‘जडीबुटी कम्पनी चाँडै बौरिने छ’

काठमाडौँ। ‘सञ्चो’ भनेर धेरै नेपालीलाई थाहा छ तर उत्पादक संस्थाबारे कतिपयलाई थाहा नहुन सक्छ । कम्पनिले अन्य विविध उत्पादनहरू गरिरहे पनि ‘सञ्चो’ एक स्थापित ‘ब्रान्ड’ नै भइसकेको थियो । जसले उत्पादक कम्पनीबारे पनि आमनागरिकमा एउटा छाप छोड्दै थियो ।
यसका पछाडि वर्षौदेखि संस्था र सरकारका लगानी तथा मेहेनत छ । विडम्बना, त्यही संस्था गत शुक्रबारदेखि भग्नावशेषमा परिणत भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह पक्षधर प्रदर्शनकारीले आगजनी गर्दा कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड खण्डहर बनेको हो ।
भवन खण्डहर छ । त्यहाँ रहेका उपकरण र अन्य सामग्री जलेर खरानी भएका छन् । ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’(जिएमपी) सुविधासहितका दुई वटा भवनमा क्षति पुग्नाका साथै औषधि उत्पादनमा प्रयोग हुने कच्चापदार्थ, उपकरण, फर्निचर, कागजातल, प्याकेजिङलगायत सामग्री जलेर खरानी भएका छन् । प्रारम्भिक विश्लेषणअनुसार आगजनीबाट रु २८ करोड बराबरको क्षति हुन पुगेको छ ।
हाल त्यही खण्डहर भवनमा रहेका भग्नावशेष र खरानी पन्छाउने काम जारी छ । त्यो दिन सम्झिँदा कम्पनीकी महाप्रबन्धक सङ्गीता यादवको मन भक्कानिन्छ । जनमानसमा ‘सञ्चो’उत्पादन गर्ने संस्थाका रूपमा चिनिएको यस कम्पनीलाई आफ्नै आँखा अगाडि खरानी भएको देख्दा उनको मन रोएको छ । महाप्रबन्धक यादव भन्नुहुन्छ, “मैले आफैँले त्यो नयाँ मेसिन राखेको थिएँ । अब यो लेभलसम्म आयो भनेर कति खुसी थियौँ ,तर आँखा अगाडि नै त्यो सबै संरचना जलेको देख्दा आँखाबाट आँसु नै आयो । मन थाम्न सकिँन । यस्तो हुन पुग्यो ।”
जिएमपीअनुसार सञ्चालन गरिएको भवनलगायत स्वचालित उपकरणहरू जलेर ध्वस्त हुँदा उत्पादन ठप्प छ । यद्यपि चाँडै नै कम्पनी पुरानै अवस्थामा फर्किने आशामा रहेको महाप्रबन्धक यादवको विश्वास छ । उनले भने, “सबै जलेर खरानीमा परिणत भएको छ । कम्पनी फेरि सुरुआत गर्नु त पर्छ तर सुरुआती चरणमा म्यानुअल(हातबाट) फिलिङमै जानुपर्ने भयो । कम्पनी विविध चुनौतीका बीच एक लेभलमा अगाडि बढिरहेको थियो, शाखा पनि विस्तार गरिसकेका थियौँ । हामी सबै कर्मचारी उत्साहित थियौँ तर हुलदङ्गाको चपेटामा परेर सबै गुम्यो । अब सरकारले यसलाई गम्भीर भएर सोचिदिनुपर्छ ।”
पहिलाकै अवस्थामा कम्पनीलाई ल्याउन कठिन भए पनि प्रयास र समन्वय भइरहेको छ । कम्पनीले देशभरिमा रहेका शाखा कार्यालयबाट उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । “यो संस्था अप्रिय दुर्घटनाको सिकार हुन पुग्यो । सातवटै प्रदेशमा शाखा राख्ने भनेर विभिन्न ठाउँमा काम भइसकेको छ । लुम्बिनी प्रदेशमा मात्र जान बाँकी थियो । जाजरकोटमा पनि हालैमात्र शाखा विस्तार गरेका थियौँ । गोरखामा पनि सुरु गर्ने तयारी थियो । अब जिल्लामा रहेका शाखाबाट उत्पादन गर्ने कोशिस गर्छौं तर जति माग थियो त्यसलाई भने धान्न सकिँदैन”, महाप्रबन्धक यादवले भने ।
उनका अनुसार अस्थायी संरचना तयार गरेर भएपनि उत्पादन सुरु गर्ने र यसका लागि सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्छ । यादवले भन्नुभयो, “छानविन आफ्नो ठाउँमा छ । आफ्नो तर्फबाट सम्बन्धित निकायसँग पहल गरिरहेका छौँ । व्यवसाय गर्ने संस्था हो । आफैँ कमाउने आफैँ खाने संस्था हो । अर्थतन्त्रमा यसको पनि योगदान हुन्छ । त्यसैले उत्पादन रोकिनुहुन्न । आशा छ हामी चाँडै बौरिने छौँ । सञ्चोको उत्पादन पुनः हुनुपर्छ भनेर लागिरहेका छौँ, यसमा सबैबाट सहयोग पाउने छौँ ।”
विसं २०३८ मा स्थापित सरकारको स्वामित्व भएको यो कम्पनीले विभिन्न औषधियुक्त एवं सुगन्धित जडीबुटीहरूको सङ्कलन र प्रशोधन गर्दै आएको छ । कम्पनीले सञ्चो, भिक्स, हिमालय मसाज तेल, सञ्चो जटा केश तेललगायत उत्पादन गर्दै आएको छ ।
–रासस
ताजा अपडेट
- ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक’ स्वीकृत
- डडेल्धुरा अस्पतालले पायो पहिलो पटक महिला नेतृत्व, डा देवकोटाले जिम्मेवारी सम्हालिन्
- सर्वोच्चद्वारा आयोडिनयुक्त नुन ऐन २०५५ कार्यान्वयन नगर्न आदेश
- धनगढीको सि पि अस्पतालले माग्यो बिशेषज्ञ चिकित्सक
- निजि तथा सामुदायिक अस्पताललाई कानुन अनुसार निःशुल्क उपचारको ब्यबस्था गर्न मन्त्रालयको निर्देशन
- अस्पतालमै थन्कियो सरकारी लगानी, नि:शुल्क पुग्छन् करोडौंका उपकरण
- बालबालिकालाई पिसाब संक्रमण : कसरी जोगिने ?
- औषधीय गुण भएका जडीबुटी निकासी बढ्दै
धेरैले पढेको
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा थप सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार
- गेटा अस्पतालले माग्यो ७ बिशेषज्ञ चिकित्सक सहित १३ चिकित्सक
- सुदूरपश्चिम प्रदेशमा स्थानिय सेवा ऐन कार्यान्वयनमा प्रजातान्त्रिक जनस्वास्थ्य संघको गम्भिर ध्यानाकर्षण
- स्वास्थ्य कार्यालय कैलालीको अनुरोध : नीजि स्वास्थ्य संस्था दर्ता तथा नविकरण गरेर मात्रै संचालन गर्नू
तपाईको प्रतिक्रिया