आवासीय चिकित्सकले ओपिडी सेवा बहिष्कार गर्दा बिरामी मर्कामा

काठमाडौँ । आवासीय चिकित्सकहरुले अस्पतालमा ओपिडी सेवा ठप्प पार्दा अस्पताल आएका बिरामी मर्कामा परेका छन् । सरकारीसरह निर्वाह भत्ता पाउनुपर्ने माग गर्दै २३ दिनदेखि आन्दोलनरत निजी मेडिकल कलेजका चिकित्सकका कारण बिरामी मारमा परेका हुन् । उनीहरुको आन्दोलनमा सरकारी चिकित्सकहरुले पनि ऐक्यबद्धता जनाएका छन् ।
आकस्मिक तथा सघन उपचार सेवाजस्ता अत्यावश्यक सेवाहरु प्रभावित बन्न पुगेका हुन् । काठमाडौँको वीर अस्पतालमा मात्रै दैनिक दुई हजारभन्दा बढीले ओपिडी सेवा लिने गरेका छन् । ओपिडी सेवा ठप्प हुँदा उपचारमा आंशिक प्रभाव परेको वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले बताए ।
उनले भने, “आवासीय चिकित्सकहरु आन्दोलनमा जानुभएको छ । त्यसैले ओपिडी सेवामा आंशिक प्रभाव परेको छ । जति चिकित्सक हुनुहुन्छ उहाँहरुले हेरिराख्नुभएको छ । आकस्मिक तथा सघन उपचार कक्षमा भने सेवा निरन्तर छ त्यसमा प्रभाव परेको छैन ।”
आवासीय चिकित्सकहरुले सेवा बहिष्कार गर्दा राष्ट्रिय ट्रमा सेन्टरमा पनि ओपिडी सेवा पूर्ण रुपमा ठप्प छ । आकस्मिकबाहेक अरु सेवा दिन नसकिएको सेन्टरका निर्देशक डा बद्री रिजालले जानकारी दिए । उहाँले भन्नुभयो, “दैनिक ४०० देखि ५०० सम्म बिरामी आउँछन् । ओपिडी बन्द हुँदा समस्या परेको छ ।”
त्यसैगरी कान्ति बाल अस्पतालमा पनि चिकित्सकहरुले आन्दोलनमा साथ दिँदै ओपिडी सेवा बहिष्कार गरेका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पतालमा पनि सेवा प्रभावित भएको छ ।
नेपाल चिकित्सक सङ्घले विज्ञप्ति जारी गर्दै सेवा ठप्प पार्न सबै निजी तथा सरकारी अस्पताल, क्लिनिक, मेडिकल कलेज र प्रतिष्ठानहरुका निर्देशक, चिकित्सकहरुलाई आह्वान गरेको थियो । जसका कारण सरकारी अस्पतालमा आज ओपिडी सेवा प्रभावित बन्न पुगेको हो ।
चिकित्सा शिक्षा आयोगको १६औँ बैठकको निर्णयअनुसार आवासीय चिकित्सकहरुले हालसम्म पनि आफ्नो निर्वाह भत्ता नपाएको भन्दै निर्णय कार्यान्वयन नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुको भनाइ छ । उपत्यकाभित्रका चिकित्सकहरु दैनिक माइतीघर मण्डलामा धर्ना दिइरहेका छन् । चिकित्सक सङ्घको आह्वानले देशभरका सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरुले आजदेखि आन्दोलनमा साथ दिएका छन् ।
उपचार सेवा नपाउँदा सर्वसाधारणमा पर्न जाने असुविधाप्रति चिकित्सक सङ्घले क्षमा माग्दै सोको जिम्मेवारी स्वयं सरकारले लिनुपर्ने चेतावनी दिएको छ ।
‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समिति’का संयोजक शेषराज घिमिरेले आज उपत्यकामा करिब हजारको सङ्ख्यामा चिकित्सहरु आन्दोनलमा सहभागी भएको बताए । उनले भने, “हाम्रो आन्दोलनमा सरकारी चिकित्सकहरुले पनि ऐक्यबद्धता जनाउन आउनुभएको छ । ओपिडी बहिष्कार गरेर साथ दिन आउनुभएको छ । निर्णय कार्यान्वयन नहुँदासम्म आन्दोलन जारी रहन्छ ।”
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिहीबार स्वास्थ्य मन्त्रालयमा नेपाल चिकित्सक सङ्घ र आवासीय चिकित्सकका प्रतिनिधिहरुबीच वार्ता गर्दै निर्णय कार्यान्वयन नभएसम्म निजी मेडिकल कलेजलाई मन्त्रालयले कुनै सहयोग नगर्ने घोषणा गरेका छन् ।
ताजा अपडेट
- कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधनमा आगजनी
- देशभरिका अस्पतालमा ३० जनाको मृत्यु र एक हजारबढी घाइते
- तोडफोड र आगजनीपछि सिंहदरबारको अवस्था : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, लुटपाट कयौं सामग्री लुटपाट
- स्वास्थ्य मन्त्री पौडेलले दिए राजिनामा
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिँदै
- काठमाडौँमा रगतको अभाव भएपछि ७१ पाउण्ड रगत झापाबाट पठाइयो
- ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठको मृत्यु, पाँच जनाको पहिचान खुल्यो
- अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार
- सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा थप सेवा बिस्तार
तपाईको प्रतिक्रिया