लुम्बिनी । कृषि विज्ञान विषयमा अध्ययनरत विद्यार्थी विकास पाण्डेले किसानलाई जैविक विषादी प्रयोग गर्ने विषयमा खोज नै नभएको र यसमा सरकारी निकाय गम्भीर हुनुपर्ने बताए ।
जैविक विषादीका विषयमा किसान जागरुक नहुँदा उपभोक्तालाई यसको प्रत्यक्ष असर परेको र यसबारेमा किसानसँगै उपभोक्तालाई पनि बुझाउन जरुरी रहेको उनी बताउछन् ।
यस्तै कृषि विषयमा अध्यापन गराउँदै आएका शिक्षक ज्ञानेन्द्र पौडेल विषादीको बिक्रीवितरण सहज हुने भएकाले खाद्यान्न बेच्ने ठाउँमा समेत यसको बिक्रीवितरण सहजै हुने गरेको बताउछन् ।
उनले बजारमा सहजै जैविक वनस्पति विषादी नपाउने र महँगो पर्ने भएकाले कृषि ज्ञान केन्द्रलगायत सरकारका निकायहरूमा सहजता ल्याउनेगरी योजना बनाउनुपर्ने बताए ।
रुपन्देही उद्योग सङ्घले बुटवलमा आयोजना गरेको १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ का अवसरमा बुटवलमा मङ्गलबार आयोजित ‘नेपालमा कृषि उत्पादन मानव स्वास्थ्य तथा वातावरणमा किटनाशकको प्रभाव’ विषयक कार्याशाला गोष्ठी सहभागी विभिन्न क्षेत्रका विज्ञहरूले पर्याप्त सूचना अभावमा किसानले किटनाशक विषादीलाई औषधिका रुपमा प्रयोग गरेका कारण मानव स्वास्थ्यमा गम्भीर र घातक रोग निम्त्याए बताएका छन् ।
कृषि उत्पादन बढाउन किसानले अनावश्यक किटनाशक विषादीको प्रयोग र त्यसको नियामक निकाय कमजोर भएकाले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परेको सरोकारवालाले चिन्तासमेत गरेका छन् ।
कार्यक्रममा कीरा, रोग र झारपातबाट बाली जोगाउन र छोटो समयमै लाभ दिने भए पनि यसको अस्वाभाविक प्रयोगले खतरनाक रोग लाग्न थालेकाले जैविक विषादीको प्रयोगलाई बढाउनुपर्ने सुझाव विभिन्न क्षेत्रका विज्ञहरूको छ ।
कृषि निर्देशनालयका बाली संरक्षक अधिकृत विज्ञ मिलन गैरे मानव स्वास्थ्यमा किटनाशक विषादीको असर अझै संवेदनशील रहेको र यसले खेतमा काम गर्ने किसान, मजदुर तथा उपभोक्ता सबै जोखिममा पर्दै गएको बताए।
“छालामा सिधा सम्पर्क, श्वास फेर्दा वा खानामा रहेको अवशेषका कारण विषादी शरीरमा प्रवेश गर्ने र तत्काल रूपमा टाउको दुख्ने, वाकवाकी लाग्ने, चक्कर आउने, छालामा जलन हुनेजस्ता समस्या देखिन सक्छन्”, उनले भने, “दीर्घकालीन रूपमा क्यान्सर, स्नायु प्रणालीमा असर, हर्मोन सन्तुलन बिग्रिनु, प्रजनन क्षमतामा कमी र बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक प्रभाव पर्ने तथ्यहरू विभिन्न अध्ययनले देखाएका छन् । अवशेषयुक्त खाद्यान्नको नियमित सेवनले उपभोक्ताको स्वास्थ्यमा मौन तर गहिरो क्षति पुर्याउने खतरा रहन्छ ।”
कार्यक्रममा कृषि अनुसन्धानकर्ता शारदा पाण्डे परम्परागत किटनाशक सम्बन्धमा अनुसन्धानसहितको धारणा प्रस्तुत गर्दै यसले वातावरणीय दृष्टिले किटनाशक औषधिले जैविक सन्तुलनमा ठूलो खलल पुर्याउने गरेको स्पष्ट पारे । “माटो, पानी र हावामा मिसिएका रसायनले कीरामात्र होइन, मौरी, चरा, माछा तथा अन्य उपयोगी जीवलाई समेत नष्ट गर्छ । मौरी नष्ट हुँदा परागण प्रक्रिया प्रभावित भई कृषि उत्पादनमा नै दीर्घकालीन नकारात्मक असर पर्छ”, उनले भने, “नदी, खोला र भूमिगत पानी प्रदूषित हुँदा मानव र वन्यजन्तु दुवै जोखिममा पर्छन् । माटोमा लामो समयसम्म रहने रसायनले पारिस्थितिक प्रणालीलाई कमजोर बनाउँछ र जैविक विविधता घटाउँछ ।”
राष्ट्रिय गहँुबाली अनुसन्धान भैरहवाका वरिष्ठ अधिकृत खेमराज पन्तले किटनाशक औषधिको प्रयोग पूर्ण रूपमा निषेध नभएर विवेकपूर्ण, सुरक्षित र वैकल्पिक उपायसँग जोडेर प्रयोग गर्नुपर्ने सुझाव दिए । “एकीकृत कीट व्यवस्थापन, जैविक कृषि, सही मात्रा र सही समयमा प्रयोग तथा किसान र उपभोक्तामा चेतना अभिवृद्धि अहिलेको आवश्यकता हो”, उनले भने, “कृषि उत्पादन, मानव स्वास्थ्य र वातावरणबीच सन्तुलन कायम नगरेसम्म किटनाशकबाट हुने लाभ अस्थायीमात्र रहनेछ र त्यसको मूल्य समाजले दीर्घकालसम्म तिर्नुपर्नेछ ।”
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष तेजकुमार पाठकले विषादीको व्यापार कम गर्न र उपभोक्ताको सचेतना बढाउने काममा साझेदारी गर्न सबैलाई आग्रह गरे । उनले उपभोक्ता सचेत नहुँदासम्म यस्ता समस्या अझै बढ्ने बताउँदै नियामक निकायले अनुगमनलाई नियमित रूपमा अघि बढाउनुपर्ने र सबैलाई कर्तव्यबोध गराउनुपर्ने धारणा राखेका थिए ।
ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया