विपद्मा नसर्ने रोगको सेवा निरन्तरताकोे खाँचो
काठमाडौँ । नेपालमा बढ्दो नसर्ने रोगको जोखिमलाई कम गर्न स्वास्थ्य सेवाको प्रभावकारी एकीकृत पहल आवश्यक रहेकामा जोड दिइएको छ । साथै जोखिमलाई सामना गर्न विपद्का अवस्थामा नसर्ने रोगको सेवा निरन्तरताका लागि संयुक्त प्रयासको खाँचो औँल्याइएको छ ।
नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित उत्थानशील नसर्ने रोग परियोजनाद्वारा ‘विपद्का अवस्थामा नसर्ने रोगको सेवा निरन्तरताको लागि अत्यावश्यक प्रतिकार्य प्याकेज’ विषयक छलफल कार्यक्रम सो खाँचो औँल्याइएको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषिरमण खनालले सासाइटीले विभिन्न मानवीय सेवाका गतिविधिलाई निरन्तर जारी रहेको जानकारी दिए ।
स्वास्थ्य सेवा विभाग, नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा पोमावती थापाले ‘नेपालमा नसर्ने रोगको वर्तमान अवस्था, उपलब्धि तथा सन् २०३० सम्मको राष्ट्रिय कार्यदिशा’ विषयक प्रस्तुति गर्दै नेपालमा बढ्दो नसर्ने रोगको चुनौतीलाई सम्बोधन गर्न विपद् जोखिम व्यवस्थापनसँग स्वास्थ्य सेवाको प्रभावकारी एकीकृत पहल अपरिहार्य रहेकामा जोड दिए । उनले भने“ विभिन्न कारणले पछिल्लो समय नेपालमा सरुवा भन्दा नसर्ने रोगको जोखिम उच्च हुँदै गएको छ । यसलाई सम्बोधन गर्न संयुक्त प्रयासको खाँचो पर्दछ ।”
कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले नसर्ने रोगको जोखिममा रहेका समुदायको पहिचान गरी त्यहीअनुसारको पूर्वतायरी गर्नुपर्ने आवश्यतका औँल्याए । डेनिस रेडक्रसको देशीय व्यवस्थापक (नेपाल र बङ्गलादेश) डेभिड फोग्देनले नसर्ने रोगको विश्वव्यापी तथ्याङ्कलाई अध्ययन गर्दा अवस्था गम्भीर रहेको पाइएको बताए । उनले समुदायमा विपद् प्रतिरोधात्मक स्वास्थ्य प्रणालीको विकास, गैरसरुवा रोगको प्रभावकारी व्यवस्थापन तथा साझेदारीमा आधारित कार्यलाई आगामी दिनमा अझ सशक्त रूपमा अघि बढाउनुपर्नेमा सुझाव दिए।
नेपाल रेडक्रस सोसाइटी, विपद् व्यवस्थापन विभागका निर्देशक सागर श्रेष्ठले विपद्का अवस्थामा नसर्ने रोगबाट प्रभावित व्यक्तिहरूका लागि स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न बहुपक्षीय सहकार्य र नीतिगत समन्वय आवश्यक छ भने।
डेनिस रेडक्रसका नेपाल कार्यक्रम संयोजक निरु प्रधान तथा नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम संयोजक प्रमोद अधिकारीले बिपद्को समयमा नसर्ने रोगसम्बन्धी बिरामीहरूका लागि उपचार तथा आवश्यक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन भइरहेको उत्थानशील नसर्ने रोग परियोजनाका प्रमुख उपलब्धि तथा सिकाइहरू प्रस्तुत गरेका थिए।
नेपाल रेडक्रस, स्वास्थ्य सेवा विभागका कार्यक्रम संयोजक अनिल महर्जनले परियोजनाअन्तर्गत गरिएको अध्ययन तथा अनुसन्धानका प्रमुख निष्कर्ष प्रस्तुत गर्दै समुदायस्तरमा नसर्ने रोग व्यवस्थापनलाई विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनासँग आबद्ध गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
कार्यक्रममा नसर्ने रोगसम्बन्धी सेवाको व्यावहारिक कार्यान्वयन, नीतिगत अवसर, स्वास्थ्य प्रणालीमा प्रभावकारी एकीकरण तथा दिगो संस्थागत व्यवस्थापनका विषयमा सहभागीहरूबीच अन्तक्र्रियात्मक छलफल भएको थियो । यसमा विपद्को अवस्थामा नसर्ने रोग (एनसिडी) सम्बन्धी सेवाको निरन्तरता सुनिश्चित गर्न आवश्यक नीति तथा रणनीतिक व्यवस्था, स्रोत परिचालन, स्वास्थ्य प्रणाली र प्राथमिक स्वास्थ्य सेवासँग एनसिडी सेवाको एकीकरण, आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्ति व्यवस्थापन, स्थानीय तहको भूमिका, पेन–डीको संस्थागत विकासमा छलफल गरिएको थियो । साथै, अनुसन्धान तथा प्रमाणमा आधारित नीति निर्माण, अन्तरराष्ट्रिय अभ्यास, बहुपक्षीय समन्वय तथा विपद्को समयमा नसर्ने रोगका बिरामीलाई गुणस्तरीय र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउने उपायबारे छलफल गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटीका निमित्त कार्यकारी निर्देशक मोना अर्यालले विपद्को समयमा नसर्ने रोगबाट प्रभावित व्यक्तिहरूले अविछिन्न रूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्न सरकार, रेडक्रस तथा सरोकारवाला निकायबीचको सहकार्य, अनुभव आदानप्रदान र प्रमाणमा आधारित नीतिगत पहललाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा कञ्चनपुरको लालझडी गाउँपालिका अध्यक्ष निर्मल रानाले नेपाल रेडक्रस सोसाइटीको सहयोगमा सञ्चालित नसर्ने रोगको परियोजनाबाट पालिकामा पुगेको सहयोगका बारेमा आफ्नो अनुभव प्रस्तुत गरेका थिए।
छलफलको सहजीकरण रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महाससङ्घ (आइएफआरसी) क्यानेडियन रेडक्रसका एसिया प्रशान्त क्षेत्रीय स्वास्थ्य सल्लाहकार रमेश न्यौपानेले गरेका थिए ।
छलफल कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, महामारी तथा रोग नियन्त्रण महाशाखा, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल रडक्रस सोसाइटी, आइएफआरसी, डेनिस रेडक्रस, क्यानेडियन रेडक्रस, विश्व स्वास्थ्य सङ्गठन, काठमाडौँ विश्वविद्यालय तथा स्वास्थ्य क्षेत्रमा क्रियाशील विभिन्न सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
ताजा अपडेट
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व
- आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुनर्संरचनाको तयारी
- जलन उपचार सुधारमा मन्त्रालयको जोड : स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी
- चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
- बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
- तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
- गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया