Techie IT
  • सोमबार, कात्तिक १०, २०८२ / Monday, October 27, 2025
गृहपृष्ठडाक्टर्स आर्टिकलध्वनि चिकित्सा पद्धतिको प्रभावकारिता

ध्वनि चिकित्सा पद्धतिको प्रभावकारिता

राजाराम पाण्डे : ध्वनि उपचार विशेषज्ञ


काठमाडौँ । ध्वनि भनेको ब्रह्माण्डको मौलिक ऊर्जा हो, जसको प्रभाव हाम्रो शारीरिक, मानसिक, भावनात्मक, र आध्यात्मिक पक्षमा प्रत्यक्ष रूपमा देखिन्छ ।

धार्मिक मन्त्र, भजन, बाजा, ओंकार र प्राकृतिक स्वरहरूमार्फत शरीर र आत्मालाई सन्तुलित राख्ने साधनको रूपमा मानव सभ्यताको आदि कालदेखि नै ध्वनि विविध रूपमा प्रयोग हुँदै आएको छ ।

यो एक शुद्ध ब्रह्माण्डीय ऊर्जाको वैज्ञानिक, सूक्ष्म र सजीव प्रक्रिया हो । जसले शरीरका ऊर्जा केन्द्र (चक्रहरू) लाई सन्तुलनमा ल्याएर समग्र स्वास्थ्यमा सुधार ल्याउँछ ।

ध्वनि चिकित्सा केवल प्राचिन विषय मात्र होइन, यो विज्ञानसँग प्रत्यक्ष जोडिएको विषय हो । न्यूरो–साइन्सका अध्ययनहरूले देखाएका छन् कि ध्वनिका निश्चित आवृत्तिहरूले मस्तिष्कका अल्फा, थिटा र डेल्टा तरङ्गहरू सक्रिय गर्छन्, जसले गहिरो ध्यान, विश्राम र आत्म–उपचारको अवस्था ल्याउँछ ।

वैद्धिक ध्वनि चिकित्साको सबैभन्दा सुन्दर पक्ष के हो भने यो कुनै बाह्य वस्तुमा निर्भर छैन । जब हामी वैद्धिक ध्वनिको माध्यमबाट आफ्नै भित्री तरङ्गमा फर्किन्छौं, शरीर आफैंँ उपचार हुन थाल्छ । ध्वनिले बाहिर होइन, भित्र फर्कन सिकाउँछ ।

यसैले ध्वनि चिकित्सा केबल रोगको उपचार होइन, आत्म–बोध र परम आनन्दको यात्रा हो । जब मन शान्त हुन्छ, शरीर आफैं निको हुन्छ । ध्वनि त्यो कुञ्जी हो, जसले शरिर स्वस्थ र मनको परम आनन्दको ढोका खोल्छ ।

आजको मानव ध्वनि प्रदूषण, तनाव, सामाजिक दबाब र मानसिक दवाव बीच बाँचिरहेको छ । औषधिले शरीरलाई ठिक बनाउन सक्छ, तर मनको पीडालाई निको पार्न सक्दैन । ध्वनि चिकित्सा मनको तहमा पुग्ने उपचार हो ।

यसले भावनात्मक घाउहरू, डर, चिन्ता, निराशा, क्रोध र अशान्तिलाई गहिरोसँग पगाल्छ र मनलाई शान्त बनाउँछ । ध्वनि तरङ्गहरूले मस्तिष्कलाई ध्यान–अवस्थामा पु¥याउँछ । शरीर रिल्याक्स हुन्छ र हार्मोन सन्तुलित रहन्छ ।

लगातार ध्वनि सत्रहरूमा सहभागी हुने व्यक्तिले गहिरो, शान्त र प्राकृतिक निद्रा अनुभव गर्छन् । ध्वनिले मनका नकारात्मक विचारहरू सफा गरी चेतनामा उज्यालो ल्याउँछ । सात चक्रहरूको सन्तुलनले सम्पूर्ण शरीरमा ताजगी र शक्ति ल्याउँछ ।

ध्वनि चिकित्सा के हो त ?

