नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा बिरामीको चाप बढेको छ । स्थानीयस्तरमै विशेषज्ञ चिकित्सकसहित सेवा सुरु भएसँगै अस्पताल पुगेर सुत्केरी गराउनेको सङ्ख्यामा वृद्धि भएको हो ।
सङ्घीय सरकारको एक नगरपालिका एक सुविधा सम्पन्न अस्पतालको योजनाअनुसार बरहथवा नगर अस्पताल भवन निर्माण भएको हो । उक्त अस्पतालमा नगरपालिकाले आवश्यक उपकरण र विशेषज्ञ चिकित्सकसहितको सेवा प्रारम्भ गरेको छ । आफ्नै गाउँठाउँमा यतिको सुविधा पाउँदा खुसी लागेको बरहथवा नगरपालिका–३ हजरियाका जितेन्द्र सहनीले बताए । श्रीमतीको बर्थिङका लागि नगर अस्पताल पुगेका उनले विगतमा यही सेवाका लागि वीरगन्ज तथा जनकपुरका महँगो अस्पताल धाउनुपरेको अनुभव सुनाए । “पहिला स्थानीय स्वास्थ्य संस्था भद्रगोल थियो”, उनले भने, “सामान्य ज्वरो रुघाखोकीको औषधि पाउन मुस्किल थियो, अहिले धेरै परिवर्तन भएको छ ।”
राज्यले ठुलो लगानी गरेर सञ्चालन गरेको सरकारी स्वामित्वका स्वास्थ्य संस्था अस्तव्यस्त हुने गरेका स्थानीय मनोज पण्डितले बताए । “विपन्न नागरिकले ऋण गरेर निजी क्लिनिकबाट महँगो सेवा लिनुपर्ने बाध्यता विगतमा व्याप्त थियो, अहिले नागरिक सचेत भएका छन् । तीनै तहका सरकार थोरै भए पनि नागरिकप्रति जिम्मेवार भएको महसुस गरेको छु”, उनले भने ।
पण्डित छोरीलाई निकै दिनदेखि लगातार ज्वरो आएपछि परीक्षणका लागि नगर अस्पताल आइपुग्नुभएको थियो । ‘कोर’ मधेसका पायक स्थानमा रहेको यहाँ विगतमा सामान्य बर्थिङ सेन्टरमात्र सञ्चालनमा थियो । सुत्केरीका लागि आउने बिरामीलाई असामान्य अवस्था हुनेबित्तिकै अन्यत्र रेफर गरिदिने गरिन्थ्यो । यसले गर्दा बिरामीका आफन्त ठुलो खर्चको चपेटामा पर्ने गर्थे ।
खर्च अभावमा गर्भवतीको ज्यान दाउमा राखेर घरै लगेरसमेत सुत्केरी गराउने गरेका बागमती नगरपालिका–८ शङ्करपुरकी सङ्गीता कुशवाहाले सुनाइन् । गत माघबाट नगर अस्पतालले एक जना स्त्री, प्रसूति तथा निसन्तान रोग विशेषज्ञ चिकित्सक नियुक्ति गरेर गुणस्तरीय सेवा प्रवाह गरिरहेको हो । माघयताको तथ्याङ्क हेर्ने हो भने एक हजार २७३ जनाले प्रसूति सेवा लिइसकेका छन् । त्यसमध्ये ११९ जनालाई शल्यक्रिया (सिएस) विधिबाट सुत्केरी गराइएको छ ।
बाँकीको ‘नर्मल डेलिभरी’ भएको हो । नेपालले २०३० सम्म ‘होमडेलिभरी’ शून्यमा झार्ने लक्ष्य राखेको छ भने मातृ र शिशु मृत्युदरसमेत नगण्य बनाउने योजनासहित स्वास्थ्य कार्यक्रम बनाएको छ । तर यसको कार्यान्वयनमा चुनौती रहेको चिकित्सकहरू बताउँछन् । अझै धेरै ठाउँमा प्रसूति अवस्थालाई सामान्य मान्ने र लापरवाही गर्ने प्रचलन छ । अर्कातर्फ यस सेवामा बिरामीको पहुँच अझै सहज हुन नसकेको डा लिमुकुमारी साहले स्वीकार गरिन् ।
आफूहरूले सेवा लिन आउने बिरामीलाई जतिसक्दो सहज र सरल रूपमा सेवा प्रवाह गरिरहेको उहाँको भनाइ छ । यस अस्पतालबाट शल्यक्रियासहितको सुविधा निःशुल्क वितरण भएपछि बिरामीको विश्वास र चाप बढ्दै गएको उहाँले बताउनुभयो । अत्य आवश्यक अवस्थाबाहेक रेफर नहुने यहीँबाट सेवा पाइने भएकाले पनि बिरामीका आफन्तसमेत अस्पताल र सेवाप्रति सकारात्मक पाइएको उनले सुनाइन् ।
सामान्य स्वास्थ्यचौकी र स्वास्थ्यकर्मीका भरोसामा रहेका ‘बर्थिङ सेन्टर’बाहेक अन्य भरपर्दो अस्पताल यस क्षेत्रमा छैन । यहाँ बरहथवासहित बागमती, बसबरिया, धन्कौल, रामनगर, बलरा, गोडैता, हरिपुर, चक्रघट्टलगायत स्थानबाट पनि प्रसूति सेवा लिने बिरामी आइपुग्ने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सरोजरोशन दासले बताए । अस्पतालले दिने निःशुल्क प्रसूति सेवा तथा औषधोपचारका कारण सेवाग्राहीको चाप बढेको उनी बताउँछिन् ।
मधेस प्रदेश सरकारको तर्फबाट प्राप्त जनस्वास्थ्य प्रयोगशालाबाट सहुलियतपूर्ण ल्याब परीक्षण सेवा प्रवाह भएकाले पनि नागरिकको आकर्षण बढेको उनीहरूको प्रतिक्रिया छ । यस नगर अस्पतालमा निःशुल्क आँखा उपचार सेवा, प्रसूतिलगायत जनरल फिजिसियन सेवा, ओपिडी र इमर्जेन्सी सेवासमेत प्रवाह गरिरहेको डा दासले बताए । अस्पतालको सेवा सकेसम्म चुस्तदुरुस्त राखिएको उनको दाबी छ ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया