४८ औँ नेत्रज्योति दिवसः नेपालको आँखा उपचार सेवा र नेपाल नेत्रज्योति सङ्घ
काठमाडौँ । नेपालमा स्वास्थ्य सेवाको विकासको इतिहासमा ‘आँखा उपचार सेवा’ एउटा सफल उदाहरणका रूपमा स्थापित भएको छ ।
सीमित स्रोत, जटिल भौगोलिक अवस्था र स्वास्थ्य सेवाको सीमित पहुँचका बाबजुत नेपालले अन्धोपन न्यूनीकरणमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । यस उपलब्धिको केन्द्रमा रहेको संस्था हो– नेपाल नेत्रज्योति सङ्घ ।
प्रतिष्ठित समाजसेवीहरु रविशमशेर राणा, प्रा डा रामप्रसाद पोखरेल, मणिहर्ष ज्योति, बद्रीविक्रम थापा, अनङ्गमान शेरचन, बनवारीलाल मित्तल, तोलाराम दुगड, राजकृष्ण श्रेष्ठ र कमलमणि दीक्षितको अथक पहलमा नेपाल नेत्रज्योति सङ्घको स्थापना सन् १९७८ मा भएको हो ।
यसमा पनि नेपालमा आँखा स्वास्थ्य सेवाको प्रवद्र्धन र विस्तारमा प्रा डा पोखरेलको योगदान अतुलनीय एवं ऐतिहासिक रहेको छ । उहाँलाई नेपालमा आधुनिक आँखा स्वास्थ्य सेवाको परिकल्पनाकारका रूपमा लिइन्छ । उहाँले आँखा उपचार सेवालाई व्यवस्थित, विस्तार र सर्वसुलभ बनाउने अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।
स्थापनापश्चात् सङ्घले नेपाल सरकार, विभिन्न वैदेशिक दातृ निकायसँगका सहकार्यमा तत्कालीन समयमा १४ वटै अञ्चलमा आँखा अस्पताल स्थापना गर्ने उद्देश्यले समुदायसँग सहकार्य सुरुआत गरेको थियो । सङ्घको आह्वानमा देशका विभिन्न स्थानमा समुदायले जग्गा दान गरेका थिए भने समाजसेवीले आर्थिक सहयोगसमेत गरेका थिए । यसबाट नेपालमा सर्वसुलभ, गुणस्तरीय र सहजरुपमा आँखा उपचार सेवाको विस्तारमा महत्वपूर्ण आधार तयार गरेको छ ।
प्रत्येक वर्ष चैत १३ गते नेपाल नेत्रज्योति सङ्घको स्थापना दिवसका अवसरमा नेत्रज्योति दिवस मनाइन्छ । यस विशेष दिनका अवसरमा नेपालमा आँखा स्वास्थ्य सेवाको विकास, अन्धोपन न्यूनीकरण तथा सर्वसाधारणलाई सर्वसुलभ, गुणस्तरीय र सहज आँखा उपचार सेवा विस्तारमा सङ्घले पु¥याएको योगदानलाई स्मरण गर्दै आँखा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्दै सुरक्षित दृष्टिका लागि सबै सरोकारवालालाई सहकार्य र सक्रिय सहभागिताका लागि प्रेरित गर्न विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ ।
यस वर्ष ४८ औँ नेत्रज्योति दिवस ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’ भन्ने मूल नाराका साथ मनाइँदैछ । यस नाराले आँखा स्वास्थ्य सेवा विस्तार र अन्धोपन न्यूनीकरणको अभियान केवल सरकार, कुनै एक निकाय वा संस्थाको जिम्मेवारी मात्र नभई सम्पूर्ण समाजको साझा दायित्व भएको सन्देश दिएको छ ।
अन्धोपन न्यूनीकरणमा उल्लेखनीय उपलब्धि
नेपालले पछिल्ला चार दशकमा आँखा स्वास्थ्य सेवामा उल्लेखनीय प्रगति गरेको छ । राष्ट्रिय सर्वेक्षण ९सन् १९८१० ले नेपालमा अन्धोपनको दर ०।८४ प्रतिशत रहेको देखाएको थियो । निरन्तर प्रयास, उपचार सेवाको विस्तार, जनचेतना अभिवृद्धि र आधुनिक शल्यक्रिया प्रविधिको प्रयोगका कारण अहिले यो दर घटेर ०।२८ प्रतिशतसम्म झरेको छ ।
यो उपलब्धि केवल स्वास्थ्य सेवाको विस्तार मात्र होइन, प्रभावकारी योजना, समुदायको सहभागिता र संस्थागत प्रतिबद्धताको परिणाम हो । नेपालले अपनाएको अन्धोपन न्यूनीकरणको ‘मोडेल’ विश्वका अन्य विकासोन्मुख मुलुकहरूका लागि समेत उदाहरणीय मानिएको छ ।
देशभर फैलिएको आँखा सेवा सञ्जाल
नेपाल नेत्रज्योति सङ्घले देशभर आँखा स्वास्थ्य सेवा सञ्जाल निर्माण गरेको छ । हाल सङ्घअन्तर्गत २८ आँखा अस्पताल, २२६ आँखा उपचार केन्द्र तथा ४३ जिल्ला शाखा सञ्चालनमा छन् ।
यी संस्थाहरूमार्फत हिमाली क्षेत्रका दुर्गम गाउँदेखि तराईका समथर भूभागसम्मका नागरिकलाई सहज र गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराइँदै आएको छ । हजारौँ स्वास्थ्यकर्मी, प्राविधिक तथा स्वयंसेवकहरूको सक्रिय योगदानले आँखा स्वास्थ्य सेवा विस्तारलाई प्रभावकारी बनाएको छ ।
सङ्घको स्थापनादेखि सन् २०२४ को अन्त्यसम्म आइपुग्दा सङ्घको सञ्जालमार्फत चार करोड ६८ लाख ६८ हजारभन्दा बढी बिरामीलाई आँखा उपचार सेवा प्रदान गरिसकिएको छ भने ५३ लाखभन्दा बढी बिरामीको आँखाको शल्यक्रिया सम्पन्न भइसकेको छ । यी तथ्याङ्कहरूले नेपालमा आँखा स्वास्थ्य सेवाको पहुँच विस्तारमा सङ्घले खेलेको भूमिकालाई स्पष्ट रूपमा उजागर गरेको छ ।
समुदायमै पुग्ने आँखा सेवा
नेपालको भौगोलिक बनावट जटिल भएकाले स्वास्थ्य सेवा दुर्गम क्षेत्रमा पु¥याउनु चुनौतीपूर्ण हुन्छ । यही चुनौतीलाई ध्यानमा राख्दै नेपाल नेत्रज्योति सङ्घले समुदायमा आधारित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
घुम्ती आँखा शिविर, विद्यालयस्तरीय जाँच कार्यक्रम, निःशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर, आँखा स्वास्थ्यसम्बन्धी जनचेतना अभियान लगायतका गतिविधिहरूबाट दुर्गम क्षेत्रका लाखौँँ नागरिकले सुलभ आँखा उपचार सेवा प्र्राप्त गरेका छन् । सङ्घले यसका अलावा दृष्टिदोष, बाल दृष्टिविहीनता, जलविन्दु, ‘डाइबेटिक रेटिनोपेथी’, न्यूनदृष्टि तथा पुनःस्थापना सेवाजस्ता विशेष कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ ।
अन्तरराष्ट्रियस्तरमा नेपालको आँखा सेवा
नेपालको आँखा उपचार सेवा अन्तरराष्ट्रियस्तरमा पनि अनुकरणीय एवं प्रशंसित हुँदै गएको छ । गुणस्तरीय सेवा, दक्ष जनशक्ति तथा तुलनात्मक रूपमा कम लागतका कारण छिमेकी देशहरू भारत, बङ्गलादेश र भुटानलगायतका मुलुकका नागरिकहरू समेत नेपालमा आँखा उपचारका लागि आउने गरेका छन् ।
नेपाल नेत्रज्योति सङ्घका अस्पतालहरूमा उपलब्ध प्रभावकारी सेवा र उच्च सफलता दरका कारण विदेशी बिरामीहरूको सङ्ख्या क्रमशः बढ्दै गएको छ । उपलब्ध तथ्याङ्कअनुसार सन् २०२४ मा मात्र नेपाल नेत्रज्योति सङ्घको सञ्जालमार्फत नौ लाख सात हजारभन्दा बढी विदेशी नागरिकहरूको आँखा परीक्षण गरिएको थियो भने करिब एक लाख ६२ हजारभन्दा बढी बिरामीको आँखाको शल्यक्रिया गरिएको थियो ।
यसले नेपाललाई आँखा उपचारको सम्भावित चिकित्सा पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने सम्भावना पनि बढाएको छ । नेपाल सरकारसँगको सहकार्यमा नेपाललाई आँखा उपचारको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने प्रयासहरू पनि अघि बढिरहेका छन् ।
