जेनजी आन्दोलनका घाइते भन्छन् : घाउले भन्दा बढी चहर्याउँछ चाडबाडको सम्झनाले
काठमाडौँ । गत भदौ २३ गते जेनजी प्रदर्शनका दिन गीता साह कोटेश्वरस्थित घडी पसलमै थिए । माइतीघरबाट सुरु भएको आन्दोलन कोटेश्वरसम्म आउला र त्यो आन्दोलनको घानमा आफू परिएला भन्ने उनलाई के थाहा ? तर भइदियो त्यस्तै ।
सप्तरीकी ४८ वर्षीया साहको पसल कोटेश्वर प्रहरी चौकी छेउमै छ । एउटा ठूलो भिड कोटेश्वरतिर आइसकेपछि उनी हेर्नका लागि बाहिर निस्किएका थिए। हेर्दाहेर्दै प्रदर्शन चर्किंदै गयो ।
कताकताबाट आएको पेट्रोलसहितको आगो उनको शरीरमा सल्कियो । उनलाई उद्धार गरेर कान्तिपुर अस्पताल पुर्याइयो । त्यहाँ पनि आन्दोलनकारीको भिड भएकाले सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) लगियो ।
अहिले पनि उनलाई केएमसीको प्लाष्टिक सर्जरी पोष्ट अपरेटिभ वार्डको बेड नं २४४ मा उपचाररत छन् । उनको शरीरको १८ प्रतिशत भाग जलेको छ । कम्मरमुनि र दायाँ हातमा बढी असर छ ।
अस्पतालको शय्यामा सुतिरहनुपर्दा उनमा पीडा थपिएको छ । घाउ चहर्याउँदा उनी घरीघरी चिच्याउछन् ।
सबैभन्दा नरमाइलो त उहाँलाई दशैँमा भएको थियो । अस्पतालको बेडमै रहँदा दशैँको रौनक आयो, गयो । तिहारअघि त डिस्चार्ज हुन्छु कि भन्ने थियो । तर उनलाई चिकित्सकले निगरानीमै राखेको छ ।
“बाहिर तिहारको झिलिमिली, रङ्गीचङ्गी छ । सबैमा उत्साह र रौनक छ, मैले भने दशैँतिहार नै अस्पतालको शय्यामा बिताउन बाध्य भएँ,” उनी भन्छन् ।
यस्तो बेला उनलाई विगतका दशैँ र तिहराको झझल्को नआउने होइन । हरेक वर्ष उहाँ तिहारमा घर–पसल सजाउथे । तिहारले बेग्लै खुसीयाली दिन्थ्यो । यसपालि भने उनको घर सजिएन । “मनमा उत्साह नै नभएपछि घर सजाउनुको के अर्थ भयो र,” उनीनिराश हुँदै भन्छन्, “डेढ महिना पुग्न लागिसक्यो । अस्तपालको बेडमै बस्दाबस्दा म थाकिसकेकी छु ।”
उनलाई अस्पतालमा भएपछि पसल छोरा राहुलले रेखदेख गर्दै आएका छन् । “छोरा विदेश जाने तयारीमा थियो । म नै अस्पताल भर्ना भएपछि अब उसको के हुने हो टुङ्गो छैन,” उनले सुनाए ।
केएमसीकै हाई केयर युनिटमा छन्, काभ्रेका २७ वर्षीय कमल घिमिरे । उनका आमाबुबा भक्तपुरको राधेराधेमा गाई फार्म चलाउँदै हुनुहुन्छ छन् । घिमिरेले पनि आमाबुबालाई सघाउँदै आएका थिए ।
दूध पुर्याउन सधैँझैँ भदौ २३ गते पनि उनी बानेश्वर आएका थिए । घर फर्किने बेलासम्म काठमाडौँको अवस्था असामान्य बनिसकेको थियो । बानेश्वर क्षेत्र तनावग्रस्त थियो । पानीको फोहरा, अश्रुग्यास मात्र होइन गोलीसमेत चल्न थालिसकेको थियो । उनी यो माहोल हेर्न बानेश्वरमा एकछिन के रोकिएका थिए, गोली उनको छातीमा लाग्यो ।
काका प्राणनाथ घिमिरेका अनुसार गोलीले फोक्सोमा ठूलो असर पुर्याएको छ । केही समय त कमलको बोली नै ननिस्किने भएको थियो अहिले भने बोल्न सक्छ । “सरकारले स्वास्थ्य उपचार निःशुल्क गरे पनि औषधी र खानाको पैसा तिर्नुपरेको र त्यो महँगो भएकाले हामीलाई निकै गाह्रो परिसक्यो,” कुरुवा बस्दै आएका काका प्राणनाथले भने, “छातीको दायाँ भागमा ठूलो घाउ छ । डाक्टरले पुरिन निकै समय लाग्छ भनेका छन् ।”
गोली लागेपछिका कठिन समय र शारीरिक पीडा त छँदै छ, तर यहीबीच आइपरेका महत्त्वपूर्ण चाड कमलले खुब ‘मिस’ गरेका छन् । “अस्ति दशैँमा त मैले नै जसोतसो टीका लगाइदिएँ,” काका प्राणनाथ भन्छन्, “यो तिहार भने उसको खल्लो होलाजस्तो छ । अस्पतालमा भाइटीका गर्न सजिलो छैन ।” कमलका एक जना बहिनी छन् ।
पटक–पटक शल्यक्रिया गर्नुपर्ने भएकाले कहिले निको हुने टुङ्गो नभएको दिक्दारी कमलका काकाले पोखे । “यत्रा चाडबाड आए, म पनि अस्पतालमै बस्नुपर्ने बाध्यता आइलाग्यो । तिहारमै पनि अस्पतालकै बास भयो,” उनले भने, “डाक्टरले छोरो निको भयो, अब घर जानु भनेका दिन कति खुसी लाग्ने थियो ।” चाडबाडका बीच अस्पतालको बेडमै रहनुपर्दा घाइतेलाई घरपरिवार आफन्तको यादले बढी सताएको छ ।
जेनजी आन्दोलनका घाइतेहरू काठमाडौँका अरु अस्पतालमा पनि छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो अपडेटअनुसार राष्ट्रिय ट्रमा सेन्टरमा ४ जना, त्रिवि शिक्षण अस्पतालमा ३ जना, बि एन्ड बि अस्पतालमा १ जना र नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा १ जना गरी देशभर ११ जना घाइते उपचाररतछन् । आन्दोनलमा घाइतेभइ उपचारका लागि २ हजार ५सय ७१ अस्पताल पुगेका थिए ।
ताजा अपडेट
- स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
- चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
- सेती प्रादेशिक अस्पतालमा निः शुल्क जलन उपचार शिविर हुदै
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- कुष्ठरोग प्रभावितसँग सम्बन्धित नीति तथा कानुन पुनरावलोकन गर्न सुझाव
- स्वास्थ्य मन्त्रीको सुदूरपश्चिम भ्रमण : शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन
- सुदूरपश्चिमका बालबालिकामा पोषणको ‘स्मार्ट सर्वेक्षण’
धेरैले पढेको
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- डडेल्धुरा अस्पताल : आकस्मिक बाहेक सबै सेवा बन्द
- बुद्ध एयर जहाज दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते,छ जना सामान्य उपचारपछि ’डिस्चार्ज’
- गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : उपकुलपति र रजिष्ट्रार नियुक्त
- मन्त्रिपरीषद बैठक : ११ औं तहका ४ चिकित्सकको जिम्मेवारी हेरफेर


तपाईको प्रतिक्रिया