ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बिमा
ललितपुर । ललितपुर महानगरले महानगरभित्रका एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बिमा गरिदिएको छ । महानगरपालिकाले बुधबार स्वास्थ्य बिमा बोर्डसँग स्वास्थ्य बिमाको प्रिमियम व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेर प्रिमियमबापत रु एक करोड भुक्तानीसमेत गरिएको जनाएको छ ।
समझदारीपत्रमा महानगरप्रमुख चिरीबाबु महर्जन र बिमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार महानगरले नगर प्रहरी, महानगरका सरसफाइकर्मी, सवारीचालक र महानगरमा बसोबास गर्ने एकल महिला र टोल स्वास्थ्य उत्प्रेरक (टिएचपी)को स्वास्थ्य बिमाबापतको शत्प्रतिशत प्रिमियम महानगरले तिर्ने छ । महानगरले पाटन अस्पतालसँगको प्राविधिक सहयोगमा स्वास्थ्य बिमा कार्यक्रम दुई वर्षअघि देखि सुरु गरेको थियो ।
महानगरप्रमुख चिरीबाबु महर्जनले महानगरवासीको स्वास्थ्य उपचारका लागि हरसम्भव प्रयास गरिएको बताए । “हामीले पाटन अस्पतालसँग सहकार्य गरेर बिरामीको शय्यासम्म अक्सिजन व्यवस्थापनका लागि सहज बनाएका छौँ, लास व्यवस्थापन गर्न ‘मर्चरी हाउस’को व्यवस्थापनका लागि सुविधा प्रदान गरेका छौँ । यो देशकै नमूना भएको छ, स्वास्थ्य क्षेत्रमा विषयविज्ञ चिकित्सकको अभाव र लापरबाही हुनुहुँदैन, यसमा हामी यसमा सचेत छौँ”, उनले भने ।
महानगरप्रमुख महर्जनले स्वास्थ्य बिमाको उपचारका लागि स्वास्थ्य केन्द्रको व्यवस्थापन गरिएको र २१० जनाको क्षमता भएको ठाउँमा ३०० भन्दा बढीले दैनिक सेवा लिन आउने गरेको बताए । “स्वास्थ्य बिमा बोर्डसँग गरेको यो सम्झौताले थप दायित्व सृजना गरेको छ । मुलुकको पायोनियर अस्पतालसँग समन्वय गरेर केही हदसम्म काम गरेका छौँ, भविष्यमा पनि राम्रो काममा सहकार्य गर्नेछौँ” उनले भने ।
बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले महानगरबाट राम्रो कामको थालनी भएको बताए । “अरू ७५२ स्थानीय तहले पनि यसबाट सिक्नुपर्ने हुन्छ, ललितपुरले छुट्टै छवि कायम गरेको छ । विगत केही वर्षदेखिको कार्यसम्पादनले आफ्नो भूमिकालाई बलियो रुपमा स्थापित गरेको छ”, उनले भने ,“स्वास्थ्य बिमामा नसक्ने भुइँ तहमा रहेका लाखौँ नागरिक जोडिएका छन्, यसलाई राज्यले चाहेर पनि खोस्न सक्दैन । स्वास्थ्य बिमा ७५३ पालिका र सात प्रदेशका बेसहाराहरुको साहारा बन्दै गएको छ । नागरिकको बिमा गराउने नमूना काममा ललितपुर महानगर लागेकामा खुसी छौँ ।”
पाटन अस्पतालका निर्देशक रवि शाक्यले ललितपुर महानगरको सहयोगमा देशकै आधुनिक शव व्यवस्थापन गृह व्यवस्थापन गरिएको र यसमा स्वास्थ्य बिमामा पनि महानगरले उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गरे ।
ताजा अपडेट
- नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा थापा
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया