यमवर्गीय परिवारमा जन्मिएका विप्लव सानैदेखि पढाइमा निकै अब्बल थिए । उनको प्रारम्भिक शिक्षा दाङकै महेन्द्र माध्यमिक विद्यालयबाट सुरु भयो । कक्षा ६ देखि १० सम्मको अध्ययन उनले नेपालगञ्जको धम्बोजीस्थित एन्जल हाईस्कुलबाट पूरा गरे । वि.सं. २०५९ सालमा उनले विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण गरेर आफ्नो प्रतिभाको पहिलो परिचय दिए । उच्च शिक्षाका लागि उनी काठमाडौँको प्रतिष्ठित सेन्ट जेभियर कलेज भर्ना भए । २०६१ सालमा विज्ञान संकायमा प्रथम श्रेणीमा प्लस टू उत्तीर्ण गरेपछि उनको चिकित्सक बन्ने सपनाले मूर्त रूप लिन थाल्यो ।

डा. कार्कीको शैक्षिक यात्रा मेहेनत र जेहेन्दारिताको एउटा उत्कृष्ट नमुना हो । उनले पूर्ण छात्रवृत्तिमा नेशनल मेडिकल कलेजबाट एमबीबीएस पूरा गरे । राज्यको लगानीमा चिकित्सक बनेपछि उनले आफ्नो सेवालाई ग्रामीण स्तरसम्म पु¥याउने संकल्प गरे । सोही बमोजिम दुई वर्ष छात्रवृत्ति करार अन्तर्गत बाँकेको खजुरा प्राथमिक स्वास्थ्य केन्द्रमा काम गरेर भुइँतहका मानिसहरूको पीडालाई नजिकबाट बुझे । चिकित्सा शास्त्रमा थप दख्खल राख्न उनले काठमाडौँ विश्वविद्यालय अन्तर्गतको धुलिखेल अस्पतालबाट एमडी गरे । यतिमा मात्र उनी रोकिएनन् । मुटुरोग जस्तो जटिल विषयमा विशेषज्ञता हासिल गर्ने लक्ष्यका साथ उनले मुलुककै प्रतिष्ठित संस्था बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट पूर्ण छात्रवृत्तिमै डिएम इन्टरभेन्सन कार्डियोलोजी पूरा गरे । यो मुटुरोग चिकित्साको उच्च तहको विशेषज्ञता हो ।

उच्च शिक्षा र अनुभवले खारिएपछि डा. विप्लव कार्कीको अगाडि सुविधायुक्त काठमाडौँ वा विदेश जाने विकल्पहरू नभएका होइनन् । तर, उनले सेवाको अभाव झेलिरहेको सुदूरपश्चिमलाई आफ्नो कर्मभूमि रोजे । विगत तीन वर्षदेखि उनी निरन्तर सुदूरपश्चिमका जनताको सेवामा समर्पित छन् । सुरुका दुई वर्ष उनले सेति प्रादेशिक अस्पतालमा छात्रवृत्ति करारमा रहेर सेवा दिए । सरकारी अस्पतालको सीमित स्रोतसाधनका बाबजुद उनले मुटुरोगीहरूको उपचारमा जुन सक्रियता देखाए, त्यसले धेरैको ज्यान जोगियो । हाल उनी कैलालीकै गेटा अस्पतालमा कार्यरत छन् । गेटा अस्पताललाई मुटुरोग उपचारको हब बनाउन र यहाँका नागरिकलाई विशेषज्ञ सेवा घरदैलोमै उपलब्ध गराउन उनी अहोरात्र खटिरहेका छन् ।

डा. कार्की आउनुपूर्व सुदूरपश्चिममा मुटुरोग विशेषज्ञको अभावमा धेरैले अकालमा ज्यान गुमाउनुपथ्र्यो । हृदयघात भएका बिरामीलाई अस्पताल पु¥याउँदा–पु¥याउँदै बाटोमै मृत्यु हुने घटना सामान्य थिए । तर, डा. कार्कीको उपस्थितिले यो अवस्थामा ठूलो परिवर्तन ल्याएको छ । उनले सेति प्रादेशिक अस्पतालमा रहँदा र हाल गेटा अस्पतालमा मुटुको इसिजी, इकोकार्डियोग्राफी मात्र होइन, जटिल प्रकारका मुटुका समस्याहरूको पहिचान र व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।

मुटुरोगको उपचारमा ‘इन्टरभेन्सनल कार्डियोलोजी’ अत्यन्तै महत्वपूर्ण मानिन्छ, जसका लागि ‘क्याथ ल्याब’ अनिवार्य हुन्छ । हाल गेटा अस्पतालमा यो सेवा उपलब्ध भइसकेको छैन । तर, प्रविधिको अभावमा बिरामीको ज्यान जान नदिन डा. कार्कीले एउटा महत्वपूर्ण पहल गरिरहेका छन् । सुदूरपश्चिमकै एक मात्र क्याथ ल्याब रहेको अत्तरिया अस्पतालको क्याथ ल्याबमार्फत उनले हाल इन्टरभेन्सनल कार्डियोलोजी सेवा प्रदान गरिरहेका छन् ।

मुटुको नसा बन्द भएका बिरामीहरूलाई अत्तरिया अस्पतालको प्रविधि प्रयोग गरेर उनले नयाँ जीवन दिइरहेका छन् । अत्तरिया अस्पतालमा रहेको सुदूरपश्चिमकै पहिलो क्याथ ल्याबको कमाण्ड पनि डा. कार्कीले गरिरहेका छन् । डा. कार्कीको अबको मुख्य लक्ष्य र प्रबल इच्छा भनेको गेटा अस्पतालमै चाँडै क्याथ ल्याब सेवा सुरु गर्नु हो । सरकारी स्तरको गेटा अस्पतालमा यो सेवा सुचारु भएपछि सुदूरपश्चिमका गरिब तथा विपन्न नागरिकले अझै सुलभ र सस्तो दरमा मुटुको जटिल उपचार पाउनेछन् । गेटा अस्पताललाई दक्षिण एसियाकै उत्कृष्ट स्वास्थ्य संस्था बनाउने सरकारी लक्ष्यमा एउटा बलियो इँटा थप्ने उनको योजना छ ।

डा. विप्लव कार्की केवल एक डाक्टर मात्र होइनन्, उनी एक मृदुभाषी र मिलनसार व्यक्तित्व पनि हुन् । बिरामीसँग विनम्र भएर कुरा गर्ने र उनीहरूको मनोबल बढाउने उनको शैलीले बिरामीको आधा रोग त कुराकानीबाटै निको हुने उनका सहकर्मीहरू बताउँछन् । आफ्नो सफलताको श्रेय उनी आफ्ना मातापिताको सही मार्गनिर्देशनलाई दिन्छन् । बैंकर बुवा र शिक्षक आमाको अनुशासनले नै उनलाई आज यो स्थानसम्म पु¥याएको हो ।

डा. विप्लव कार्कीजस्ता दक्ष र समर्पित विशेषज्ञ चिकित्सक सुदूरपश्चिमका लागि एउटा ठूलो सम्पत्ति हुन् । दाङमा जन्मिएर, काठमाडौँमा अध्ययन गरी सुदूरपश्चिमलाई कर्मथलो बनाउनुले उनको सेवाभावको गहिराई प्रस्ट पार्छ । ३८ वर्षको कलिलो उमेरमै उनले जुन उचाइ र जनविश्वास कमाएका छन्, त्यसले उनलाई सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रको एक चम्किलो तारा बनाएको छ । मुटुको धड्कन जोगाउने यी सारथीलाई सुदूरपश्चिमले सधैं सम्मान गरिरहनेछ ।



तपाईको प्रतिक्रिया

error: Content is protected !!