गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
काठमाडौं । सुदूरपश्चिम प्रदेशको एक विकट जिल्ला बझाङ । जहाँ आधारभूत सुविधा पाउन पनि कठिन हुन्छ । त्यहीँबाट आफ्नो जीवनको ठूलो सपना बोकेर अघि बढेका व्यक्ति हुन्–डा. सन्दिप ओखेडा ।
गाउँको सामान्य परिवेश, सीमित अवसर र कठिन जीवन–यात्रा बीच पनि शिक्षा र सेवा भावनालाई जीवनको मूल मन्त्र बनाएर हिँडेका उनी आज सुदूरपश्चिम प्रदेशकै पहिलो मेडिकल सुपरिन्टेन्डेन्ट बन्न सफल भएका छन् ।
२०४८ साल जेठ २ गते बझाङको जयपृथ्वी नगरपालिका अन्तर्गतको पाडेन गाउँमा जन्मिएका डा.ओखेडाको बाल्यकाल ग्रामीण कठिनाइसँगै बित्यो । तर सानै उमेरदेखि उनीमा शिक्षाप्रति गहिरो लगाव थियो ।
आफ्ना साथीहरूले खेलकुदलाई प्राथमिकता दिँदा पनि उनले किताब र पढाइलाई जीवनको आधार माने । परिवारको आर्थिक अवस्था सामान्य भए तापनि, छोरामा रहेको ज्ञानप्रतिको चाहना देखेर उनका अभिभावकले सकेसम्म सहयोग गरे । यही कारणले उनको प्रारम्भिक शिक्षाको यात्रा गाउँकै बालबिकास इङ्लिस स्कुलमा सुरु भयो । कक्षा १ देखि ५ सम्म उनले त्यहीँ अध्ययन गरे ।
यसपछि उनले सत्यवादी माध्यमिक विद्यालय, भोपुर, बझाङमा अध्ययन गर्दै कक्षा १० सम्मको शिक्षा पुरा गरे । जिल्लाको शैक्षिक अवस्था त्यति सहज थिएन । तर, कठिनाइ बीच पनि डा। ओखेडा उत्कृष्ट विद्यार्थीका रूपमा स्थापित भए । मेहनत, लगन र अटुट आत्मविश्वासका कारण उनले जिल्ला भित्रकै उदाहरणीय विद्यार्थीको पहिचान पाउन सफल भए ।
कक्षा ११ र १२ को लागि उनी पोखरा गए । जनप्रिय बहुमुखी क्याम्पसमा विज्ञान संकाय रोज्दै उनले प्रथम श्रेणीमा सफलता हासिल गरे । यिनै उपलब्धिहरूले उनको भविष्यको बाटो बनायो । नेपाल सरकारले प्रदान गर्ने छात्रवृत्तिमा उत्तीर्ण भएपछि, उनले काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्ने अवसर पाए ।
राजधानीको वातावरण गाउँभन्दा भिन्न थियो । तर, उनले त्यहाँ पनि आफ्नो पढाइप्रति निरन्तरता कायम राखे । मेहनतको फलस्वरूप उनले चिकित्सकको डिग्री हात पार्दै आफ्नो जीवनको ठूलो लक्ष्य पुरा गरे ।
२०७४ सालमा डा. ओखेडा सरकारी सेवामा प्रवेश गरे । सुरुवातमा उनले तत्कालिन महाकाली अञ्चल अस्पताल, महेन्द्रनगरमा ६ महिना सेवा दिए । त्यहाँको अनुभवले उनलाई जनस्वास्थ्यका समस्या प्रत्यक्ष बुझ्ने अवसर दिलायो ।