नेपाल नेत्रज्योति सङ्घले नेपाली दूतावासहरूको सहकार्यमा विदेशमा समेत आँखा शिविर सञ्चालन गर्दै प्रवासी नेपाली तथा स्थानीय समुदायलाई सेवा प्रदान गर्दै आएको छ । साथै, विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूलाई लक्षित गरी विदेशमा थप आँखा शिविर सञ्चालन गर्ने योजनासमेत अघि बढाइएको छ, जसले उनीहरूको आँखा स्वास्थ्य पहुँचलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
आधुनिक प्रविधि र हरित अस्पतालतर्फ
पछिल्लो समय नेपाल नेत्रज्योति सङ्घले आधुनिक प्रविधिको प्रयोगमा विशेष ध्यान दिँदै आएको छ । मोबाइल हेल्थ, टेलि–अफ्थाल्मोलोजीलगायतका प्रविधिको प्रयोगमार्फत दुर्गम क्षेत्रमा समेत विशेषज्ञ सेवा विस्तार गर्ने प्रयास भइरहेको छ ।
यसका साथै सङ्घले आफ्ना अस्पताल तथा उपचार केन्द्रहरूलाई हरित अस्पताल ९न्चभभल ज्यकउष्तब०ि का रूपमा विकास गर्ने लक्ष्य पनि अघि सारेको छ ।
आगामी चुनौतीहरू
नेपालले अन्धोपन न्यूनीकरणमा उल्लेखनीय उपलब्धि हासिल गरे पनि आगामी दिनमा चुनौतीहरू अझै बाँकी छन् ।
बढ्दो जनसङ्ख्या
औसत आयुमा वृद्धि
मधुमेहजन्य आँखाका रोगहरूको वृद्धि
बाल दृष्टिविहीनता
ग्रामीण क्षेत्रमा सेवा पहुँच विस्तार
यी चुनौतीहरूको सामना गर्न जनचेतना अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग, दक्ष जनशक्ति उत्पादन तथा सार्वजनिक–निजी साझेदारीलाई अझ सुदृढ बनाउनु आवश्यक छ ।
साझा जिम्मेवारीको अभियान
अठ्चालीसौँँ नेत्रज्योति दिवस नेपालको आँखा स्वास्थ्य क्षेत्रमा हासिल भएका उपलब्धिहरूको स्मरण गर्ने मात्र होइन, आगामी दिनका लागि नयाँ प्रतिबद्धता व्यक्त गर्ने अवसर पनि हो । नेपाल सरकार, विकास साझेदार, स्वास्थ्यकर्मी, स्वयंसेवक, आम सञ्चारमाध्यम तथा सम्पूर्ण समुदायको सहकार्यबाट मात्रै अन्धोपन न्यूनीकरणको अभियानलाई अझ प्रभावकारी बनाउन सकिन्छ ।
नेपाल नेत्रज्योति सङ्घले विगत चार दशकभन्दा बढी समयदेखि सञ्चालन गर्दै आएको दृष्टि जोगाउने अभियानलाई अझ सशक्त बनाउन आज सबै पक्षको सक्रिय सहभागिता आवश्यक छ ।
यस अवसरमा नेपाल नेत्रज्योति सङ्घले विगत चार दशकभन्दा बढी समयदेखि सञ्चालन गर्दै आएको आँखा स्वास्थ्य सेवाको अभियानलाई अझ प्रभावकारी र सर्वसुलभ बनाउँदै देशका दुर्गम तथा पिछडिएका समुदायसम्म गुणस्तरीय आँखा उपचार सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’ भन्ने नारालाई आत्मसात् गर्दै विभिन्न सरकारी निकाय, विकास साझेदार, स्वास्थ्यकर्मी तथा समुदायको सहकार्यबाट नेपालमा अन्धोपन न्यूनीकरण तथा दृष्टि संरक्षणको अभियानलाई अझ सशक्त बनाउने विश्वास लिइएको छ । अठ्चालीसौँ नेत्रज्योति दिवसको अवसरमा सबै सरोकारवालाहरूलाई आँखा स्वास्थ्य प्रवद्र्धन र सुरक्षित दृष्टिका लागि सक्रिय सहभागिताको हार्दिक आह्वान गर्दछौँ ।
- लेखक डा मिश्र नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक हुन् ।
ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया