जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…
कैलाली । यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ ।
कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।
गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर” भनेर सम्बोधन गर्छन् । तर उहाँ न त डाक्टर न वैद्य नै हुनुहुन्छ । जम्मा कक्षा दुईसम्म मात्रै औपचारिक शिक्षा लिएका उनको हातमा भने अनौठो सीप छ, जसले कैयौँ हाडजोर्नी, नसा र मांसपेशीसँग सम्बन्धित बिरामी निको पार्दै आएका छन् ।
हड्डी भाँचिएका, नसा च्यापिएका वा मांसपेशी सरेर दुखाइले थलिएका मानिस उनी कहाँ आउँछन् । उनले हातैले छामेर बिरामीको समस्या पत्ता लगाउछन् । छामेरै भन्छन्, “यो हड्डी त सरेछ, यो नसा त च्यापिएछ ।” त्यसपछि उपचार गर्छन् । आजसम्म कति बिरामी निको पारे भन्ने यकिन तथ्याङ्क छैन ।
त्यसो त उनले यो सीप संयोगले प्राप्त गरेका होइनन् । उनका हजुरबुवा गाउँका प्रसिद्ध वैद्य थिए । बाल्यकालमै हजुरबुवाको उपचार कला हेर्दैहेर्दै उनमा पनि त्यसप्रति गहिरो लगाव सुरु भयो । हजुरबुवाले बिरामीको हड्डी मिलाउँदा सँगै बसेर हेर्ने र कहिलेकाहीँ आफ्नै हातले बिरामी छाम्न लगाउने गर्दर्थे । त्यही क्रममा हातमा सीप बस्दै गयो । हजुरबुवाको निधनपछि त्यो सीप परिवारमै हराउन नदिन उनले निरन्तर अभ्यास गरे। अहिले त्यही सीप उनको परिचय बनेको हो ।
४० वर्ष भन्दा बढी भयो उहाँले यो सीपको प्रयोगबाट धेरैलाई सेवा दिइरहेको । उनको घरमा दैनिक एक सयभन्दा बढी बिरामी आउँछन् । कतिपय बिरामी त यस्ता हुन्छन्, जसले अस्पतालमा उपचार गर्दा पनि निको भएका हुँदैनन् ।
कठरियाको उपचार शैली पनि सरल छ । उहाँसँग कुनै औषधि छैन, न त कुनै अत्याधुनिक उपकरण । उनको हात, सीप र अनुभव नै औजार हो । बिरामीलाई छामेर, समस्या भएको ठाउँमा सन्तुलित तवरले दबाएर र सावधानीपूर्वक नसा र हड्डी मिलाउछन् । उनको उपचारपछि बिरामी तुरुन्तै राहत महसुस गर्छन् । उनका लागि बिरामी निको पार्नु व्यापार होइन, जिम्मेवारी हो । त्यसैले उनले उपचारको शुल्क निर्धारण गरेका छैनन् । बिरामीले आफ्नो गक्षअनुसार पैसा दिन्छन् । उनले धन्यवादसहित ग्रहण गर्छन् ।
भजनीका भागिलाल चौधरी आफ्नो अनुभव सुनाउँदै भन्छन्, “मेरी श्रीमती १२ वर्षदेखि नसा च्यापिएको समस्याले पीडित थिइन् । कति अस्पतालमा लग्यौँ, निको भइनन् । अन्तमा रामदास कहाँ आएपछि पूरै निको भइन् ।” हरेक गाउँमा उनले उपचार गरेका अनेकौँ उदाहरण छन् । उठ्न, बस्न, हिँड्न नसक्ने मानिस पनि उहाँकहाँ आएर निको भएर फर्किएका प्रशस्त उदाहरण छन् ।
उपचारमा उहाँ प्राय आफैँले बनाएका स्थानीय सामग्री प्रयोग गर्छन् । कहिलेकाहीँ मेडिकलबाट पनि आवश्यक सामग्री किन्न लगाउछन् । आफूकहाँ उपचार गर्न आउने अधिकांश बिरामी कमजोर आर्थिक अवस्था भएका हुने उनीबताउछन् । उनका लागि यस्ता बिरामीको उपचार गर्नु नै धर्म हो । “मलाई पैसा होइन, सन्तुष्टि चाहिएको हो,” उनी भन्छन्, “उपचार पछि बिरामीले भन्छन् अब म ठिक छु, त्यही नै मेरो सबैभन्दा ठूलो खुशी हो ।”
उनी आफ्नो सीप आगामी पुस्ताले सिकुन् भन्ने चाहान्छन् । उनले केही स्थानीय युवालाई सिकाउनु पनि भयो, तर उनीहरूले नियमित अभ्यास गरेनन् । उनी भन्छन् “अब म चाहन्छु कोही कसैले लगन र धैर्यताका साथ यो सीप सिकोस, ताकि म पछि पनि धेरैलाई यसबाट फाइदा पुगोस् ।”
ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया