दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
काठमाडौं । नेपालका दुर्गम भूगोलमा जन्मिएर, त्यही कठिनाइभित्र भविष्य देख्ने व्यक्तिमा पर्छन्, डा. रवीन्द्र भट्टराई ।
जुम्लाको विकट गाउँ लुम्सेरामा जन्मिएर मुगु, हुम्ला, हुँदै अहिले सुदूरपश्चिमको दार्चुला अस्पतालको नेतृत्व सम्हाल्न पुगेका उनी केवल चिकित्सक मात्र होइनन्, दुर्गमका सपनालाई सम्भावनामा बदल्ने नाम समेत बनेका छन् ।
डा. रवीन्द्र भन्छन्, ‘दुर्गममा जन्मेको, हुर्केको भएर पनि होला यतैको परिवेश बढी बुझेको छु । दुर्गममा सेवा दिन पाउँदा निकै खुसी छु ।’
डा. रवीन्द्र भट्टराईको जन्म जुम्लाको तिला गाउँपालिका–३, लुम्सेरा गाउँमा भयो ।
पिता ज्वरिलाल भट्टराई र आमा सत्यदेवी भट्टराईका पाँच सन्तानमध्ये उनी तेस्रो सन्तान हुन् ।
गरिबी, दुर्गमता र द्वन्द्वले भरिएको त्यो गाउँमा हुर्कँदै गर्दा उनले जीवनको कठिन यथार्थ नजिकबाट बुझे । बाल्यकालमै उनले आफ्ना बुबालाई औषधि बेच्दै गरेको देखेका थिए ।
वि.स. २०५१–०५२ सालतिर बुबाले स्वास्थ्य सहायकको तालिम लिएर औषधि पसल चलाउँदा, उनले पहिलो पटक ‘चिकित्सक बन्ने’ सपना देखेका थिए । योसँगै डा. रवीन्द्रको गालामा सानै उमेरमा चोट लागेको थियो । जसको उपचारका लागि उनले काठमाडौंसहित भारतमा गएर पनि ३/४ वटा अप्रेशन गर्नु पर्यो । सो समयमा आफ्नै उपचारका लागि भोग्नु परेको दुःख सम्झेर उनलाई भविष्यमा डाक्टर नै बन्नुपर्छ भन्ने सोच आएको थियो ।
उनको बाल्यकाल त्यतिमा मात्रै सीमित रहेन । माओवादी द्वन्द्वको समयमा तीनपटकसम्म घरमा औषधि लुटिएको सम्झना अझै ताजै छ । एकपटक त बम हानेर घर नै उडाइएको उनी बताउँछन् ।

यी सबै घटना, परिघटनाले रवीन्द्रलाई विचलित नभएर अझ बढी दृढ बनायो । फलस्वरुप अहिले नेपाली स्वास्थ्य जगतले जुम्लाको लुम्सेराका रवीन्द्रलाई मेडिकल अधिकृतका रुपमा पाएको छ ।
डा. रवीन्द्रको प्रारम्भिक पढाइ जुम्लाकै सरस्वती माध्यामिक विद्यालय, कुडारीबाट सुरु भयो । एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भएर उनले नासा इन्टरनेशनल कलेजबाट विज्ञान संकाय अध्ययन गरे ।
पछि सरकारी छात्रवृत्तिमा मणिपाल मेडिकल कलेजबाट एमबीबीएस पढ्न पाए । त्यो उनी मात्र होइन, सम्पूर्ण जुम्ला क्षेत्रकै लागि गर्वको विषय बन्यो । एमबिबिएस सकेपछि उनले छात्रवृत्तिअनुसार मुगुमा सेवा गरे ।
त्यसपछि पोखरामा पनि केही समय काम गरे । यसबीचमा उनले विभिन्न सरकारी सेवाको तयारी थाले । गण्डकी प्रदेश लोकसेवामा वैकल्पिकमा परेका उनले नेपाल प्रहरीको प्राविधिक अधिकृत परीक्षासमेत पास गरे । केही समय नेपाल प्रहरीमा काम गरेका डा. रवीन्द्र कर्णाली प्रदेश लोकसेवाबाट पनि छनोट भए । पछि, संघीय लोकसेवामा पनि नाम निस्कियो ।

अन्ततः उनले संघीय सरकारको मेडिकल अधिकृत पद स्वीकारे । डा. रवीन्द्रका दाजु र भाइ पनि सरकारी सेवामा छन् । एक परिवारका तीन जना राज्यसेवामा हुनु सानो कुरा होइन । यो उनको पारिवारिक चेतना र अनुशासनले प्राप्त भएको उपलब्धी पनि हो ।
डा. रवीन्द्र अहिले दार्चुला जिल्ला अस्पतालको प्रमुख (मेडिकल अधिकृत) को रूपमा कार्यरत छन् । दार्चुला अस्पतालको कमाण्ड सम्हालेका उनीसँग धेरै योजनाहरू छन् । स्वास्थ्य पहुँच सुधार, सेवा सरल बनाउने, जनशक्तिको व्यवस्थापन र जनताको विश्वास जित्ने गरी काम गर्ने उनी बताउँछन् ।
‘सरकारी अस्पतालप्रतिको विस्वास बढाउने गरी काम गर्ने योजना बनाएको छु,’ उनले भने, ‘विशेषज्ञ सेवा उपलब्ध गराउनेतर्फ पनि मेरो विशेष जोड रहन्छ ।’
दार्चुला जस्तो दुर्गम ठाउँमा सबै प्रकारका स्वास्थ्य सेवा प्रदान गर्न सम्भव छैन । जनशक्ति र उपकरण अभावका कारण सबै सेवा सम्भव नभएपनि बाल सेवा, हार्डजोर्नी लगायत केही विशेषज्ञ सेवा दिने प्रण डा. रवीन्द्रको छ । दार्चुला अस्पतालमा एमडीजीपी डाक्टरसहितको सेवा सुरु गरिसकेको उनले बताए ।
दार्चुला अस्पतालमा कम खर्चमा बढी भन्दा बढी गुणस्तरिय सेवा प्रदान गर्नका लागि आफ्नो कार्यकाल समर्पित गर्ने डा. रवीन्द्र भट्टराईको भनाइ छ ।
ताजा अपडेट
- ‘जेनजी’ प्रदर्शनका घाइतेलाई मनोपरामर्श सेवा दिने नवनियुक्त स्वास्थ्यमन्त्रीको पहिलो निर्णय
- मन्त्रिपरिषद् विस्तारः स्वास्थ्यमन्त्रीमा डा गौतम
- अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
- जेनजी आन्दोलनका घाइते भन्छन् : घाउले भन्दा बढी चहर्याउँछ चाडबाडको सम्झनाले
- यमपञ्चक, न्हूदँया भिन्तुना र छठमा स्वास्थ्य सावधानी
- मनाङमा जलवायु परिवर्तनको प्रभावः सङ्कटमा चौँरी खर्क
- विपीन जोशी: गाजामा मारिए, महाकालीमा बिलाए
- ‘जेनजी’ आन्दोलनका घाइतेलाई ४८ लाख भैपरी खर्च निकासा
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार


तपाईको प्रतिक्रिया