चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा

धनगढी । जब कुनै व्यक्ति विपन्नता, संघर्ष र अवसरका बीच निरन्तर अघि बढ्छ, तब त्यस्तो व्यक्ति आफ्नो सफलताको मात्रै होइन, सम्पूर्ण समाजको सम्भावनाको उदाहरण बन्छ ।
यस्तै सूचीमा पर्छन्, सुदूरपश्चिम प्रदेश सरकारका जनस्वास्थ्य प्रशासक रमेश कुँवर । उनी प्रदेश निजामति सेवा गठन पछि हेल्थ इन्सपेक्सन समूहमा पहिलो नम्बरमा नवौं तहमा बढुवा हुने जनस्वास्थ्य प्रशासक हुन् ।
भारतमा केही दिनको चौकीदारीको अनुभवदेखि विभिन्न संघ–संस्थामा कार्यरत हुँदै नेपाल सरकारको जनस्वास्थ्य प्रशासकसम्मको कुँवरको यात्रा प्रेरणादायी छ ।
वि.स. २०४६ साल फागुन २१ गते अछाम बयलपाटाको ‘काटै’ भन्ने गाउँमा जन्मिएका उनले आफ्नो जीवनको पहिलो वर्ष पनि नेपालमा बिताउन पाएनन् । बुवा भारतमा काम गर्ने भएकाले बाल्यकाल भारतको राजस्थानमा बित्यो । जहाँ उनले कक्षा ४ सम्म अध्ययन गरे ।
गाउँमा हजुरआमा बित्नु भएपछी नेपाल आएका उनि त्यसपछि अछाममै बसे । कक्षा ५ देखि १० सम्म उनले अछामकै महेन्द्र माध्यामिक विद्यालय बयलपाटामा पढे । वि.स. २०६२ सालमा दोस्रो श्रेणीमा एसएलसी पास गरेपछि उनी फेरि भारत गए ।
केहि दिन उनले त्यहाँ चौकीदारको रूपमा काम गरे । तर, त्यही जीवन उनले रोजेनन् । त्यसपछि स्वदेश फर्किएका उनले सि.एम.ए र हेल्थ असिस्टेन्टको प्रवेश परीक्षा पास गरे ।
फारबेष्ट स्कूल अफ मेडिसिन कंचनपुरबाट हेल्थ असिस्टेन्ट अध्ययन गरे । हेल्थ असिस्टेन्ट अध्ययन पश्चात घरकाले उनलाई बयलपाटा अस्पतालमा काम गरे सजिलो हुन्थ्यो भन्ने दबाब दिन थाले । उनले जति दबाब आएपनि काठमाडौं जाने अडान छोडेनन् ।
संगैका साथीहरुको लहलहैमा पुर्वानञ्चल विश्वविद्यालयको एसियन कलेज फर एडभान्स स्टडिज सातदोबाटो ललितपुरमा पढ्ने निधो गरे । पढाई सुरु भएको करिब ३ महिना भईसकेको थियो ।
त्यतिखेर, विद्यार्थी अपुग भएकाले मौका प्रवेश परीक्षाको व्यवस्था भयो । मौका प्रवेश परिक्षा उत्तीर्ण गरेर कुँवरले बि.पी.एच अध्ययनको यात्रा सुरु गरे । सुरुको दिन कक्षामा जाँदा प्राथमिक स्वास्थ्य सेवाको विषयको अध्ययन समाप्त भई क्लास टेष्ट परेको थियो । ‘तिम्रो आज पहिलो दिन, यो टेष्ट नदिए पनि केहि हुन्न’ शिक्षिकाले रमेशलाई भनेकी थिइन् । उनले त्यो टेष्ट दिए र सबैभन्दा बढी अंक पाए । सबै सहपाठी दङ्ग परे । उनलाई कलेजमा पढन्तेको ट्याग लाग्यो । उनले प्रथम वर्ष कलेज टप गरे ।
दोस्रो वर्षदेखि पढाई संगसँगै नमुना एकीकृत विकास परिषद्मा जागिर गर्न थाले । लागु औषध दुर्व्यसनीविरुद्ध सेवा प्रवाह गर्ने संस्था थियो । सहकर्मीहरु पूर्वदुर्व्यसनीहरु थिए । त्यहीबाट रमेशले यो समुदायलाई अझ बढी नजिकबाट चिन्ने अवसर प्राप्त गरे । जागिर संगसँगै अध्ययन गर्न निकै कठिन हुने भए तापनि अन्तमा कलेज टप पनि गरिरहे । अध्ययनको पहिलो वर्ष अलि अलि शुल्क तिरेर पढे तापनि कलेज टप गरेपछि छात्रवृत्तिमा पढ्ने अवसर पाए ।
उनले केही समय नेपाल प्रजनन् स्याहार केन्द्रमा क्षेत्रीय गुणस्तर अफिसरको रुपमा काम गरे । एकचोटी चार वटा प्राईभेट संघ–संस्थामा एकैचोटी नाम निस्केकोले कता जाउँ भन्ने सकस परेको थियो । ती जागिर सामान्य भए तापनि उनका लागि फरक अनुभव थियो ।
‘त्यतिन्जेलसम्म सरकारी जागिर खानु हुँदैन, विदेशी संघ–संस्थामा काम गर्ने हो, स्यालरी पनि टन्न हुन्छ भन्ने लाग्थ्यो’ रमेशले भने । संघ–संस्थामा कामको दौरानमा अ.हे.ब. लगायत सरकारी स्वास्थ्यकर्मीहरुलाई फोन गरेर काम गर्नुपर्ने हुन्थ्यो । ‘यत्रो पढेको छु, पढाईमा पनि अब्बल छु, मानसम्मान त सरकारीमै रहेछ भनेर चौथो र पाँचौ तहको लोकसेवा दिएको उनि बताउँछन् । त्यसपछि दुवैमा लिखितमा नाम निस्कियो तर अ.हे.ब मा मात्रै सिफारिस भए । रमेशले वि.स.२०७१ सालमा सिन्धुपाल्चोकको गोल्चै उपस्वास्थ्य चौकीमा अ.हे.व. पदबाट सरकारी सेवामा प्रवेश गरे ।
५-७ महिनापछि पोखराबाट हेल्थ असिस्टेन्टको लोकसेवामा नाम निकालेर उनको तनहुँको बैदी स्वास्थ्य चौकीमा पोष्टिंग भयो । करिब दुई वर्षपछि जनस्वास्थ्य अधिकृत पदमा सिफारिस भई नेपालकै सबैभन्दा कम मानव विकास सूचकांक भएको बाजुरा जिल्लामा पोष्टिंग भयो ।
करिब एक वर्ष पश्चात देश संघीय संरचनामा गएपछि उनले सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा काम गरे । सुदूरपश्चिमकै स्वास्थ्य तालिम केन्द्र हुँदै स्वास्थ्य कार्यालय दार्चुला र कैलालीसम्मको अनुभव उनिसँग छ ।
हाल भारतको पारुल विश्वविद्यालयबाट जनस्वास्थ्यमा पि.एच.डी. गरिरहेका उनले विश्वविद्यालय अनुदान आयोगको छात्रवृत्तिमा त्रिभुवन विश्व विद्यालयबाट जनप्रशासन विषय (सार्वजनिक नीति) मा एमफिल गरिसकेका छन् ।
जनस्वास्थ्य र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन् । एलएलबी र समाजशास्त्रमा स्नातकोत्तरको अन्तिम चरणमा छन् । नेपालमा ननटेक्निकल विषय पढ्न सजिलो छ भन्दै अब राजनीतिशास्त्रमा स्नातकोत्तर गर्ने योजना रमेशको रहेको छ । यी सबै जनस्वास्थ्य क्षेत्रका आधारस्तम्भ भएकाले यी विषयको बारेमा ज्ञानको दायरा बढाए राम्रो होला भन्ने बुझाई उनको छ ।
हाल सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रकाशित बढुवा सूचीमा उनि हे.ई.समूहको ९औं तहमा १ नम्बरमा सिफारिस हुन सफल भएका छन् । सुदूरपश्चिम प्रदेश र ८८ वटै स्थानीय तहमा हे.ई. समूहमा उनी भन्दा सिनियर कर्मचारी छैनन् ।
‘अहिलेकै स्रोत-साधनले पनि धेरै काम गर्न सकिन्छ । लगानीअनुसार नतिजा देखाउन सकिएको छैन । स्वास्थ्य प्रणालीमा जन पहुँचको अभाव छ । राज्यसँग भएको कानूनी शक्तिको अधिकतम सदुपयोगले जनस्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सकिन्छ । स्वास्थ्य क्षेत्र नै सरकारको अनुहार हो’ उनले भने । उनको भनाइमा आजको स्वास्थ्य प्रणालीको वास्तविकता झल्किन्छ ।
सेवाप्रवाहमा समान पहुँच, समयानुकूल नीति र दक्ष जनशक्ति नहुँदा अहिलेको स्वास्थ्य प्रणालीले सबैलाई समेट्न सकेको छैन । उनी एक प्रेरणाको मूर्तरूप हुन् । भारतको चौकीदारीदेखि सुदूरपश्चिमको जनस्वास्थ्य प्रशासकसम्मको यो यात्रा, प्रत्येक युवाका लागि प्रेरणा दिन सक्ने कथा बन्न सक्छ ।
ताजा अपडेट
- देशभरिका अस्पतालमा ३० जनाको मृत्यु र एक हजारबढी घाइते
- तोडफोड र आगजनीपछि सिंहदरबारको अवस्था : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, लुटपाट कयौं सामग्री लुटपाट
- स्वास्थ्य मन्त्री पौडेलले दिए राजिनामा
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिँदै
- काठमाडौँमा रगतको अभाव भएपछि ७१ पाउण्ड रगत झापाबाट पठाइयो
- ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठको मृत्यु, पाँच जनाको पहिचान खुल्यो
- अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
- अपडेट :प्रदर्शनमा हालसम्म १९ को मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार
- सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा थप सेवा बिस्तार
तपाईको प्रतिक्रिया