आजको युग विज्ञान र प्रविधिको चमत्कारिक प्रगतिले भरिएको युग हो । यद्यपि, बाहिरी रूपमा विकासको उचाइमा पुगेको मानव भित्री रूपमा असन्तुलित, तनावग्रस्त र असन्तुष्ट बन्दै गएको छ ।

अस्पतालहरूमा रोगीहरूको भीड बढ्दैछ, औषधि उद्योग बढ्दैछन् तर मानिसभित्रको शान्ति हराउँदै गएको छ । यही असन्तुलनलाई सन्तुलनमा ल्याउने प्राकृतिक, औषधिविहीन र वैज्ञानिक उपचार पद्धति हो—ध्वनि चिकित्सा ।

ध्वनि वस्तुको कम्पनबाट कम्पनको परिणामस्वरुप उत्पन्न हुने ऊर्जा हो, जसलाई कानले ग्रहण गर्छ र मस्तिष्कले अनुभवका साथ शरीरका ऊर्जाको केन्द्रहरूमा प्रसारण गरेर आफ्नो केन्द्र ऊर्जावान र सन्तुलित बनाउँछ ।

ध्वनिको उत्पत्ति एवं विकास क्रममा ब्रह्माण्डको सबै कुरा ध्वनि कम्पनले गुन्जिरहेको छ । ध्वनि शक्ति चेतना र ब्रह्माण्डसँगको सम्बन्धको रुपमा रहेको छ ।

ध्वनि चिकित्सा साधारण भाषामा औषधि बिना प्रकृतिबाट गरिने प्रभावकारी उपचार पद्धति हो । यसरी ब्रह्माण्डको मौलिक र विशुद्ध कम्पन प्रकृतिले दिएको उपहार ऊर्जालाई ग्रहण गरेर मानव शरीरमा प्रसारण गरेर गरिने उपचार पद्धति ध्वनि चिकित्साअन्तर्गत पर्दछ ।

यसरी उपचार गर्दा शरीरका विभिन्न केन्द्रहरू पूर्णरुपमा स्वच्छ हुन्छ र मान्छेहरू परम आनन्द र स्वच्छमय जीवन जिउन पाउन सक्षम हुन्छन् । मानव सभ्यताको आदि कालदेखि नै विविध रूपमा प्रयोग हुँदै आएको ध्वनि चिकित्सा पद्धति र यसको महत्व बृहत्तर छ ।

विश्वमा ध्वनी चिकित्साको प्रयोग कस्तो छ ?

प्राचीनकालदेखि नै विभिन्न देश, जात जाति, धर्म संस्कृती समुदायले शरिर आत्मालाई निको पार्न संगीत र गायन प्रयोग गर्दै आएका छन् ।

विश्वका विभिन्न भूभागमा उदाएका सभ्यता र संस्कृतिले ध्वनि चिकित्सालाई आआफ्नै तरिकाले बुझ्दै र अभ्यास गर्दै आएका छन् । ध्वनि उपचारको प्रमुख उद्देश्य शरीर र मनमा रहेका विकारलाई निकालेर फाल्नु नै हो ।

वेदका ऋचामा औषधीय गुण भए जस्तै अन्य भाषाका शब्द वा साहित्यको उचारण वा पाठ गर्नाले सकारकात्मक भाव पैदा हुन्छ । शरीरमा सन्तुलन र मनमा सद्भावको विकास हुन्छ । आयुर्वेदले सङ्गीतको चिकित्सकीय गुणहरूलाई पनि मान्यता दिएको छ ।

आयुर्वेदमा विशेष राग–तालहरूको मद्दतले विभिन्न रोगहरूबाट छुटकारा पाउन सकिने कुरा उल्लेख छ । भारतवर्षमा पनि योगीहरूले दिमागलाई शान्त पार्न ध्वनिका तरङ्गलाई सुन्ने गरेको विभिन्न ग्रन्थहरूमा उल्लेख पाइन्छ ।

ध्वनिको माध्यमबाट गरिने उपचारलाई नादयोग भनियो । नादयोगको विकाससँगै ध्वनि चिकित्साको विकास भयो । नादयोग एक प्रकारको गहिरो आध्यात्मिक अभ्यास हो । यसले पुर्वीय दर्शनमा लामो इतिहास बोकेको छ ।

नादयोगमा ध्वनि कम्पनहरूलाई ध्यान र चेतना विकास गर्न प्रयोग गरिन्छ । यसले आध्यात्मिक जागरण र आत्म–अनुभूति प्रदान गर्छ । नादयोगले मानव शरीरभित्रका नाडी र चक्रहरूलाई सक्रिय र सन्तुलनमा राख्न मद्दत गर्छ । यसले प्राण अर्थात् जीवन शक्तिको प्रवाहलाई पनि सहज बनाउँछ ।

शिख धर्मका संस्थापक गुरु नानकले आफ्नो शिक्षामा नादयोगको महत्वलाई जोड दिएका थिए । ईश्वरीय नामको जपका साथसाथै भजन र कीर्तनको अभ्यासले शिखहरूलाई ध्वनिको माध्यमबाट ईश्वरसँग जोडिन सघायो ।

सङ्गीतको मन्त्र रोगको उपचारको लागि प्रभावकारी तरिका हुनसक्ने कुरामा पुरातन इजिप्टियनहरूले विश्वास गर्थे । अमेरिकी जनजातिहरूले पनि निश्चित आवाजहरूमा निको पार्ने शक्तिहरू रहेको कुरालाई मान्थे ।

सबै भूगोलमा ध्वनि उपचारको काम र उद्देश्य एकै भए पनि उपचारका क्रममा प्रयोग गरिने उपकरण र प्रविधिमा भने भिन्नता रहेको पाइन्छ ।

एक्युपंक्चर उपचार विधिसँगै चीनमा परम्परागत ध्वनि चिकित्साको पनि विकास भयो । कतिपय चिकित्सकहरूले एक्युपंक्चरको प्रभावकारिता बढाउनका साथै ऊर्जामा सन्तुलन ल्याउन सांगीतिक धुन र वाद्ययन्त्रहरूको पनि प्रयोग गर्ने गर्दछन् ।

तिब्बतमा पनि ध्वनि उपचार प्रख्यात छ । त्यहाँ बौद्ध धर्मावलम्बीमा ध्वनिलाई ध्यान र उपचारको उपकरणको रूपमा प्रयोग गरिएको छ । प्राचीन गाउने कचौराहरूमा तिब्बती अक्षर खोपिएको भेटिनुले पनि तिब्बतमा ध्वनि चिकित्सा अभ्यासमा रहेको पुष्टि गर्छ ।

ती कचौराबाट उत्पन्न हुने कम्पनले शरीर र दिमागमा उपचारात्मक प्रभाव पार्छ । यद्यपि तिब्बती कचौराको खास उत्पत्ति नेपालको भूमिमा भएको हो ।

फिजी, भानुआटु, सामोआ, टोंगालगायतका प्यासिफिक टापुहरूमा परम्परागत संगीत सुन्ने, पोलिनेसियन ड्रम बजाउने र जप गर्ने अभ्यास रहेको पाइन्छ । त्यहाँका आदिवासी ध्वनिमार्फत् आफूलाई वरिपरिको वातावरण र पुर्खाहरूसँग जोड्ने अभ्यास गर्छन् ।

अष्ट्रेलियाका आदिवासीले ४० हजार वर्ष अघिदेखि नै ध्वनि उपचार अभ्यास गर्दै आएको छन् भनिन्छ । डिजेरिडू नामक वाद्यवादनलाई उनीहरूले विभिन्न सांस्कृतिक अनुष्ठानमा बजाउने गर्दथे ।

त्यो बाजाको आकार नेपालमा बजाइने कर्नाल बाजा जस्तै एकातिर सुरिलो र अर्को तिर फुकेको हुन्छ । डिजेरिडू बाजाबाट निस्कने ध्वनिमा रोग निको पार्ने शक्तिशाली क्षमता हुन्छ । त्यस बाजाको ध्वनिले शरीरको मात्र नभई भित्री आत्मालाई समेत सफाइ गर्छ भन्ने आदिवासी मान्यता छ ।

इन्डोनेसियाको बालीमा पनि गेमलान अर्केस्ट्राको आवाजलाई ध्वनि उपचारमा प्रयोग गरिन्छ । ती ध्वनिहरूमा औषधीय गुण हुने र तिनले आध्यात्मिक आरोग्यता प्रदान गर्ने आदिवासी मत आज पनि विद्यमान छ ।

मेक्सिकोमा ध्वनि चिकित्सकले ध्वनिलाई उपचारका रूपमा प्रयोग गर्ने गरेको इतिहास छ । दक्षिण अमेरिकाको एन्डिज क्षेत्रमा क्वेना (बांसुरी) र चारांगो (सानो गिटार) जस्ता वाद्यवादनको प्रयोग गरि ध्वनि चिकित्साको प्रयोग भएको पाइन्छ । उत्तर अमेरिकी संस्कृतिहरूमा ध्वनि उपचारका लागि ड्रम (ढोल)को प्रयोग गर्ने परम्परा छ ।

त्यहाँका आदिवासी यस्तो ध्वनिले शरीर, मन र आत्माको शुद्धि हुन्छ भन्ने मान्छन् । उत्तरी अमेरिकाको आर्कटिक क्षेत्रहरूमा इनुइट गाउने परम्परा छ । यी अभ्यासले मानिसभित्र सन्तुलन कायम गर्न सघाउँछ ।

युरोपमा पनि ध्वनि उपचारको इतिहास शताब्दीऔंदेखि अभ्यासमा छ । रोमका पारम्परिक बाथ हाउस (स्नानघर) हरूमा संगीत र ध्वनि सुन्ने चलन नै थियो । मध्यकालीन र पुनर्जागरण अवधिमा क्रिश्चियन चर्चहरूले युरोपमा ध्वनिको प्रयोगलाई आकार दिन महत्वपूर्ण भूमिका खेले । अफ्रिका महादेशमा पनि ध्वनि उपचारको इतिहास त्यहाँको विविध संस्कृति र परम्पराहरूसँग जोडिएको छ ।

ड्रम बजाउने काम अफ्रिकाभरि आज पनि ख्यातिमा छ । आध्यात्मिकताका लागि अनुकूल वातावरण सिर्जना गर्ने धार्मिक स्थान निर्माण गर्दा ध्वनिलाई पनि सावधानीपूर्वक समावेश गर्ने चलन आज पनि संसारमा छ ।

त्यहाँ ड्रम, जप र संगीतले पुर्खासँग कुराकानी गर्न सहयोग गर्ने र तिनीहरूबाट मार्गदर्शन र आशीर्वाद प्राप्त हुने जनविश्वास छ । भाषा नबुझे पनि ध्वनि बुझ्न सहज छ । भाषा र धर्मको सीमाभन्दा ध्वनि धेरै माथि छ । ध्वनि सर्वव्यापी छ । सहि तरिकाले ध्वनि ग्रहण गर्न जाने स्वस्थ रहन कुनै समस्या हुँदैन ।

सन् १८३९ मा पुसियाका भौतिकशास्त्री हेनरिक विल्हेम डोभले मानिसको स्नायु प्रणालीमा बाइनोरल बिट्सको प्रभाव पत्ता लगाए । त्यतिबेला ध्वनि चिकित्सामा ठूलो वैज्ञानिक सफलता थियो ।

त्यस्तै सन् १८९६ मा अमेरिकी चिकित्सकले सङ्गीतले रक्तप्रवाह र विचार प्रक्रियाहरू सुधार गर्न सक्ने कुरा पत्ता लगाए । ब्रिटिस ओस्टियोप्याथ सर पिटर गाय म्यानर्सले १९५० को दशकमा शरीरका कोशिकाहरूलाई निको पार्न सहयोग गर्ने ध्वनि कम्पन मेसिनको विकास गरे । १९आंै शताब्दीमा सङ्गीतको चिकित्सकीय प्रयोगहरूमा झनै चासो बढ्न थाल्यो ।

नर्स फ्लोरेन्स नाइटिंगेल सङ्गीतले बिरामीको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने मान्यता राख्थिन् । सोही अनुरूप सङ्गीत थेरापी क्षेत्रको उदय भयो ।

बीसौं शताब्दीको मध्यतिर मानिसहरूले वैकल्पिक उपचारको खोज गर्न थाले । यस अवधिमा ध्वनिको चिकित्सकीय सम्भावनालाई लिएर नयाँ अध्ययन र अनुसन्धानक थालिए । गाउने कचौरा, गोङ्ग र अन्य उपकरणहरूको प्रयोगलाई लिएर अन्वेषण पनि गरियो ।

त्यसपछि संगीत थेरापीले व्यावसायिक मान्यता पायो । बीसौं शताब्दीको उत्तराद्र्ध र २१औं शताब्दीको प्रारम्भमा ध्वनि चिकित्सा वैकल्पिक उपचार अभ्यासमा झन् लोकप्रिय बन्न थाल्यो । विश्वका सबै धर्म, दर्शन र विज्ञान एक बुँदामा सहमत छन् सृष्टि ध्वनिबाट प्रारम्भ भएको हो ।

कस्तो हुन्छ यसको उपचार पद्धति ?

ध्वनि उपचारले शरीरको ऊर्जा क्षेत्र र चक्रहरूसँग सीधा सरोकार राख्छ । जब ऊर्जा क्षेत्र र चक्र सन्तुलित हुन्छ मानव शरीर स्वस्थ बन्छ त्यसपछि शरीरले स्वतः आफ्नो प्राकृतिक उपचार क्षमतालाई अभिवृद्धि गराउँछ ।

जब मानिस तनावमा हुन्छ उसलाई भावनात्मक आघात पुग्छ । शरीरका महत्वपूर्ण ऊर्जा क्षीण भएर जान्छ । त्यसले रोगविरुद्ध लड्ने प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ । शरीरले विभिन्न रोगलाई आमन्त्रित गर्छ ।

शरीर रोगप्रति संवेदनशील बन्न पुग्छ । प्राकृतिक रूपमा आपसेआप निको पार्ने शक्ति मानिसको शरीरमा छ । तर ऊर्जाको अभावमा मानिसले त्यो शक्ति गुमाउँछ । यस्तो बेला ध्वनि उपचार वरदान सावित हुन्छ ।

ध्वनि उपचारले मस्तिष्क र स्नायु प्रणालीलाई प्रभाव पार्न विशेष तरङ्गको प्रयोग गर्छ । सोही तरङ्गको फ्रिक्वेन्सीले मस्तिष्क र स्नायु प्रणालीलाई सन्तुलनमा ल्याउँछ । शरीरका ऊर्जा क्षेत्रहरूमा सन्तुलन पुनःस्थापित गर्छ ।

यसरी शरीर र मनमा रहेका अनेकौँ विकारलाई ध्वनि उपचारबाट निराकरण गर्न सकिन्छ । ध्वनि उपचारमा सर्वाधिक प्रयोग हुने विधि भनेको साउण्ड बाथ (ध्वनि स्नान) हो । यो सामान्य प्रकारको ध्वनि थेरापी हो, जसमा चिकित्सकले एक वा बढी ध्वनि कचौरा बजाएर उपचार गर्दछन् । तिब्बती गाउने कचौरा, मन्दिरका घण्टीहरू र सोही प्रकृतिका वाद्ययन्त्रहरूको सहायताले ध्वनि स्नान गरिन्छ ।

ध्वनि स्नानले क्रोध, रिस, चञ्चलता, ईष्र्या जस्ता खराबीबाट छुटकारा दिन्छ । मन र शरीरलाई स्थिर र चङ्गा राख्छ । ध्यानपूर्वक सुन्ने हो भने हरेक ध्वनिको लय, चर्कोपना, आवाज र टोनमा भिन्नता हुन्छ । ध्वनि स्नानले ध्यानको अवस्थामा प्रवेशमात्र गराउँदैन यसले मोक्षको बाटोमा हिड्न सघाउँछ ।

ध्वनि उपचारको अर्को तरिका भनेको ध्वनि गुञ्जन हो । प्रकृतिले सबै मानिसलाई गुन्गुनाउने क्षमता दिएको छ । गुन्गुनाउनु आफैंमा पनि प्राकृतिक उपचार हो । ध्वनि गुञ्जन नाद चिकित्सा पद्धतिको एउटा हाँगा हो ।

ध्वनि गुञ्जनमा आँखा र मुख बन्द गरेर सात चक्रका सात वीज मन्त्र गुन्गुनाउनुपर्छ । यसले मानिसमा सकारात्मक तरंग पैदा गर्दछ । ध्वनि गुञ्जनको कम्पनले शरीरमा विभिन्न हर्मोनको उत्पादन गर्न भूमिका पनि खेल्छ ।

माइग्रेन, टाउको दुखाइजस्ता समस्याको उपचारमा यो पद्धति लाभदायक छ । बिर्सने, डराउने र लाज लाग्ने जस्ता कमजोरी हटाउन पनि यो पद्धतिको उपचार प्रभावकारी मानिन्छ ।

ध्वनि उपचारमा भजन कीर्तनको पनि महत्वपूर्ण स्थान छ । विभिन्न अनुष्ठान तथा रामरमीतामा आयोजित लयात्मक ध्वनिले पनि मान्छेको भावनालाई सवाल बनाउने काम गरिरहेको हुन्छ ।

मनमा एकाग्रता र करुणा विजारोपण गर्न यस्ता ध्वनि शक्तिशाली रुपमा देखा पर्छन् । भाइभ्रेसन÷कम्पन थेरापी अर्को ध्वनि उपचार विधि हो, जसले शरीरको प्राकृतिक उपचार प्रतिक्रियालाई सक्रिय गराउन मद्दत गर्छ । ध्वनि उपचारको अर्को विधि साउण्ड स्पा हो । यसलाई भाइभ्रेसन साउण्ड वा ध्वनि मसाज पनि भनिन्छ ।

यसमा राम्रो कम्पन निकाल्ने कचौरालाई शरीरका मांसपेशीमाथि राखेर हिर्काउने वा घोट्ने गरिन्छ । यसले बेचैनी, टाउको दुखाइ र शरीरका विभिन्न भागका दुखाइबाट मुक्ति दिन्छ । शरीरमा थरीथरीका पीडा हुन्छन् ।

पीडामा मस्तिष्कले शरीरका निश्चित हर्मोनको उत्पादनलाई रोक्न सङ्केत गर्छ । जब राम्रो ध्वनि तरङ्गले शरीरलाई स्पर्श गर्छ शरीरमा व्याप्त भड्काऊ हार्मोनहरूको प्रभाव स्वतः कम हुँदै जान्छ ।

ध्वनिले चेतन मनको गतिलाई कम गराउँछ । जसकारण मानिस परमानन्दको स्थितिसम्म पुग्न सक्छ । ध्वनिकै बलमा साधकहरूले मोक्ष पनि पाउन सक्छन् । महापरीनिर्माणको अनुभूति गर्न सक्छन् ।

तनाव, क्रोध, रिस र भय मनबाट हटाउन, माया, मोह, लोभ र कामना बढाउन ध्वनि सबैभन्दा उपयुक्त माध्यम हो । विभिन्न आवाजका कारण शरीरमा एन्डोर्फिन, सेरोटोनिन, डोपामाइन, अक्सिटोसिन र नोरेपाइनफ्रिन जस्ता रसायन उत्पादन हुन्छ । यी रसायनले विभिन्न भाव सञ्चार गर्न मद्दत गर्छन् । रक्तचाप र हृदयको गति पनि सन्तुलनमा ल्याउँछन् ।

ध्वनिको प्रयोगले आफ्नो भावना माथि नियन्त्रण लिन सकिन्छ । यसले धैर्य गर्ने क्षमतामा विकास गराउँछ । मान्छेमा आत्मविश्वास बढ्छ ।

ध्वनि चिकित्सा भनेको शरीर, मन र आत्मालाई पुनः सामञ्जस्यमा ल्याउने कम्पन आधारित उपचार विधि हो । यो तनमय शरिर र मनमय शरिरको उपचार गर्ने प्रभावकारि उपचार पद्धति हो ।

मानव शरीर आफैं कम्पनशील ऊर्जा प्रणाली हो । शरीरको प्रत्येक अङ्ग, कोष र नसाहरू एक निश्चित आवृत्तिमा कम्पन गरिरहेका हुन्छन् । जब कुनै कारणले त्यो कम्पन असन्तुलित हुन्छ, त्यहाँ रोगको बीउ रोपिन्छ ।

ध्वनि चिकित्सामा स्वर–कम्पन,साउण्ड बाउल, सिङ्गिङ बाउल, गङ, ट्युनिङ फोर्कजस्ता माध्यम प्रयोग गरेर शरीरभित्रको ऊर्जा प्रवाह पुनः सन्तुलित गरिन्छ । यी ध्वनिहरूले शरीरका सात प्रमुख चक्र मूलाधारदेखि सहस्रार चक्रसम्म सीधा प्रभाव पार्छन् ।

नेपाल ध्वनि र ध्यानको पवित्र भूमि हो । हिमालयको मौनता र प्राचिन परम्पराका सिङ्गिङ बाउलहरू यहीँ जन्मेका हुन् । आज विश्वभर ध्वनि चिकित्साको माग बढ्दो छ, तर यसको स्रोत भूमि नेपाल हो भन्ने कुरा धेरैलाई थाहा छैन ।

नेपालले विश्वलाई बुद्धको शान्तिको सन्देश दियो, अब ध्वनिद्वारा स्वास्थ्य र चेतनाको सन्देश दिन सक्छ ।

 



तपाईको प्रतिक्रिया

धेरैले पढेको

error: Content is protected !!