दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
काठमाडौं । नेपालका दुर्गम भूगोलमा जन्मिएर, त्यही कठिनाइभित्र भविष्य देख्ने व्यक्तिमा पर्छन्, डा. रवीन्द्र भट्टराई ।
जुम्लाको विकट गाउँ लुम्सेरामा जन्मिएर मुगु, हुम्ला, हुँदै अहिले सुदूरपश्चिमको दार्चुला अस्पतालको नेतृत्व सम्हाल्न पुगेका उनी केवल चिकित्सक मात्र होइनन्, दुर्गमका सपनालाई सम्भावनामा बदल्ने नाम समेत बनेका छन् ।
डा. रवीन्द्र भन्छन्, ‘दुर्गममा जन्मेको, हुर्केको भएर पनि होला यतैको परिवेश बढी बुझेको छु । दुर्गममा सेवा दिन पाउँदा निकै खुसी छु ।’
डा. रवीन्द्र भट्टराईको जन्म जुम्लाको तिला गाउँपालिका–३, लुम्सेरा गाउँमा भयो ।
पिता ज्वरिलाल भट्टराई र आमा सत्यदेवी भट्टराईका पाँच सन्तानमध्ये उनी तेस्रो सन्तान हुन् ।
गरिबी, दुर्गमता र द्वन्द्वले भरिएको त्यो गाउँमा हुर्कँदै गर्दा उनले जीवनको कठिन यथार्थ नजिकबाट बुझे । बाल्यकालमै उनले आफ्ना बुबालाई औषधि बेच्दै गरेको देखेका थिए ।
वि.स. २०५१–०५२ सालतिर बुबाले स्वास्थ्य सहायकको तालिम लिएर औषधि पसल चलाउँदा, उनले पहिलो पटक ‘चिकित्सक बन्ने’ सपना देखेका थिए । योसँगै डा. रवीन्द्रको गालामा सानै उमेरमा चोट लागेको थियो । जसको उपचारका लागि उनले काठमाडौंसहित भारतमा गएर पनि ३/४ वटा अप्रेशन गर्नु पर्यो । सो समयमा आफ्नै उपचारका लागि भोग्नु परेको दुःख सम्झेर उनलाई भविष्यमा डाक्टर नै बन्नुपर्छ भन्ने सोच आएको थियो ।
उनको बाल्यकाल त्यतिमा मात्रै सीमित रहेन । माओवादी द्वन्द्वको समयमा तीनपटकसम्म घरमा औषधि लुटिएको सम्झना अझै ताजै छ । एकपटक त बम हानेर घर नै उडाइएको उनी बताउँछन् ।

यी सबै घटना, परिघटनाले रवीन्द्रलाई विचलित नभएर अझ बढी दृढ बनायो । फलस्वरुप अहिले नेपाली स्वास्थ्य जगतले जुम्लाको लुम्सेराका रवीन्द्रलाई मेडिकल अधिकृतका रुपमा पाएको छ ।
डा. रवीन्द्रको प्रारम्भिक पढाइ जुम्लाकै सरस्वती माध्यामिक विद्यालय, कुडारीबाट सुरु भयो । एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भएर उनले नासा इन्टरनेशनल कलेजबाट विज्ञान संकाय अध्ययन गरे ।
पछि सरकारी छात्रवृत्तिमा मणिपाल मेडिकल कलेजबाट एमबीबीएस पढ्न पाए । त्यो उनी मात्र होइन, सम्पूर्ण जुम्ला क्षेत्रकै लागि गर्वको विषय बन्यो । एमबिबिएस सकेपछि उनले छात्रवृत्तिअनुसार मुगुमा सेवा गरे ।
त्यसपछि पोखरामा पनि केही समय काम गरे । यसबीचमा उनले विभिन्न सरकारी सेवाको तयारी थाले । गण्डकी प्रदेश लोकसेवामा वैकल्पिकमा परेका उनले नेपाल प्रहरीको प्राविधिक अधिकृत परीक्षासमेत पास गरे । केही समय नेपाल प्रहरीमा काम गरेका डा. रवीन्द्र कर्णाली प्रदेश लोकसेवाबाट पनि छनोट भए । पछि, संघीय लोकसेवामा पनि नाम निस्कियो ।

अन्ततः उनले संघीय सरकारको मेडिकल अधिकृत पद स्वीकारे । डा. रवीन्द्रका दाजु र भाइ पनि सरकारी सेवामा छन् । एक परिवारका तीन जना राज्यसेवामा हुनु सानो कुरा होइन । यो उनको पारिवारिक चेतना र अनुशासनले प्राप्त भएको उपलब्धी पनि हो ।
डा. रवीन्द्र अहिले दार्चुला जिल्ला अस्पतालको प्रमुख (मेडिकल अधिकृत) को रूपमा कार्यरत छन् । दार्चुला अस्पतालको कमाण्ड सम्हालेका उनीसँग धेरै योजनाहरू छन् । स्वास्थ्य पहुँच सुधार, सेवा सरल बनाउने, जनशक्तिको व्यवस्थापन र जनताको विश्वास जित्ने गरी काम गर्ने उनी बताउँछन् ।
‘सरकारी अस्पतालप्रतिको विस्वास बढाउने गरी काम गर्ने योजना बनाएको छु,’ उनले भने, ‘विशेषज्ञ सेवा उपलब्ध गराउनेतर्फ पनि मेरो विशेष जोड रहन्छ ।’
दार्चुला जस्तो दुर्गम ठाउँमा सबै प्रकारका स्वास्थ्य सेवा प्रदान गर्न सम्भव छैन । जनशक्ति र उपकरण अभावका कारण सबै सेवा सम्भव नभएपनि बाल सेवा, हार्डजोर्नी लगायत केही विशेषज्ञ सेवा दिने प्रण डा. रवीन्द्रको छ । दार्चुला अस्पतालमा एमडीजीपी डाक्टरसहितको सेवा सुरु गरिसकेको उनले बताए ।
दार्चुला अस्पतालमा कम खर्चमा बढी भन्दा बढी गुणस्तरिय सेवा प्रदान गर्नका लागि आफ्नो कार्यकाल समर्पित गर्ने डा. रवीन्द्र भट्टराईको भनाइ छ ।
ताजा अपडेट
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
- गेटा अस्पतालमा चरम लापरवाहीः ईमरजेन्सीमै भान्सा, रिकभरी रूममै चिकित्सकको बास !
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान
- घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
- ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ : बालबालिकामा कुपोषण बढ्यो
- एमबीबीएस तथा बीडीएस इन्टर्नको भत्ता पुनरावलोकन गर्न सिफारिस
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया