Techie IT
  • बिहीबार, भदौ २६, २०८२ / Friday, September 12, 2025
गृहपृष्ठप्रदेशकैलालीका ३ पालिकामा संक्रामक रोगको समुदायमा आधारित निगरानी प्रणाली लागू गरिदै

कैलालीका ३ पालिकामा संक्रामक रोगको समुदायमा आधारित निगरानी प्रणाली लागू गरिदै


धनगढी।कैलाली जिल्लाका तीन पालिकामा संक्रामक रोगहरुको साथै अनपेक्षित जनस्वास्थ्य घटनाको सुक्ष्म निगरानी प्रणाली लागू गरिने भएको छ ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र युनिसेफसँगको साझेदारीमा पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर मार्फत कैलालीको धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकाभित्र समुदायमा घट्ने अनपेक्षित जनस्वास्थ्य घटना र सङ्क्रामक रोगहरुको सुक्ष्म निगरानी गरिने भएको हो ।

कैलाली जिल्लामा सङ्क्रामक रोगहरुको सुक्ष्म समुदायमा आधारित रोग निगरानी प्रणाली लागू गर्नका लागि स्वास्थ्य कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख वलट नारायण चापागाई र पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरका कार्यक्रम अधिकृत तथा कैलाली जिल्ला कार्यक्रम संयोजक उपेन्द्र कार्की वीच सहकार्य तथा समन्वयका लागि समझदारी पत्रमा सहमति भएको छ ।

स्वास्थ्य कार्यालय कैलालीका सुचना अधिकारी तथा ईपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखा प्रमुख मीनवहादुर धामीले नेपाल सरकारले तोकेको महामारीजन्य संक्रामक रोगको लक्षण देखिएमा तत्काल रिपोर्ट गर्ने र त्यसको समाधान गरिहाल्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन हुन लागेको बताए ।

पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरका कार्यक्रम अधिकृत तथा कैलाली जिल्ला कार्यक्रम संयोजक उपेन्द्र कार्कीले कार्यक्रम सञ्चालनको लागि आवश्यक तथ्यांक उपलब्ध गराउनुका साथै अन्य सहयोग गर्न स्वास्थ्य कार्यालय कैलालीलाई अनुरोध गरे । उनले पहिलो चरणमा यो कार्यक्रम लागु हुने कैलालीका तीन पालिकाका स्वास्थ्यकर्मी, आमा समूह, टोल समूह, विद्यालय नर्स, शिक्षक, जनप्रतिनिधि र सुरक्षाकर्मी वीच अभिमुखिकरण गरिने बताए ।

कैलालीका तीन पालिकामा यस कार्यक्रम कार्यान्वयनको लागि प्रत्येक वडामा २५ जनाको इपिडेमिक इन्टिलिजेन्स भोलेन्टियर टिम गठन हुने उनको भनाई छ । उनले महिला स्वास्थ्य स्वयंमसेविका, शिक्षक, नीजि फार्मेसी सञ्चालक, जनप्रतिनिधिसहितको टिमलाई आवश्यक तालिम प्रदान गरी रोग निरीक्षणमा लगाइने जानकारी दिए । कार्यक्रम कैलालीमा २०८३ पुस मसान्तसम्म सञ्चालन हुनेछ ।

जिल्लामा कुनैपनि प्रकारका संक्रामक रोगहरु देखा परेपछि नजिकको स्वास्स्थ्य चौकी वा हेलो स्वास्थ्यको १११५ मा सूचना प्रवाह गर्न सबै नागरिकलाई सक्षम बनाउनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको उनको भनाई छ ।

रोग नियन्त्रण महाशाखाले विभिन्न सूचक तयार गरी पहिलो चरणमा देशभरका २२ जिल्लाका ४४ वटा स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गर्न लागेको छ । ती ४४ स्थानीय तहका ६ सय ६२ वटा वडामा कार्यक्रम सञ्चालन हुने पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरका कार्यक्रम अधिकृत कार्कीले जनाएका छन ।



तपाईको प्रतिक्रिया

error: Content is protected !!