छात्रवृत्तिमै डीएमसम्म बनेका युवा पेडियाट्रिक क्रिटिकल केयर विशेषज्ञ डा. पुष्पराज
काठमाडौं । सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित महाकाली नगरपालिका–५ मा वि.सं. २०४३ साल साउन २६ गते जन्मिएका डा. पुष्पराज अवस्थी आज नेपालका युवा पेडियाट्रिक क्रिटिकल केयर विशेषज्ञका रूपमा परिचित छन् । उनका बुवा जयदेव अवस्थी र आमा मानमती देवी अवस्थी हुन् ।
उनले प्रारम्भिक शिक्षादेखि एसएलसीसम्मको अध्ययन दार्चुलाको महेन्द्र उच्च माध्यमिक विद्यालय, खलंगाबाट गरे । वि.सं. २०५८ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि काठमाडौं आए । अमृत साइन्स क्याम्पसमा आईएससी अध्ययन गर्ने क्रममा सिनियरहरूको प्रेरणा र भान्जाको सल्लाहअनुसार बायोलोजि र गणित विषय रोजे । यी दुवै विषय अध्ययन गरेपछि इन्जिनियरिङ र चिकित्सा दुवै क्षेत्रमा जाने अवसर खुला हुने भएकाले त्यही बाटो रोजेको उनी बताउँछन्।
उत्कृष्ट नतिजाका आधारमा उनले पूर्ण छात्रवृत्तिमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा एमबीबीएस अध्ययन गर्ने अवसर प्राप्त गरे । सन् २००६ देखि २०१२ सम्म एमबीबीएस अध्ययन पूरा गरेपछि एक वर्ष सोही प्रतिष्ठानमा मेडिकल अधिकृतका रूपमा कार्य गरे ।
उनी हाँस्दै सम्झिन्छन्,“एमबीबीएस पढ्दा मलाई बच्चा देखेर नै डर लाग्थ्यो।” तर मेडिकल अधिकृतका रूपमा बालरोग विभागमा काम गर्ने अवसर पाएपछि परिस्थिति नै बदलियो । एक वर्षको अनुभवले बालबालिकासँग आत्मीय सम्बन्ध बनाउन सिकायो । गम्भीर अवस्थाका बालबालिकाको उपचार गरी जीवन बचाउन सफल हुँदा प्राप्त हुने आत्मसन्तुष्टि नै उनलाई बालरोग विशेषज्ञ बन्न प्रेरित गर्ने प्रमुख कारण बन्यो।
उनको भनाइमा, “बालबालिकाको उपचार सबैले गर्न सक्दैनन्। औषधि मात्र होइन, बच्चालाई सम्हाल्ने कला, धैर्यता र सीप पनि उत्तिकै आवश्यक हुन्छ।” यसै प्रेरणाले उनले भारतको प्रतिष्ठित पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च, चण्डीगढमा पूर्ण छात्रवृत्तिमा एमडी (बालरोग) अध्ययन गरे । सन् २०१४ देखि २०१७ सम्मको अध्ययनपछि नेपाल फर्किएर चितवन मेडिकल कलेजमा करिब डेढ वर्ष अध्यापन गरे ।

त्यसपछि पुनः उत्कृष्ट उपलब्धि हासिल गर्दै उनले सोही संस्थान (पिजिआई) मा पूर्ण छात्रवृत्तिमै पेडियाट्रिक क्रिटिकल केयरमा डीएम अध्ययन गर्ने अवसर प्राप्त गरे । तीन वर्षको अध्ययनपछि नेपाल फर्किँदा भने उनbले अपेक्षा गरेजस्तो सहज रूपमा रोजगारी पाएनन् । उनी सम्झिन्छन्, “नेपाल फर्किएपछि एक–दुई महिना काम नै पाइएन। धेरै अस्पताल पुगेँ, तर कसैले अवसर दिएनन्। कतिपयले ‘ओभरक्वालिफाइड’ भन्दै राख्न पनि चाहेनन्।”
पछि चितवन मेडिकल कलेजबाट प्रस्ताव आए पनि काठमाडौं बाहिर जाने हो भने आफ्नै सुदूरपश्चिम प्रदेशमा सेवा गर्ने सोच बनाएर उनी धनगढी गए । त्यहाँ सेती प्रादेशिक अस्पतालमा एक वर्षभन्दा बढी र निसर्ग अस्पतालमा समेत गरी करिब दुई वर्षभन्दा बढी सेवा दिए ।
धनगढीको अनुभव उनका लागि निकै चुनौतीपूर्ण रह्यो। त्यहाँ चिकित्सक जनशक्ति र भौतिक पूर्वाधार दुवैको अभाव थियो भने बिरामीको चाप अत्यधिक थियो। यस्तो अवस्थामा पनि उहाँले गम्भीर अवस्थाका तथा भेन्टिलेटर आवश्यक पर्ने बालबालिकालाई वार्डमै उच्चस्तरीय ‘हाई–केयर’ उपचार प्रदान गर्न सकिने व्यवस्था विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे ।

पछि उनी काठमाडौं मेडिकल कलेजमा सह–प्राध्यापकका रूपमा करिब दुई वर्ष कार्यरत रहे। हाल उनी काठमाडौं ईष्टिच्युड अफ चाइल्ड हेल्थमा पेडियाट्रिक क्रिटिकल केयर विशेषज्ञका रूपमा कार्यरत छन् ।
चिकित्सकीय व्यस्ततासँगै अनुसन्धानमा पनि उनँको रुचि उत्तिकै छ । समयको अभावका कारण हाल अनुसन्धानमा सक्रिय हुन नसके पनि उनँका २० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा अनुसन्धानमूलक लेख प्रकाशित भइसकेका छन्।
व्यक्तिगत जीवनमा उनी खेलकुदप्रेमी छन् । विद्यार्थी जीवनमा धरानमा फुटबल टोलीका गोलकिपरका रूपमा खेलेको थिए । साथै टेबलटेनिस, ब्याडमिन्टन र क्रिकेट पनि उनँका रुचिका खेल हुन् ।
उनकी श्रीमती प्रमिता शर्मा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत स्कुल अफ पब्लिक हेल्थमा कम्युनिटी मेडिसिन विषयमा उप प्राध्यापक छन् । उनीहरूकी एक छोरी छिन् ।

सामान्य परिवारबाट सुरु भएको यात्रा, निरन्तर मेहनत, उत्कृष्ट शैक्षिक उपलब्धि र प्रत्येक तहमा प्राप्त पूर्ण छात्रवृत्तिको बलमा एमबीबीएसदेखि एमडी हुँदै डीएमसम्मको यात्रा पूरा गरेका डा. पुष्पराज अवस्थी आज नेपालमा बाल सघन उपचार क्षेत्रमा आशाको एउटा प्रेरणादायी नाम बनेका छन् ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया