स्वास्थ्य सेवा प्रवाहमा नर्सहरुको भूमिका महत्वपूर्णः परराष्ट्रमन्त्री
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली नागरिकको स्वास्थ्य सेवा प्रवाहमा नर्सहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएकी छिन् ।
महाराजगञ्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले चिकित्सकहरु सहजै उपलब्ध हुन नसकिरहेको नेपालजस्तो देशमा नागरिक स्वास्थ्यका प्रमुख आधारस्तम्भ नै नर्सहरु रहेका उल्लेख गरीन् ।
मन्त्री डा राणाले भनिन्, “ग्रामीण बस्तीदेखि सहरका अस्पतालसम्म नै नर्सहरुको सेवा, समर्पण र बिरामीप्रतिको व्यवहार स्वास्थ्य प्रणालीको प्रमुख आधार बनेको छ । जनस्वास्थ्यको उपलब्धता र आधारभूत स्वास्थ्य सेवाका लागि नर्सहरूको भूमिका झन् महत्वपूर्ण बन्दै गएको छ ।”
बिरामीको उपचार, उनीहरुको मनोबलमा वृद्धि, आपतकालीन अवस्थामा सेवा र बिरामीहरुलाई परामर्श जस्तो नर्सिङ सेवाका कारण नै अहिले नेपाली नागरिकमा स्वास्थ्यमा पहुँच, मातृशिशु स्वास्थ्यमा सुधार तथा ग्रामीण क्षेत्रसम्म नै स्वास्थ्य शिक्षाको सचेतना अभिवृद्धि भएको उनले बताईन्।
मन्त्री डा राणाले वर्तमान स्वास्थ्य सेवा प्रणालीमा सुधार ल्याउनका लागि यस्तो संवेदनशील सेवामा समर्पित नर्सहरूलाई प्रोत्साहन, सेवाको सुरक्षा, समयानुकूल तालिम र प्राविधिक संशाधन उपलब्ध गराउनुपर्नेमा जोड दिईन ।
मन्त्री डा राणाले भनिन्, “नर्सहरूको भूमिकालाई स्वास्थ्य सेवकका रुपमा मात्र सीमित नराखी एक प्रशिक्षित स्वास्थ्य अभियन्ताका रुपमा विकास गर्नुपर्दछ । नेपालमा समावेशी, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा प्रणालीका लागि नर्सहरुको यो भूमिका आवश्यक छ ।”
उनले नेपालमा ‘सेफ मदरहुड नेटवर्क’मार्फत मातृ तथा शिशु स्वास्थ्यका क्षेत्रमा आफूले विगतदेखि गर्दै आएको अभियानको स्मरण गर्दै अहिले भने नेपालमा मातृ स्वास्थ्यका क्षेत्रमा धेरै सुधार भएको र त्यसमा थप प्रगतिका लागि नर्सिङ पेसालाई समयानुकूल सुविधासम्पन्न बनाई विकास गर्दै लैजानुपर्नेमा जोड दिईन्।
डा राणाले नर्सिङजस्तो महत्वपूर्ण र संवेदनशील विषयका स्नातकहरुलाई आफ्नो अध्ययनलाई थप अब्बल र व्यावहारिक बनाउन एवं नरम व्यवहार तथा सेवामार्फत बिरामीहरुको आशा र भरोसाको केन्द्रमा रहेर काम गर्न सुझाव पनि दिईन् ।
नेपाली नर्सहरु विदेश गइरहेको वर्तमान अवस्थाप्रति उनले भनिन्, “यहाँहरुले राम्रो अवसर पाएरै विदेश गइरहनुभएको होला, त्यसमा म केही भन्दिन । तर पनि विदेशमा रहँदा त्यहाँको ज्ञान र सीप बटुलेर स्वदेश फर्किनुहोला । यो देशमा यहाँहरुको सख्त खाँचो छ ।”
ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया