Techie IT
  • बिहीबार, चैत्र २६, २०८२ / Thursday, April 9, 2026
गृहपृष्ठप्रदेशशहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : ३ सय शैय्याको अस्पताल र चिकित्सा शिक्षा अध्ययनको तयारी गरीने

शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : ३ सय शैय्याको अस्पताल र चिकित्सा शिक्षा अध्ययनको तयारी गरीने

सिनेट सदस्यमा ४ जना मनोनित


धनगढी । कैलालीको गेटामा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अब औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। यस विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि नै चिकित्सा शिक्षाको पठनपाठन सुरु गरिने निर्णय गरिएको छ।

बुधबार बिश्वबिद्यालयकै सभाहलमा भएको बिश्वविद्यालय सभाको चौथो बैठकले चार वटा सङ्कायमा अध्ययन–अध्यापन सुरु गर्ने निर्णय गरेको हो। शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले विश्वविद्यालय सञ्चालनसँगै विद्यार्थी भर्ना कोटा पनि निर्धारण गरेको छ।

विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. सुनिलकुमार जोशीका अनुसार आगामी शैक्षिक सत्रदेखि कक्षाहरू औपचारिक रूपमा सञ्चालन गरिनेछन्। निर्णयअनुसार ५० जना एमबिबिएस, ३० जना बीएस्सी नर्सिङ, २० जना बीएमएलटी र २० जना अप्टोमेट्रीतर्फ विद्यार्थी भर्ना गरिनेछ। साथै ३०० शैयाको शिक्षण अस्पताल सञ्चालन गर्ने तयारी पनि अघि बढाइएको छ।

सरकारले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक वित्तीय स्रोत सुनिश्चित गरिसकेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गरेको छ। आर्थिक वर्ष २०८२/८३ को जेठ–असारका लागि चिकित्सकहरूको तलबबापत ५ करोड रुपैयाँ बजेट उपलब्ध गराइएको छ भने आगामी वर्षका लागि २ अर्ब ५३ करोड रुपैयाँ बजेट माग गर्दै अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरिएको छ।

आजको सिनेट बैठकले विश्वविद्यालय सभामा दुई महिला र दुई पुरुष सदस्य मनोनयन गरेको भए पनि उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन। यसअघि विश्वविद्यालयका तीन वटा बैठक काठमाडौंमा बसेका थिए भने पहिलो पटक गेटामै बैठक सम्पन्न भएको हो।



तपाईको प्रतिक्रिया

error: Content is protected !!