त्यसपछि उनले बझाङको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा गर्न थाले । गाउँले जनताको जीवनस्तर, रोग–व्याधि र स्वास्थ्य सेवाको अवस्था देख्दा उनले चिकित्सकको वास्तविक भूमिका के हो भन्ने अनुभूत गरे ।
तीन वर्षसम्म जिल्ला अस्पताल बझाङमा रहँदा उनले धेरै सुधारात्मक पहल गरे । सीमित स्रोत र पूर्वाधारका बाबजुद पनि उनले स्वास्थ्य सेवामा गुणस्तर ल्याउने प्रयास गरे । बिरामीलाई समयमै उपचार, सर्जरी सेवा विस्तार र जनस्वास्थ्य सचेतनामूलक कार्यक्रम सञ्चालनमा उनले महत्वपूर्ण योगदान दिए । यसबीच उनले बुझ्न सके—गाउँमै रहँदा पनि ठूलो परिवर्तन सम्भव छ । यदि चिकित्सकले आफ्नो पेशाप्रति निष्ठा देखाए ।
सरकारी छात्रवृत्तिमै उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा जनरल सर्जरी विषयमा एमएस अध्ययन गर्ने अवसर पाए । उच्च अध्ययनको क्रममा उनले आफ्नो सीपलाई अझ परिष्कृत मात्र गरेनन्, ग्रामीण क्षेत्रमा आवश्यक पर्ने स्वास्थ्य सेवाको गहिरो बोध पनि गरे । अध्ययन सम्पन्न गरेपछि २०८२ साल बैशाखमा उनी पुनः आफ्नै जिल्ला बझाङ फर्किए ।
यो निर्णय सामान्य थिएन । किनकि धेरै चिकित्सक उच्च शिक्षा लिएपछि राजधानी वा सुविधा सम्पन्न ठाउँ रोज्छन् । तर, डा। ओखेडाले भने गाउँमै फर्किएर जनताको बीच बस्नु नै ठूलो उपलब्धि ठाने ।

हालै प्रदेश सरकारको तर्फबाट भएको बढुवामा उनले मेडिकल सुपरिन्टेन्डेन्ट सेवा समूहमा नवौं तहमा नाम निकाल्दै सुदूरपश्चिम प्रदेशकै पहिलो मेडिकल सुपरिन्टेन्डेन्ट बन्ने सौभाग्य प्राप्त गरे । यो पदसहित उनी केवल चिकित्सक मात्र नभई प्रशासनिक तथा नेतृत्व तहमा पनि प्रदेशका लागि योगदान गर्ने अवसरमा पुगेका छन् ।
डा। ओखेडा भन्छन्, ‘विद्यार्थीकालमै मेरो सोचाइ थियो । यदि सरकारको सहयोगमा पढिन्छ भने त्यो लगानी देश र जनताको सेवा गरेर तिर्नुपर्छ । म डाक्टर त भएँ, तर त्यो डिग्रीको मूल्य तब मात्र हुन्छ जब म त्यो सीप गाउँलेका लागि खर्चिन्छु ।’
उनको जीवनयात्रा युवाहरूका लागि प्रेरणाको स्रोत हो । उनले प्रमाणित गरेका छन् कि कठिनाइलाई जितेर पनि समाजका लागि ठूलो योगदान गर्न सकिन्छ । सरकारी छात्रवृत्ति, ग्रामीण जीवनको अनुभव, काठमाडौँको शैक्षिक संघर्ष र फेरि गाउँ फर्किएर सेवा गर्ने भावनाले उनी एक अद्वितीय व्यक्तित्वका रूपमा स्थापित भएका छन् ।
डा. ओखेडाको कथा केवल व्यक्तिगत सफलता मात्र होइन । यो सन्देश पनि हो कि, यदि दृढ इच्छाशक्ति छ भने गाउँकै छोराछोरीले पनि विश्वस्तरीय शिक्षा लिन सक्छन् र आफ्नो सीप आफ्नै गाउँतिर फर्काउन सक्छन् । समाज, देश र जनताप्रतिको निष्ठा नै जीवनको वास्तविक उपलब्धि हो भन्ने उदाहरण डा. ओखेडा बनेका छन् ।
ताजा अपडेट
- स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
- चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
- सेती प्रादेशिक अस्पतालमा निः शुल्क जलन उपचार शिविर हुदै
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- कुष्ठरोग प्रभावितसँग सम्बन्धित नीति तथा कानुन पुनरावलोकन गर्न सुझाव
- स्वास्थ्य मन्त्रीको सुदूरपश्चिम भ्रमण : शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन
- सुदूरपश्चिमका बालबालिकामा पोषणको ‘स्मार्ट सर्वेक्षण’
धेरैले पढेको
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- डडेल्धुरा अस्पताल : आकस्मिक बाहेक सबै सेवा बन्द
- गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु
- बुद्ध एयर जहाज दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते,छ जना सामान्य उपचारपछि ’डिस्चार्ज’
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : उपकुलपति र रजिष्ट्रार नियुक्त
- मन्त्रिपरीषद बैठक : ११ औं तहका ४ चिकित्सकको जिम्मेवारी हेरफेर


तपाईको प्रतिक्रिया