भद्रपुर प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनको तयारी
झापा । झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रमाणपत्र तहको नर्सिङ कलेज सञ्चालनको तयारी सुरु भएको छ ।
आवश्यक पूर्वाधार र जनशक्ति उपलब्ध रहेको भन्दै अस्पतालले आगामी शैक्षिक वर्षदेखि कक्षा सुरु गर्ने लक्ष्यसहित सम्बन्धनको प्रक्रिया अघि बढाएको हो ।
अस्पतालका अनुसार नर्सिङ कलेज सञ्चालनका लागि पहल हुँदै आएको छ । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले २०८२ भदौ ५ गते कलेज सञ्चालनसम्बन्धी निर्णय गरेको थियो । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले नर्सिङ कार्यक्रम सञ्चालनका लागि सिफारिस गरिसकेको छ ।
प्रस्तावित कलेजका लागि अस्पतालको पुरानो भवन प्रयोग गर्ने तयारी छ । नयाँ भवनबाट अस्पतालको सेवा सञ्चालन हुन थालेपछि खाली रहेको पुरानो भवनमा १४ वटा कोठा, चारवटा प्रयोगशाला र पुस्तकालय रहेका छन् । होस्टल निर्माणको योजना रहेको अस्पतालकी वरिष्ठ नर्सिङ अधिकृत सुजता पौडेलले जानकारी दिईन् ।
उनका अनुसार अस्पतालमा १२४ भन्दा बढी शय्या र ९० नर्सिङ जनशक्ति रहेकामा प्रस्तावित कलेजका लागि १३ जना नर्सिङ जनशक्ति छुट्याइएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले तोकेको कोटाअनुसार विद्यार्थी भर्ना गर्ने अस्पतालको योजना छ ।
“सरकारी अस्पतालमै नर्सिङ शिक्षा सञ्चालन हुँदा पूर्वी नेपालका विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्छ । अहिले चर्को शुल्क तिरेर निजी संस्थामा अध्ययन गर्नुपर्ने बाध्यता रहेकाले सरकारीस्तरबाट कार्यक्रम सञ्चालन हुँदा धेरै सहज हुन्छ,” पौडेलले भनिन्, “यसले आवश्यक नर्सिङ जनशक्ति उत्पादन गर्न र जनशक्ति पलायन रोक्न पनि सहयोग पु¥याउन सक्छ ।”
कलेज सञ्चालनका लागि सिटिइभिटीको प्रक्रिया अघि बढाउने क्रममा गत साउन २१ गते अस्पतालको प्रतिनिधिमण्डलले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग भेट गरेको थियो । प्रतिनिधिमण्डलमा यस क्षेत्रका सङ्घीय सांसद प्रकाश पाठकसहित अस्पतालका प्रतिनिधि सहभागी थिए । टोलीले परिषद्ले तोकेको शुल्क लिएर पूर्वाधार तयारीको अनुमति प्रदान गरी स्थलगत निरीक्षण गरिदिन आग्रह गरेको थियो ।
मन्त्रीसँगको भेटमा सिटिइभिटीको उपाध्यक्ष पद रिक्त रहेकाले नियुक्तिपछि बोर्ड बैठकबाट प्रस्ताव अघि बढाउने विषयमा छलफल भएको नर्सिङ अधिकृत पौडेलले बताईन् । “शिक्षामन्त्रीबाट सकारात्मक प्रतिक्रिया पाएका छौँ । सिटिइभिटीको उपाध्यक्ष नियुक्त भएपछि बोर्ड बैठकबाट प्रस्ताव पारित गरेर आवश्यक प्रक्रिया पूरा गर्दै मन्त्रिपरिषद्बाट निर्णय गराउने आश्वासन पाएका छौँ,” उनले भनिन् ।
प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले पनि भद्रपुर प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनका लागि शिक्षा तथा खेलकुदमन्त्री पोखरेल र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग छलफल गरी पहल गरिरहेको बताएकी छिन् । उनले आवश्यक सरकारी निर्णयका लागि सहजीकरण गर्ने बताएकी छिन् ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जयकुमार गुप्ताले नयाँ भवनबाट सेवा सञ्चालन भएपछि खाली रहेको पुरानो भवनलाई नर्सिङ कलेजका लागि उपयोग गर्न सकिने बताए ।
“नर्सिङ कलेज सञ्चालनका लागि आवश्यक कक्षाकोठालगायत संरचना पुरानो भवनबाटै व्यवस्थापन गर्न सकिन्छ,” गुप्ताले भने, “अस्पतालमा भौतिक पूर्वाधार र आवश्यक जनशक्ति रहेकाले कार्यक्रम सञ्चालन गर्न सहज हुने विश्वास छ ।”
प्रक्रिया पूरा भए आगामी शैक्षिक वर्षदेखि भद्रपुर प्रादेशिक अस्पतालमै प्रमाणपत्र तहको नर्सिङ अध्ययन सुरु हुने अस्पतालको अपेक्षा छ ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया