Techie IT
  • मंगलबार, भदौ १६, २०८३ / Tuesday, September 1, 2026
गृहपृष्ठयौन तथा प्रजनन स्वास्थ्यआईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र छुट्टै ऐनको तयारी

आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र छुट्टै ऐनको तयारी

स्वास्थ्य मन्त्रालयमा उच्चस्तरीय विज्ञहरूको छलफल


काठमाडौं। नेपालमा इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवालाई सुरक्षित, गुणस्तरीय र व्यवस्थित बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक कानुनी तथा नीतिगत तयारी अघि बढाएको छ ।

आईभीएफ सेवाको प्रभावकारी नियमनका लागि सञ्चालन कार्यविधि निर्माण गर्ने तथा दीर्घकालीन रूपमा छुट्टै ऐन ल्याउने विषयमा मन्त्रालयले छलफल सुरु गरेको हो ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा शुक्रबार मन्त्रालयमा आयोजित छलफलमा नेपालमा सञ्चालनमा रहेका आईभीएफ सेवाको वर्तमान अवस्था, पूर्वाधार, सेवा मापदण्ड तथा नियमनका विषयमा विस्तृत समीक्षा गरिएको थियो ।

छलफलमा आईभीएफ सेवा सञ्चालनलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन स्पष्ट कार्यविधि आवश्यक रहेको निष्कर्ष निकालिएको थियो । साथै, प्रजनन स्वास्थ्य सेवाको गुणस्तर, सेवाग्राहीको अधिकार र सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन कानुनी आधारका रूपमा छुट्टै आईभीएफ ऐन निर्माण गर्ने विषयमा समेत छलफल भएको थियो ।

सो अवसरमा मन्त्री मेहताले प्रजनन स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सेवाग्राहीको सुरक्षा, उपचारको गुणस्तर तथा नैतिक अभ्यास सुनिश्चित गर्न स्पष्ट कानुनी व्यवस्था अपरिहार्य रहेको बताइन् । उनले आईभीएफ सेवामा हुन सक्ने सम्भावित अनियमितता नियन्त्रण गर्दै सुरक्षित, विश्वसनीय र जिम्मेवार प्रजनन स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्न मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गरिन् ।

बैठकमा हाल सञ्चालनमा रहेका आईभीएफ केन्द्रका लागि आवश्यक न्यूनतम मापदण्ड, अनुमति प्रक्रिया तथा अनुगमन प्रणालीलाई थप प्रभावकारी र व्यवस्थित बनाउने विषयमा समेत विस्तृत छलफल भएको थियो।
छलफलमा डा. श्रीप्रसाद अधिकारी, डा. ज्योति थापा तथा डा. बिनिता थापालगायत विज्ञहरूको सहभागिता रहेको थियो ।



तपाईको प्रतिक्रिया

error: Content is protected !!