Techie IT
  • सोमबार, असोज १९, २०८३ / Monday, October 5, 2026
गृहपृष्ठ ∕ प्रदेश ∕ सुदूरपश्चिमा सरकारी अस्पताल वरपर निजी स्वास्थ्य संस्था सञ्चालनमा कडाइ

सुदूरपश्चिमा सरकारी अस्पताल वरपर निजी स्वास्थ्य संस्था सञ्चालनमा कडाइ

जनस्वास्थ्य सेवा ऐन कार्यान्वयन गर्न स्वास्थ्य निर्देशनालयलाई मन्त्रालयको निर्देशन


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाको आसपास निजी स्वास्थ्य व्यवसाय सञ्चालनमा रोक लगाउने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न स्वास्थ्य निर्देशनालय डोटीलाई निर्देशन दिएको छ।
सामाजिक विकास मन्त्रालयले स्वास्थ्य निर्देशनालयलाई पठाएको पत्रमा सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन, २०७६ को दफा २७ को उपदफा (१) मा रहेको व्यवस्था तत्काल कार्यान्वयन गर्न निर्देशन दिइएको हो।
ऐनमा सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य संस्था परिसरको तीन सय मिटर वरिपरि दूरीमा अन्य निजी अस्पताल, पोलिक्लिनिक, क्लिनिक, नर्सिङ होम, प्रयोगशाला लगायत स्वास्थ्यसम्बन्धी निजी व्यवसाय सञ्चालन गर्न नपाइने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार उक्त व्यवस्था कार्यान्वयनका लागि यसअघि नै स्वास्थ्य निर्देशनालयलाई निर्देशन दिइसकिएको थियो। मन्त्रालयले २०७९/०१/२९ मा जारी गरेको ‘निजी अस्पताल तथा स्वास्थ्यसम्बन्धी व्यवसाय स्थानान्तरण मापदण्ड, २०७९’ समेत कार्यान्वयनका लागि पठाइएको पत्रमा उल्लेख छ।
तर हालसम्म ऐनको उक्त दफा कार्यान्वयन भएको नदेखिएको भन्दै मन्त्रालयले पुनः ताकेता गरेको हो। मन्त्रालयले ऐनको दफा २७ तथा निजी अस्पताल तथा स्वास्थ्यसम्बन्धी व्यवसाय स्थानान्तरण मापदण्ड, २०७९ को व्यवस्था तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ।
मन्त्रालयको २०८३/०६/१३ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार ऐन कार्यान्वयनमा कडाइ गर्न निर्देशन दिइएको पत्रमा उल्लेख छ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

error: Content is protected !!