गाउँमै स्वास्थ्य उपचार पाएपछि स्थानीय खुसी
भेरीगङ्गा (सुर्खेत) । सुर्खेत सिम्ता गाउँपालिका–८ का भीमबहादुर खत्री लामो समयदेखि हाडजोर्नीको समस्याबाट पीडित हुनुहुन्थ्यो । उपचार गर्न सिम्ताबाट कि वीरेन्द्रनगर जानुपथ्र्यो या नेपालगञ्ज । सिम्ताबाट वीरेन्द्रनगर आउन ८० किलोमिटर यात्रा गर्नुपर्छ भने नेपालगञ्जबाट एक सय ५० किलोमिटर ।
आफ्नो स्वास्थ्य उपचारका लागि हप्तौँपिच्छे जानुपर्ने खत्रीलाई गाउँमै सञ्चालन गरिएको स्वास्थ्य शिविरले ठूलो राहत मिलेको छ । प्रदेश अस्पतालमा कार्यरत हाडजोर्नी विशेषज्ञ डा शुभ श्रेष्ठसहितको टोली गाउँमै पुगेपछि भीम बहादुरलाई वीरेन्द्रनगर र नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको हो ।
“लामो समयदेखि मलाई हाडजोर्नीको समस्या छ”, ६१ वर्षीय खत्रीले भने, “गाउँमा शिविर सञ्चालन हुँदा आफूहरूलाई आर्थिक भार नपरेको र सहज स्वास्थ्य सेवा लिन पाएँ । यस्ता स्वास्थ्य शिविर नियमित रुपमा गाउँमा सञ्चालन हुनुपर्छ ।”
भीमबहादुर मात्रै होइन, एक दिने निःशुल्क बृहत् स्वास्थ्य परीक्षण शिविरबाट गाउँमा नै विभिन्न विशेषज्ञ सेवा लिन पाएपछि स्थानीय पार्वती नेपालीले खुसी व्यक्त गरीन् । उनले भनिन्, “अन्य रोगको उपचार गाउँको स्वास्थ्य चौकीमा सहजै पाइन्छ तर नसाको उपचारका लागि वीरेन्द्रनगर वा नेपालगञ्ज जानुपर्ने बाध्यता छ, गाउँमै जाँच गर्न पाएपछि खुसी छु,”
वडा नम्बर ८ कै पूर्णकला ओलीलाई पेटसम्बन्धीको समस्याले पिरोलिरहन्छ । एकदिने विशेषज्ञ स्वास्थ्य शिविरबाट लाभ लिन पाएपछि उहाँलाई गाउँमै विकास आएको महसुस भएको छ ।
“म पेटको बिरामी छु, उपचार गर्न नेपालगञ्ज जानुपथ्र्यो । तर यो पटक गाउँमै उपचार पाइएको छ ।” शिविरमा स्त्री रोग, मधुमेह, उच्च रक्तचाप, हाडजोर्नी तथा नसासम्बन्धी रोगको उपचार गरिएको छ । विशेषज्ञ चिकित्सकसहितको टोलीबाट सेवा दिइएको स्वास्थ्य शिविरबाट तीन सय जनाले सेवा पाएका छन् ।
सिम्ता–८ मा पहिलोपटक गरिएको सात विशेषज्ञ चिकित्सक सम्मिलित स्वास्थ्य शिविरबाट सेवा लिन पाएपछि स्थानीय खुसी भएका हुन् । वडा कार्यालयको आयोजना तथा नेपाल प्रेस युनियन सुर्खेत, स्वास्थ्य पत्रकार समाज कर्णालीको सहकार्य, सुर्खेत उद्योग वाणिज्य सङ्घ तथा नेपाल औषधि व्यवसायी सङ्घ कर्णाली प्रदेशको प्राविधक सहयोगमा शनिबार शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा स्त्री रोग, मधुमेह, उच्च रक्तचाप, हाडजोर्नी तथा नसासम्बन्धी रोगका समस्याबारे सेवा प्रदान गरिएको छ । शिविरमा वरिष्ठ नाक, कान घाटी रोग विशेषज्ञ डा पारस पौडेल, वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा शुभ श्रेष्ठ, वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा नम्रता भट्टराई र वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा कृतिका थापाले सेवा दिए ।
मेडिकल अधिकृत डा दिलीपकुमार शाह र डा अमृत कर्ण तथा फिजियोथेरापिष्ट डा कैलास सिराले बिरामीलाई सेवा दिएका थिए । घरदैलोमा स्वास्थ्य शिविर आयोजना गरिएपछि आर्थिक अवस्था कमजोर भएका बिरामी बढि जसो लाभान्वित भएको वडाध्यक्ष चेतबहादुर रेग्मी बताउनुहुन्छ । शिविरमा सिम्ता गाउँपालिका–८ लगायत आसपास वडाका बिरामीको उपचार गरिएको छ ।
सिम्ता गाँउपालिकाका अध्यक्ष ऐनबहादुर चन्दले नागरिकले घरदैलोमै सेवा पाउँदा खुसी व्यक्त गरे। निःशुल्क स्वास्थ्य शिविरले स्थानीय समुदायको स्वास्थ्य स्थितिमा सुधार ल्याउनुका साथै स्वास्थ्य सेवामा पहुँच बढाउन भूमिका खेलेको उनले बताए । आगामी आर्थिक वर्षको बजेटमा नै निःशुल्क स्वास्थ्य शिविरको व्यवस्था गरेर सबै नागरिकलाई उपचारको पहुँचमा पुर्याइने अध्यक्ष चन्दले बताए। शिविरमा विभिन्न रोगका दुई सय २५ महिला र ७५ पुरुषले सेवा लिएका छन् । शिविरमा बिरामीलाई उपचारसँगै आवश्यक परामर्श र औषधि समेत वितरण गरिएको थियो ।
ताजा अपडेट
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
- गेटा अस्पतालमा चरम लापरवाहीः ईमरजेन्सीमै भान्सा, रिकभरी रूममै चिकित्सकको बास !
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान
- घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
- ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ : बालबालिकामा कुपोषण बढ्यो
- एमबीबीएस तथा बीडीएस इन्टर्नको भत्ता पुनरावलोकन गर्न सिफारिस
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया