Techie IT
  • आईतबार, भदौ २८, २०८३ / Sunday, September 13, 2026
गृहपृष्ठमुख्य समाचारडिजिटल स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्ने सरकारको प्रतिबद्धता

डिजिटल स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्ने सरकारको प्रतिबद्धता

टेलिमेडिसिन विस्तारदेखि राष्ट्रिय डिजिटल स्वास्थ्य प्रणाली निर्माणसम्मका सुझाव


काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डिजिटल स्वास्थ्य प्रणालीलाई सरकारको प्रमुख प्राथमिकतामा राख्दै नागरिकको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न आवश्यक नीतिगत तथा संस्थागत पहल अघि बढाइने बताएकी छन्।

मन्त्री मेहतासँग बडिमालिका नगरपालिकाका प्रमुख अमर खड्का, स्मार्ट हेल्थ ग्लोबलका मनोज खड्का, सुशील लेखकलगायतको टोलीले भेट गरी ‘द लास्ट माइलः डिजिटल स्वास्थ्य सम्मेलन २०८३’ बाट प्राप्त निष्कर्ष तथा सुझावहरू बुझाएको हो।
भेटका क्रममा टोलीले स्थानीय तहमा डिजिटल स्वास्थ्य सेवाको प्रभावकारी अभ्यास, टेलिमेडिसिन सेवाको विस्तार, स्वास्थ्य सूचना प्रणालीको एकीकरण, कानुनी तथा नीतिगत सुधार, वित्तीय दिगोपन तथा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वयमार्फत राष्ट्रिय डिजिटल स्वास्थ्य प्रणाली विकास गर्नुपर्ने आवश्यकता औँल्याएको थियो।

टोलीले सम्मेलनबाट प्राप्त अनुभव र सुझावलाई व्यवहारमा उतार्न स्पष्ट नीति, पर्याप्त लगानी तथा आधुनिक प्रविधिमैत्री स्वास्थ्य प्रणाली निर्माण अपरिहार्य रहेको धारणा पनि राखेको थियो।
जवाफमा मन्त्री मेहताले सम्मेलनबाट प्राप्त सुझावहरूलाई मन्त्रालयले गम्भीरतापूर्वक अध्ययन गरी आवश्यक नीतिगत तथा संस्थागत निर्णय प्रक्रियामा समावेश गरिने बताइन्। उनले डिजिटल प्रविधिको प्रयोगमार्फत दुर्गम क्षेत्रसम्म सहज, गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा पुर्याउने सरकारको लक्ष्य रहेको उल्लेख गरिन्।

उनका अनुसार डिजिटल स्वास्थ्य प्रणालीको प्रभावकारी कार्यान्वयनले स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार हुनुका साथै सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

error: Content is protected !!