साढे तीन लाख मुटुरोगीको मृत्युको कारक घरायसी प्लास्टिक
काठमाडौं । एक नयाँ अध्ययनबाट घरायसी प्रयोगमा आउने प्लास्टिकमा पाइने फ्थालेट्स रसायनको संसर्ग हृदयाघातसम्बन्धी मृत्युको कारण बनेको हुन सक्ने तथ्य खुलेको छ । सन् २०१८ मा भएको तीन लाख ५६ हजारभन्दा बढी मानिसको हृदयाघात मृत्युबारे यस्तो तथ्य खुलेको हो ।
फ्थालेट्सको रसायनका कारण विश्वभरि हुने कुल मृत्युको लगभग ७५ प्रतिशत मध्यपूर्व, दक्षिण एसिया, पूर्वी एसिया र प्रशान्त क्षेत्रमा भएको देखिन्छ । न्युयोर्क विश्वविद्यालयको ग्रसमन मेडिकल स्कुलका शोधकर्ताले विश्वभरि ५५–६४ वर्ष उमेर समूहमा हुने हृदयाघातसम्बन्धी मृत्युको लगभग १३ प्रतिशत फ्थालेट्ससँग जोडिएको हुन सक्ने पत्ता लगाएका हुन् ।
यो अध्ययनको नेतृत्व न्युयोर्क विश्वविद्यालयको ग्रसमन मेडिकल स्कुलका सहायक अनुसन्धान वैज्ञानिक सारा हायमनले गरेकी थिइन् । उनले भनिन्, “हाम्रो निष्कर्षले फ्थालेट्स रसायन र विश्वभरि भएका मानिसको मृत्युको प्रमुख कारणबीचको सम्बन्ध उजागर गरेको छ । यी रसायन मानिसको स्वास्थ्यका लागि ठूलो जोखिम हुन् भन्ने प्रमाणलाई थप पुष्टि गरेको छ ।”
अनुसन्धान टिमले खाद्यपदार्थको कन्टेनर र चिकित्सा उपकरणलाई लचिलो बनाउन प्रयोग हुने प्लास्टिक उत्पादन बनाउने एक प्रकारको फ्थालेटको अध्ययन गरेको हो । यसअघिको अनुसन्धानले यस्तो रसायनको संसर्गले हृदयका धमनीमा सक्रिय प्रतिरक्षा प्रतिक्रिया सुरु गर्न सक्ने जसका कारण हृदयाघात वा स्ट्रोकको जोखिम बढाउने देखाएको थियो ।
यो अध्ययनले सन् २०१८ मा यस्तो रसायनको संसर्गका कारण विश्वभर तीन लाख ५६ हजार दुई सय ३८ जनाको मृत्यु भएको बताएको छ । यो ५५–६४ वर्ष उमेर समूहमा हुने हृदयरोगको मृत्यु संख्याको लगभग १३.५ प्रतिशत हो । यो नतिजा यसअघिको अनुसन्धानसँग मेल खाने बताइएको छ । यसअघि फ्थालेट्सका कारण अमेरिकामा प्रतिवर्ष ५० हजारभन्दा बढी हृदयसम्बन्धी समस्या भएका मानिसको अकाल मृत्यु भएको बताइएको थियो ।
उक्त अध्ययनले प्लास्टिक उद्योग धेरै भएका देशमा प्लास्टिकजन्य रसायनसँग सम्बन्धित मृत्यु सबैभन्दा बढी हुने देखाएको छ । यसमा धेरै प्लास्टिक उद्योग र उपभोग्य सामानमा रसायनको धेरै प्रयोग हुने भारतमा फ्थालेट्सको संसर्ग बढी हुने देखिएको छ ।
सो वर्ष भारतमा फ्थालेट्स रसायनसँग सम्बन्धित मृत्यु एक लाख तीन हजार ५८७ भएको पाइएको छ । यो संख्या सबैभन्दा बढी भएकाले भारतलाई विश्वभरिको सबैभन्दा प्रभावित देश भएको अध्ययनले देखाएको छ । यसले प्लास्टिक उद्योगको वृद्धिसँगै स्वास्थ्य जोखिम पनि बढ्दै गएकाले यसको नियन्त्रणका निम्ति सख्त नीति आवश्यक छ भन्ने देखाएको छ ।
फ्थालेट्स भनेको के हो ?
फ्थालेट्स एक प्रकारको रसायन हो, जसले प्लास्टिकलाई लचिलो बनाउँछ । लोसन, स्याम्पु, परफ्युमजस्ता उत्पादनमा सुगन्ध लामो समयसम्म टिकाउन प्रयोग गरिन्छ । यी रसायन खाद्य भण्डारण गर्ने कन्टेनर, बच्चाको खेलौना, प्लास्टिक प्याकेजिङ र अन्य उपभोग्य सामानमा पनि पाइन्छन् । यसको प्रयोग व्यापक भएका कारण केही वैज्ञानिकले यसलाई सर्वव्यापी रसायन भन्ने गरेका छन् ।
फ्थालेट्सका स्वास्थ्य जोखिम
वैज्ञानिकहरूले फ्थालेट्सलाई लिएर चिन्ता व्यक्त गरेका छन् । उनीहरूका अनुसार यसले मानिसको स्वास्थ्यमा विभिन्न जोखिमहरू बढाउन सक्छ ।
विभिन्न अध्ययनले यसलाई हृदयाघात र स्ट्रोकसँग जोडेका छन् । मोटोपना, मधुमेह र अटेन्सन डेफिसिट हाइपरएक्टिभिटी डिस्अर्डरजस्ता समस्याका निम्ति पनि यो रसायनलाई जिम्मेवार मानिएको छ । फ्थालेट्सले शरीरको हर्मोनल प्रणालीलाई बिगार्न सक्ने भएकाले यसलाई एन्डोक्राइन डिसरप्टर पनि भनिन्छ । यसले पुरुष र महिला दुवैमा प्रजनन क्षमतामा नकारात्मक प्रभाव पार्छ । यसबाहेक यसले गर्भावस्थाको जटिलता र बच्चाको विकासमा समस्या ल्याउने बताइएको छ ।
“हामीलाई अहिलेसम्म थाहा भएसम्म प्लास्टिकका सामग्रीमा प्रयोग हुने धेरै रसायनले इन्फ्लामेसन बढाउँछन् । पाचन र हृदय प्रणालीजस्ता आधारभूत जैविक कार्यलाई नियन्त्रण गर्छन् र हाम्रा हर्मोनलाई असन्तुलित बनाउँछन् । तर यो अध्ययन र यसको आधारभूत अनुसन्धान एक्लै आएको होइन ।
प्रयोगशाला, प्राणी र मानिसहरूमा गरिएका अरू धेरै अध्ययनले पनि यी रसायनले हृदयरोगलाई बढाउने संकेत गरेका छन्,” प्रमुख अनुसन्धानकर्ता तथा न्युयोर्क विश्वविद्यालयको सेन्टर फर द इन्भेस्टिगेसन अफ एन्भायरनमेन्टल हजाड्र्सका निर्देशक लियोनार्डो ट्रासान्डेले भने ।
ताजा अपडेट
- स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
- चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
- सेती प्रादेशिक अस्पतालमा निः शुल्क जलन उपचार शिविर हुदै
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- कुष्ठरोग प्रभावितसँग सम्बन्धित नीति तथा कानुन पुनरावलोकन गर्न सुझाव
- स्वास्थ्य मन्त्रीको सुदूरपश्चिम भ्रमण : शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन
- सुदूरपश्चिमका बालबालिकामा पोषणको ‘स्मार्ट सर्वेक्षण’
धेरैले पढेको
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- डडेल्धुरा अस्पताल : आकस्मिक बाहेक सबै सेवा बन्द
- बुद्ध एयर जहाज दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते,छ जना सामान्य उपचारपछि ’डिस्चार्ज’
- गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : उपकुलपति र रजिष्ट्रार नियुक्त
- मन्त्रिपरीषद बैठक : ११ औं तहका ४ चिकित्सकको जिम्मेवारी हेरफेर


तपाईको प्रतिक्रिया