स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव नभएपनि टिकाउनै चुनौती छ : स्वास्थ्य मन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मुलुकमा स्वास्थ्य जनशक्तिको अभाव नरहे पनि टिकाउनै चुनौतीपूर्ण रहेको बताएका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को २३औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले उपत्यकाभित्रका स्वास्थ्य संस्थामा जनशक्ति रहे पनि बाहिर अभाव रहेको बताए ।
मन्त्री पौडेलले भने, “काठमाडौँ उपत्यकाबाहिर नौवटा दरबन्दी भएको सङ्घीय अस्पतालमा एकजना मेडिकल सुपरिटेन्डेन्ट मात्र कार्यरत छन् । जनशक्ति उत्पादन गर्ने, स्वदेशमै टिकाउने, दुरदराज खटिने स्थिति बनाउन पर्नेछ, त्यसका लागि कम खर्चिलो, नागरिकलाई आर्थिक दायित्व कम हुने जनशक्ति उत्पादनलाई सहज बनाउन जरुरी छ ।”
उनले स्वास्थ्य क्षेत्रमा जनशक्ति वृद्धि गर्ने देशको आवश्यकता भएकाले राज्यकै लगानीबाट जनशक्ति उत्पादन गरी देशभित्रै टिकाउन प्रोत्साहन र सहुलियत प्रदान आवश्यक रहेको धारणा राखे ।
मुटु, मिर्गौला र क्यान्सरजस्ता रोगका उपचारका लागि सबै प्रदेश अस्पतालमा सेवा विस्तार गरिए पनि लोक सेवाको परीक्षा दिई ती ठाउँमा गएर काम गर्छु भन्ने जनशक्तिको अभाव देखिएकाले न्याम्सले नीतिगत प्रस्टता लिनुपर्नेमा उनले जोड दिए ।
मन्त्री पौडेलले भने, “वीर अस्पतालको जगमा उभिएको प्रतिष्ठानले थुप्रै जनशक्ति उत्पादन र स्वास्थ्य सेवा उपलब्ध गराएको छ । केही वर्षपछि नेपालमा सबैभन्दा बढी स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादन गर्ने संस्थाका रुपमा प्रतिष्ठान रहनेछ ।”
राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी विच्छाले सरकारद्वारा प्रस्तुत आगामी नीति र कार्यक्रममा बिमाको पुनःसंरचनादेखि प्रत्येक प्रदेशमा गम्भीर किसिमका रोगको विशिष्ट सेवा प्रदान गर्ने तथा बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार सुनिश्चित गर्ने विषय समेटिएको बताए ।
उनले भने, “जति नीति र कार्यक्रम ल्याएका छौँ, त्यसको कार्यान्वयन गर्ने अग्रणी संस्थाका रुपमा न्याम्स रहेको छ । कार्यान्वयन गर्ने हिसाबले यसपटक कार्यक्रम आएको छ । प्रतिष्ठानले १०० भन्दा बढी विधाका कार्यक्रम सञ्चालन गरिरहेको छ, यहाँबाट उत्पादित जनशक्ति देशका कुनाकुनामा छन् ।”
प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले प्रतिष्ठानले चिकित्सा शिक्षाको अनुसन्धान र स्वास्थ्य क्षेत्रको गुणस्तरमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको बताए । उनले भने, “चिकित्सा शिक्षा आयोगको अनुमतिमा स्नात्तकोतर तहका सिटहरुमा उल्लेखनीय वृद्धि भएको छ, गत वर्षसम्म १२८ जना एमडी, एमएस, विडिएस, एमएस्सीमा सिट बढाएर यो वर्ष २५० पु¥याएका छौँ । विश्वका यस क्षेत्रका विशिष्टीकृत संस्थासँग अनुसन्धान र सहकार्य अघि बढाइएको छ ।”
प्रतिष्ठानबाट हालसम्म तीन हजार ६८० चिकित्सकले विशेषज्ञता हासिल गरिसकेका छन् । विसं २०५७ जेठमा गठन भएको कमिटीको प्रतिवेदनका आधारमा विसं २०५९ स्थापना भएको प्रतिष्ठानले चिकित्सा क्षेत्रमा अघि बढ्ने अवसर प्राप्त गरेको छ । १३५ वर्षअघि स्थापना भएको वीर अस्पतालको जगमा प्रतिष्ठान अघि बढिरहेको छ ।
प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा लोचन कार्कीले प्रतिष्ठान मातहत २४ वटा अस्पताल आबद्ध रहेको तथा १२ वटामा विभिन्न ‘फेलोसिप’ सञ्चालन भइरहेको बताए ।
वीर अस्पतालका निर्देशक प्राडा दिलीप शर्माले वीर अस्पतालले विभिन्न आरोह अवरोध पार गर्दै ७२ शय्याको आइसियूसहित ९६६ शय्यामार्फत सेवा प्रदान गरिरहेको जानकारी दिए । आधारभूत तथा विशिष्टीकृत सेवा प्रदान गर्दै आएको वीर अस्पतालले गत वर्ष बहिरङ्ग सेवामार्फत ६ लाख ३५ हजार २८६, आकस्मिकतर्फ करिब ३६ हजार १२२ तथा वार्डमा भर्ना भई उपचार गर्नेको सङ्ख्या २० हजारभन्दा बढी रहेको जानकारी उनले दिए ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा चिकित्सा क्षेत्रका विशिष्ट योगदान पु¥याएबापत पुराना विशेषज्ञ चिकित्सक प्राडा सुदीपकुमार भट्टाचार्यलाई सम्मान गरिएको थियो । सो अवसरमा स्नातकोत्तर तहका विषयका विभिन्न विधामा सर्वोच्चतम अङ्क प्राप्त गर्ने मेधावी छात्र डा निशा खनाल, डा मन्देश श्रेष्ठ र डा शिव भण्डारी तथा अनुसन्धान विधामा उत्कृष्टता हासिल गरेका प्रा डा रामहरि चापागाई र डा विनिता अधिकारीलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो ।
ताजा अपडेट
- जेनजी आन्दोलनका घाइते भेटेपछि स्वास्थ्यमन्त्रीले भनिन्, “यो आन्दोलन व्यर्थ नजाओस्”
- ध्वनि चिकित्सा पद्धतिको प्रभावकारिता
- ‘जेनजी’ प्रदर्शनका घाइतेलाई मनोपरामर्श सेवा दिने नवनियुक्त स्वास्थ्यमन्त्रीको पहिलो निर्णय
- मन्त्रिपरिषद् विस्तारः स्वास्थ्यमन्त्रीमा डा गौतम
- अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
- जेनजी आन्दोलनका घाइते भन्छन् : घाउले भन्दा बढी चहर्याउँछ चाडबाडको सम्झनाले
- यमपञ्चक, न्हूदँया भिन्तुना र छठमा स्वास्थ्य सावधानी
- मनाङमा जलवायु परिवर्तनको प्रभावः सङ्कटमा चौँरी खर्क
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार


तपाईको प्रतिक्रिया