Techie IT
  • आईतबार, भदौ २८, २०८३ / Sunday, September 13, 2026
गृहपृष्ठप्रदेशशिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?

शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?


कैलाली । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी प्राध्यापक डा. चिरञ्जीवी पन्तलाई दिइएको छ । विश्वविद्यालयले शुक्रबार इन्टरनल मेडिसिनका प्राध्यापक डा. पन्तलाई शिक्षण अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी दिएको हो ।

गत असार ३१ गते बसेको विश्वविद्यालयको सिनेट बैठकले विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्नुका साथै शिक्षण अस्पतालको निर्देशकको जिम्मेवारी विश्वविद्यालयका रजिस्ट्रार डा. भीमबहादुर चन्दलाई दिएको थियो । पछिल्लो निर्णयसँगै डा. पन्तले शिक्षण अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

को हुन् डा. चिरञ्जीवी पन्त ?
करिब तीन दशकदेखि चिकित्सा क्षेत्रमा सक्रिय डा. चिरञ्जीवी पन्त जनरल फिजिसियन तथा पल्मोनरी क्रिटिकल केयर विशेषज्ञ हुन् । चिकित्सा सेवा, शिक्षण, सैनिक सेवा तथा विशिष्टीकृत उपचारका क्षेत्रमा उनले लामो अनुभव हासिल गरेका छन् । डा. पन्तले नेपाली सेनामा करिब २१ वर्ष सेवा गरेका थिए । सैनिक सेवाका क्रममा उनले ५ वर्ष मेडिकल अधिकृत र १६ वर्ष परामर्शदाता चिकित्सकका रूपमा जिम्मेवारी सम्हालेका थिए । संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत उनले हाइटी र कंगोमा दुईपटक सिनियर मेडिकल अफिसरका रूपमा समेत काम गरेका थिए ।

डा. पन्तसँग चिकित्सा शिक्षणको पनि लामो अनुभव छ । उनले नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेसमा १२ वर्ष अध्यापन गरेका थिए । उक्त अवधिमा ६ वर्ष सहप्राध्यापक र ६ वर्ष उपप्राध्यापकका रूपमा जिम्मेवारी सम्हाल्दै चिकित्सक उत्पादनमा योगदान दिएका थिए । शैक्षिक रूपमा डा. पन्तले नेपालगञ्ज मेडिकल कलेजबाट एमबीबीएस, वीर अस्पतालअन्तर्गत राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) बाट एमडी तथा चितवन मेडिकल कलेजबाट पल्मोनरी क्रिटिकल केयर मेडिसिनमा फेलोसिप गरेका छन् । उनले युनाइटेड मिसन हस्पिटल, तानसेनबाट इन्टर्नसिप पूरा गरेका थिए ।

डा. पन्त श्वासप्रश्वाससम्बन्धी जटिल रोगको उपचारमा अनुभवी चिकित्सकका रूपमा परिचित छन् । दम, दीर्घ अवरोधात्मक फोक्सो रोग (सीओपीडी), निमोनिया, क्षयरोग, फोक्सोमा पानी जम्ने समस्या, एलर्जीजन्य श्वासप्रश्वाससम्बन्धी समस्या, स्लीप एपनिया तथा सघन उपचार कक्ष (आईसीयू) मा उपचार आवश्यक पर्ने गम्भीर अवस्थाका बिरामीको व्यवस्थापनमा उनको विशेष दक्षता रहेको छ ।

शिक्षण अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी पाएसँगै डा. पन्तले अस्पतालको सेवा विस्तार, चिकित्सा शिक्षा तथा संस्थागत विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

error: Content is protected !!