नेपालगन्ज । बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरामा लामो समयदेखि बिग्रिएर थन्किएका विभिन्न ४४ वटा उपकरण मर्मत गरिएको छ । अस्पतालका अनुसार राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिक टोलीले एक साताको अवधिमा ती उपकरण मर्मत गरी पुनः सञ्चालनयोग्य बनाएको हो ।
अस्पतालका निर्देशक डा निरज भट्टराईले मर्मत गरिएका अधिकांश उपकरण प्रयोगमा ल्याइसकिएको जानकारी दिए । उनले केही उपकरण थप मर्मतका लागि सिफारिस गरिएको र केही उपकरण प्राविधिक टोलीले थप परीक्षणका लागि लगेको बताए । उनले भने, “मर्मत भएका उपकरण पुनःसञ्चालनमा आएपछि बिरामीलाई सहज रूपमा सेवा दिन सकिएको छ ।”
अस्पतालमा लामो समयदेखि बिग्रिएका आवश्यक उपकरण मर्मतका लागि यही साउनको पहिलो साता राष्ट्रिय आविष्कार केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबीच सम्झौता भएको थियो ।
सम्झौतापछि राष्ट्रिय आविष्कार केन्द्रका बायोमेडिकल टोलीका नेता इन्जिनियर उमेश किरातीको नेतृत्वमा पाँच सदस्यीय प्राविधिक टोली अस्पताल पुगेर उपकरणको मर्मत गरेको अस्पतालले जनाएको छ ।
मर्मत गरिएका उपकरणमा क्यान्सर परीक्षण र उपचारमा प्रयोग हुने विभिन्न मेसिन तथा उपकरण छन् । ती उपकरण पुनः सञ्चालनमा आएपछि बिरामीलाई उपचार सेवामा सहज भएको अस्पतालको भनाइ छ ।
राष्ट्रिय आविष्कार केन्द्रका बायोमेडिकल टोलीका नेता इन्जिनियर किरातीका अनुसार दुईवटा एक्स–रे मेसिन, एउटा अल्ट्रासाउन्ड मेसिन, तीनवटा भेन्टिलेटर, एउटा एनेस्थेसिया मेसिन, एउटा ‘किमो’ क्याबिनेट तथा माइक्रोस्कोप र ल्याप्रोस्कोपी टावरलगायतका उपकरण मर्मत गरिएको छ ।
उनले ल्याप्रोस्कोपी टावरका केही पार्टपुर्जा नेपालमा उपलब्ध नभएकाले विदेशबाट मगाउनुपर्ने अवस्था रहेको बताए । सोही कारण बिग्रिएको म्यामोग्राफी मेसिन मर्मत गर्न पनि समस्या भएको उनको भनाइ छ । अस्पतालका थप दुई उपकरण मर्मतका लागि काठमाडौँ लगिएको छ ।
खजुराका स्थानीय अगुवा शिवराज श्रेष्ठले लामो समयदेखि प्रयोगविहीन रहेका उपकरण मर्मत भएपछि साना परीक्षणका लागि पनि बाहिर जानुपर्ने बिरामीको बाध्यता हटेको बताए ।
उनले राष्ट्रिय आविष्कार केन्द्रलाई अझ सुदृढ बनाउँदै देशभरका अस्पताल तथा अन्य क्षेत्रमा बिग्रिएका उपकरण मर्मत र नयाँ उपकरण विकासमा सरकारले थप सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए । गत वर्ष पनि राष्ट्रिय आविष्कार केन्द्रले भेरी अस्पतालका १२ वटा विभिन्न उपकरण मर्मत गरेको थियो ।
- # उपकरण मर्मत
- # निर्देशक डा निरज भट्टराई
- # राष्ट्रिय आविष्कार केन्द्र
- # सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
ताजा अपडेट
- राजविराज अस्पताल घटनाको छानबिन प्रतिवेदन प्राप्त, आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढ्यो
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया