Techie IT
  • शनिबार, पुस १२, २०८२ / Saturday, December 27, 2025
गृहपृष्ठऔषधि तथा उपकरण‘नेपालमा जलन उपचार अझै चुनौतीपूर्ण, दक्ष जनशक्ति र उपकरणको अभाव’

‘नेपालमा जलन उपचार अझै चुनौतीपूर्ण, दक्ष जनशक्ति र उपकरणको अभाव’


काठमाडौँ। जलन क्षेत्रका जानकारहरूले नेपालमा जलन उपचारको अवस्था अझै सन्तोषजनक हुन नसकेको बताएका छन् । उनीहरूले नेपालमा जलन उपचार अझै चुनौतीपूर्ण रहेको र दक्ष जनशक्ति एवं उपकरणको अभाव रहेको बताएका छन् ।

तेस्रो राष्ट्रिय तथा दोस्रो विश्व जलन सप्ताहको अवसरमा नेपाल जलन फाउण्डेशनले आज आयोजना गरेको ‘जलन पीडितहरूको सामाजिक विभेद र समन्वय’ अन्तरक्रियात्मक कार्यक्रमका वक्ताहरूले जलन उपचार महँगो, जटिल र जनशक्ति अभावका कारण चुनौतीपूर्ण तथ्य प्रस्तुत गरे ।

प्लास्टिक सर्जन प्रा डा शङ्करमान राईले नेपालमा पर्याप्त मात्रामा प्लास्टिक सर्जन उत्पादन हुन नसकेको बताए । उनका अनुसार सरकारले सबै प्रदेशमा जलन उपचार सेवा उपलब्ध गराउने नीति त बनाएको छ, तर आवश्यक जनशक्ति उत्पादनमा कमजोरी देखिएको छ । “यस क्षेत्रमा जनशक्ति विकासमा जोड दिनुपर्छ”, उनले भने ।

त्यसैगरी, प्लास्टिक सर्जन सह–प्रा डा पशुपतिबाबु पोखरेलले जलन उपचारमा फलोअप, अस्पताल बसाइ र औषधि खर्च अत्यधिक हुने भएकाले निम्नआय भएका बरामीका लागि उपचार आर्थिक रूपमा निकै महँगो हुने बताए । उनका अनुसार सरकारी अस्पतालमा चिकित्सकका लागि दरबन्दी सीमित छ । उनलेृ भने, “४० प्रतिशतभन्दा बढी बिरामीलाई बचाउन कठिन हुन्छ । पर्याप्त दक्ष जनशक्ति र उपकरण नहुँदा उपचार अझ जटिल बनेको छ ।”

नेपाल जलन फाउण्डेशनका संस्थापक अध्यक्ष तथा प्लास्टिक सर्जन प्रा डा पियुष दाहालले न्यून आय भएको देशमा जलन समस्या गम्भीर रूपमा देखिएको बताए । उनका अनुसार नेपालमा हरेक वर्ष करिब एक हजार ५०० देखि दुई हजारसम्म व्यक्तिले पोल्ने वा डढ्ने कारण ज्यान गुमाउँछन् । तीमध्ये महिला र बालबालिकाको सङ्ख्या बढी छ ।

दाहालले जलन रोकथाम र उपचारका लागि प्रभावकारी नीति, सूचना प्रवाह र सचेतना कार्यक्रम आवश्यक रहेको उल्लेख गरे । जलन पीडित जेनी खड्काले पीडितले सामाजिक विभेद भोग्नुपरेको र अवसरको खाँचो रहेको गुनासो गरीन् ।



तपाईको प्रतिक्रिया

error: Content is protected !!