काठमाडौं । न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग गर्दै देशभरका नर्सले शुक्रबार विरोध प्रदर्शन गरेका छन् ।
बिहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टा सेवा ठप्प पारेर नर्सहरूले अस्पताल परिसरमा प्रदर्शन गरेका हुन् । निजी, सामुदायिक र सरकारी अस्पतालमा कार्यरत नर्सहरू आन्दोलनमा होमिएका हुन् ।
नर्सिङ संघ नेपालले अघि सारेको १५ बुँदे मागको समर्थनमा देशभरका स्वास्थ्य संस्थामा एकैपटक प्रदर्शन गरिएको हो । नर्सिङ संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८२ असोज २४ गते जारी गरेको पत्र तत्काल कार्यान्वयन गर्न माग गरेको छ ।
उक्त पत्रमा स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक सरकारी सरह नघट्ने गरी तोक्ने, अतिरिक्त कार्यवापत भत्ता दिने, ज्यालादारी प्रणाली अन्त्य गर्ने र तलब–भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्ने व्यवस्था गर्न निर्देशन दिइएको थियो ।
उक्त निर्देशन अझै कार्यान्वयनमा नआएपछि नर्सहरू आन्दोलन गर्न बाध्य भएका हुन् । संघका अनुसार विभिन्न अस्पतालले मन्त्रालयको निर्देशन उल्लंघन गर्दै नर्सहरूलाई न्यूनतम तलब पनि नदिई काम गराइरहेका छन् । कतिपय संस्थाले त तलब ढिलो र बैंकिङ प्रणालीमार्फत नदिने गरेको गुनासो नर्सहरूको छ ।
नर्स भन्छन्, ‘हामीले रातदिन बिरामीको सेवा गर्छौं, तर हाम्रो श्रमको मूल्य पाउन सकेका छैनौँ । दक्ष नर्सिङ जनशक्तिलाई अझै श्रमिककै रूपमा व्यवहार गरिँदैछ ।’ उनीहरुका अनुसार नर्सहरूको पारिश्रमिक मात्रै होइन, पेशागत सम्मान र सुरक्षाको पनि अभाव छ । नर्सिङ पेशा स्वास्थ्य प्रणालीको मेरुदण्ड हो ।
तर, नीतिगत रूपमा यसलाई आवश्यक प्राथमिकता नदिएको उनीहरुको गुनासो छ । नर्सहरूले कामको चाप अत्यधिक भए पनि पारिश्रमिक न्यूनतमभन्दा तल्लो स्तरमा रहेको, छुट्टी पाउन गाह्रो हुने, र अतिरिक्त समयमा काम गर्दा पनि भत्ता नपाइने गुनासो गरेका छन् ।

नर्सिङ संघ नेपालका पदाधिकारीहरूले १८ कात्तिकसम्म पनि सरकार गम्भीर नभए देशव्यापी कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । संघले पहिलो चरणमा दुई घण्टे प्रतीकात्मक आन्दोलन सुरु गरेको बताउँदै आगामी दिनमा सेवा अवरोध हुने गरी कार्यक्रम अघि बढाइने जनाएको छ ।
यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने नर्सहरूको माग औचित्यपूर्ण रहेको भए पनि सबै माग तत्काल कार्यान्वयन गर्न प्रशासनिक र बजेटीय चुनौती रहेको जनाएको छ । मन्त्रालयले यसबारे छलफल अघि बढाएको दाबी गरेको छ ।
निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका विषयमा श्रम मन्त्रालयसँग पनि सहकार्य गरिने बताइएको छ ।
नर्सहरूको आन्दोलन लम्बिए स्वास्थ्य सेवामा गम्भीर असर पर्न सक्ने देखिन्छ । मुलुकभरका अस्पतालहरूमा बिरामीको संख्या बढ्दो छ भने नर्सहरूको कमी पनि चर्को छ । यस्तो बेला आन्दोलनले आपत्कालीन सेवा बाहेकका उपचार प्रभावित पार्न सक्ने चिकित्सकहरूको अनुमान छ ।
नर्सहरूले उठाएका माग दीर्घकालीन रूपमा स्वास्थ्य क्षेत्रको संरचनात्मक सुधारसँग सम्बन्धित छन् । उनीहरूका अनुसार पारिश्रमिक मात्रै होइन, सेवा–सुविधा, सुरक्षाको ग्यारेन्टी र व्यावसायिक सम्मान आवश्यक छ । संघले वार्ताको ढोका खुला राखेको बताएको छ, तर सरकारले तत्काल पहल नगरे आन्दोलनको स्वरूप कठोर हुने चेतावनी दिएको छ ।
यस्ता छन्, नर्सहरूका प्रमुख मागः
-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८२/०६/२४ को पत्र कार्यान्वयन
-सबै स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक सरकारीसरह नघट्ने गरी व्यवस्था
-अतिरिक्त कार्यवापत भत्ता
-ज्यालादारीको अन्त्य
-तलब–भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी
ताजा अपडेट
- राजविराज अस्पताल घटनाको छानबिन प्रतिवेदन प्राप्त, आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढ्यो
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया