Techie IT
  • मंगलबार, भदौ १६, २०८३ / Tuesday, September 1, 2026
गृहपृष्ठडाक्टर्स आर्टिकलसामाजिक सञ्जालमा देखिएजस्तो हुँदैन कस्मेटिक सर्जरीको नतिजा : डा शाक्य

सामाजिक सञ्जालमा देखिएजस्तो हुँदैन कस्मेटिक सर्जरीको नतिजा : डा शाक्य

विदेशको तुलनामा नेपालमा प्लास्टिक तथा कस्मेटिक सर्जरी सस्तो र गुणस्तरीय


काठमाडौं । नेपालमा प्लास्टिक तथा कस्मेटिक सर्जरीको सेवा विदेशको तुलनामा निकै सस्तो र गुणस्तरीय रहेको वरिष्ठ प्लास्टिक सर्जन डा. जसवन शाक्यले बताएका छन्। नेपालमै दक्ष जनशक्ति र आधुनिक प्रविधिको उपलब्धता बढ्दै गएकाले कस्मेटिक सर्जरीका लागि विदेश जानुपर्ने अवस्था नरहेको उनको भनाइ छ।

डा. शाक्यका अनुसार शरीरका विभिन्न अंग तथा भागमा आवश्यकताअनुसार कस्मेटिक सर्जरी गर्न सकिन्छ। अनुहार, नाक, कान, आँखा, स्तन, पेटलगायत शरीरका विभिन्न भागको आकार तथा स्वरूपमा सुधार गर्न प्लास्टिक तथा कस्मेटिक सर्जरी प्रयोग हुँदै आएको उनले बताए।

तर, सामाजिक सञ्जालमा देखाइने फोटो तथा भिडियोका आधारमा कस्मेटिक सर्जरीको नतिजाबारे धारणा बनाउनु उचित नहुने उनको सुझाव छ। सामाजिक सञ्जालमा देखाइने ‘पहिले र पछि’का तस्बिर, फिल्टर, मेकअप तथा फोटो सम्पादनका कारण वास्तविकताभन्दा फरक परिणाम देखिन सक्ने भएकाले बिरामीले त्यसैलाई आधार बनाएर अपेक्षा गर्न नहुने उनले बताए।

“सामाजिक सञ्जालमा देखिएजस्तो नतिजा कस्मेटिक सर्जरीमा सधैं हुँदैन। प्रत्येक व्यक्तिको शरीर, छालाको अवस्था, उमेर र स्वास्थ्य फरक हुने भएकाले सर्जरीको परिणाम पनि व्यक्तिअनुसार फरक हुन्छ,” डा. शाक्यले भने।

उनका अनुसार प्लास्टिक सर्जरीलाई केवल सौन्दर्यसँग जोडेर हेर्नु पनि उचित होइन। दुर्घटना, जलन, जन्मजात समस्या तथा विभिन्न रोगका कारण शरीरको कुनै अंगमा आएको विकृति सुधार गर्नसमेत प्लास्टिक सर्जरी महत्वपूर्ण हुने उनले बताए।

कस्मेटिक सर्जरी गराउनुअघि चिकित्सकसँग पर्याप्त परामर्श लिनुपर्नेमा उनले जोड दिए। बिरामीको आवश्यकता, अपेक्षा, सम्भावित जोखिम र सर्जरीपछि आउन सक्ने परिणामबारे स्पष्ट जानकारी लिएर मात्र निर्णय गर्नुपर्ने उनको भनाइ छ।

“सामाजिक सञ्जालले प्लास्टिक सर्जरीका विषयमा धेरै भ्रम पनि फैलाइरहेको छ। एउटा व्यक्तिमा सफल भएको प्रक्रिया अर्को व्यक्तिमा पनि त्यस्तै परिणाम दिन्छ भन्ने हुँदैन,” उनले भने।

नेपालमा प्लास्टिक तथा कस्मेटिक सर्जरीको क्षेत्रमा दक्ष चिकित्सक र प्रविधिको विकास भइरहेकाले स्वदेशमै अन्तर्राष्ट्रियस्तरको सेवा लिन सकिने डा। शाक्यले बताए। उनका अनुसार उचित परामर्श, दक्ष सर्जन र सुरक्षित स्वास्थ्य संस्थाको छनोट कस्मेटिक सर्जरीको सबैभन्दा महत्वपूर्ण पक्ष हो।



तपाईको प्रतिक्रिया

error: Content is protected !!