Techie IT
  • आईतबार, चैत्र २२, २०८२ / Monday, April 6, 2026
गृहपृष्ठप्रदेशगेटा अस्पतालमा थप विशेषज्ञ सेवा विस्तार, आईसीयू सेवा सञ्चालनमा

गेटा अस्पतालमा थप विशेषज्ञ सेवा विस्तार, आईसीयू सेवा सञ्चालनमा


धनगढी । शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पतालका रूपमा सञ्चालित गेटा अस्पतालमा थप विशेषज्ञ सेवा विस्तार गरिएको छ ।

 अस्पतालले साेमबार बाट आईसीयू (सघन उपचार कक्ष) सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको जनाएको छ । अस्पतालका निर्देशक सह–प्राध्यापक डा. प्रमोद कुमार यादवका अनुसार बिरामीलाई गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आईसीयू सेवा सुरु गरिएको हो ।

यो सेवा विस्तारसँगै गम्भीर अवस्थाका बिरामीलाई अब अन्यत्र रिफर गर्नु पर्ने बाध्यता घट्ने उनले बताए । आईसीयू सञ्चालनसँगै सुदूरपश्चिम प्रदेशका बिरामीलाई राहत पुग्ने विश्वास गरिएको छ ।

यसअघि नै अस्पतालमा मोडुलर शल्यक्रिया कक्षमार्फत आधुनिक शल्यक्रिया सेवा सञ्चालनमा आइसकेको छ ।

  त्यस्तै, स्तन क्यान्सर पहिचानका लागि आवश्यक मेमोग्राफी सेवा तथा हाडजोर्नीसम्बन्धी समस्याको उपचारका लागि आर्थोस्कोपी सेवा समेत सुरु भइसकेको अस्पताल प्रशासनले जनाएको छ । यी सेवाले प्रदेशमै विशेषज्ञ उपचारको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको अस्पतालको दाबी छ ।

अस्पतालका अनुसार थप विशेषज्ञ सेवा विस्तारका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण तथा अत्याधुनिक स्वास्थ्य उपकरण जडानको काम सम्पन्न भइसकेको छ । तर दक्ष जनशक्तिको व्यवस्थापनमा चुनौती रहेका कारण केही सेवा पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।

 सम्बन्धित निकायसँग समन्वय गरी विशेषज्ञ चिकित्सक तथा प्राविधिक जनशक्ति व्यवस्थापन प्रक्रिया अघि बढाइएको अस्पतालले जनाएको छ ।
गेटा अस्पताललाई प्रदेशकै प्रमुख शिक्षण अस्पतालका रूपमा विकास गर्ने लक्ष्यसहित सेवा विस्तारलाई तीव्रता दिइएको छ । सेवा विस्तारसँगै बिरामीको चाप समेत बढ्ने अपेक्षा गरिएको छ ।



तपाईको प्रतिक्रिया

error: Content is protected !!