गृहपृष्ठ ∕ मुख्य समाचार ∕ निःसन्तान उपचारमा पारदर्शिता र सुरक्षाका लागि स्वास्थ्य मन्त्रालयद्धारा मापदण्ड जारी
निःसन्तान उपचारमा पारदर्शिता र सुरक्षाका लागि स्वास्थ्य मन्त्रालयद्धारा मापदण्ड जारी
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निःसन्तान उपचार (आइभीएफ) सेवालाई व्यवस्थित बनाउन र नियमन गर्न ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२’ स्वीकृत गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै उक्त मापदण्ड स्वीकृत गरेका हुन् ।
यो मापदण्डले नेपालमा निःसन्तान उपचार सेवा र यसका लागि आवश्यक प्रयोगशाला, जनशक्ति व्यवस्थापन तथा संवेदनशील मानिएको शुक्रकिट तथा अण्डा दान(डोनर) प्रक्रिया थप व्यवस्थित हुने भएको छ ।
मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्माले यो मापदण्डले निःसन्तान उपचार केन्द्रहरूको कानुनी आधारमा प्रभावकारी नियमन र निःसन्तान उपचार सेवामा एकरूपता ल्याउने बताए । उनका अनुसार न्यूनतम भौतिक पूर्वाधार, जनशक्ति र प्रयोगशालाको स्तर तोक्ने, सेवा शुल्कलाई पारदर्शी बनाउने तथा सेवाग्राही र दाताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले यो मापदण्ड जारी गरिएको हो ।
उनले भने “निःसन्तानपन एक संवेदनशील स्वास्थ्य समस्यामात्र नभएर गहिरो सामाजिक र मनोवैज्ञानिक विषय पनि हो । यस मापदण्डले निःसन्तान उपचार सेवालाई थप सुरक्षित, पारदर्शी र अन्तरराष्ट्रियस्तरको बनाउन लागि एक कोशेढुङ्गाका रुपमा काम गर्ने छ ।”
डा शर्माले मापदण्डबमोजिम सेवा प्रदायकलाई पूर्ण जिम्मेवार बनाइने छ । तोकिएको मापदण्ड पालना नगर्ने जोसुकैलाई कडा कानुनी दायरामा ल्याउने बताए ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बूढाथोकीले प्रजनन स्वास्थ्यको क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन यस मापदण्डले महत्वपूर्ण भूमिका खेल्ने बताए । “पछिल्लो समय निःसन्तानपनको समस्या बढ्दो छ । तर यसको उपचार दिने संस्थाहरूको गुणस्तर र प्रक्रियामा थुप्रै प्रश्न उठेका थिए । धेरै दम्पतीहरू ठगिनसक्ने र गुणस्तरीय सेवा नपाउँदा उनीहरुको जीवन समेत जोखिममा पर्नसक्ने खतरा थियो”, प्रवक्ता डा बुढाथोकीले भने, “यो मापदण्डले सेवालाई सुरक्षित र विश्वसनीय बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।”
मापदण्डमा ‘आइयुआई’ र ‘आइभीएफ’ जस्ता विशिष्ट सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयबाट अनिवार्य रूपमा अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । प्रत्येक अनुमति प्राप्त केन्द्रमा निःसन्तान रोग विशेषज्ञ, तालिम प्राप्त ‘इम्ब्रायोलोजिष्ट’ र ‘एनेस्थेसियोलोजिष्ट’ लगायतका दक्ष जनशक्ति अनिवार्य हुनुपर्नेछ ।
भ्रुणको विकासमा प्रत्यक्ष असर पार्ने प्रयोगशाला र शल्यक्रिया कक्षको वातावरणीय गुणस्तरका लागि प्राविधिक मापदण्ड तोकिएको छ । सेवा शुल्क मन्त्रालयले निर्धारण गरेबमोजिम मात्र लिन पाइनेछ भने प्रत्येक संस्थाले १० प्रतिशत सेवा गरिब तथा विपन्न वर्गलाई निःशुल्क उपलब्ध गराउनुपर्नेछ ।
सेवाको गुणस्तर, जनशक्ति र उपकरणको अवस्थाबारे मन्त्रालयको समितिले नियमित अनुगमन गर्ने र मापदण्ड पालना नगर्ने संस्थाको अनुमति खारेज गर्नसक्ने व्यवस्था गरिएको छ ।
शुक्रकिट वा अण्डा दान गर्ने दाताका लागि समेत स्पष्ट मापदण्ड तोकिएको छ । दाताको उमेर २० देखि ३५ वर्षको बीचमा हुनुपर्ने, कुनै पनि सरुवा रोग नभएको स्वास्थ्य परीक्षणबाट प्रमाणित हुनुपर्ने र विवाहितको हकमा दम्पतीको लिखित मञ्जुरीजस्ता विषयलाई अनिवार्य गरिएको छ ।
एक व्यक्तिले दान गर्न पाउने पटकको सङ्ख्या सीमित गरिएको छ र दाताको पहिचान पूर्ण रूपमा गोप्य राख्नुपर्नेछ । साथै, कुनै पनि व्यक्तिलाई प्रलोभनमा पारी वा दबाबमा राखी दान गराउन पूर्ण रूपमा निषेध गरिएको छ ।
ताजा अपडेट
- स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
- चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
- सेती प्रादेशिक अस्पतालमा निः शुल्क जलन उपचार शिविर हुदै
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- कुष्ठरोग प्रभावितसँग सम्बन्धित नीति तथा कानुन पुनरावलोकन गर्न सुझाव
- स्वास्थ्य मन्त्रीको सुदूरपश्चिम भ्रमण : शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन
- सुदूरपश्चिमका बालबालिकामा पोषणको ‘स्मार्ट सर्वेक्षण’
धेरैले पढेको
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- डडेल्धुरा अस्पताल : आकस्मिक बाहेक सबै सेवा बन्द
- बुद्ध एयर जहाज दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते,छ जना सामान्य उपचारपछि ’डिस्चार्ज’
- गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : उपकुलपति र रजिष्ट्रार नियुक्त
- मन्त्रिपरीषद बैठक : ११ औं तहका ४ चिकित्सकको जिम्मेवारी हेरफेर


तपाईको प्रतिक्रिया