निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
दाङ। घरछेउमै निःशुल्क स्वास्थ्य उपचार दिन थालेपछि घोराहीका महिलाको स्वास्थ्यमा सुधार हुन थालेको छ । घोराही उपमहानगरपालिका–११ शिवपुर निवासी ६० वर्षीया महिलालाई तल्लो पेट दुख्ने, ढाड, कम्मर दुख्ने समस्या भएको थियो । घरको कामले फुर्सद नभएर उनी अस्पताल गईनन् ।
घर नजिकै घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा गईन् । त्यहाँ पुगेपछि उनको पाठेघरमा घाउ भएको पत्ता लाग्यो । उपचारमा गएका स्वास्थ्यकर्मीले औषधिले निको हुन्छ नआत्तिनुहोला भनी सम्झाइबुझाई गरी औषधि दिएर पठाए । घरछेउमा स्वास्थ्य सेवा पाएपछि खुसी लागेको पोखरेलले बताईन् ।
घोराही उपमहानगरपालिका–१३ कलमघारीका ६३ वर्षीया महिलालाई पिसाब नरोकिने, ढाड दुख्ने, जीउ दुख्ने र खान मन नलाग्ने समस्या थियो । उपचारका लागि जाने फुर्सद नभएकाले अस्पताल नगएको उनले बताईन् । घरछेउमा आएको निःशुल्क स्वास्थ्य शिविरमा उपचारका लागि आएको र स्वास्थ्यकर्मीले औषधि दिनुभएको छ, निको हुने आशा गरेको छु”, उनले भनिन् ।
घोराही उपमहानगरपालिका स्वास्थ्य प्रवर्द्धन शाखाका अनुसार पछिल्लो चार वर्षमा घोराहीमा पाठेघरको मुखको क्यान्सर रोगका कारण ज्यान गुमाउनेको सङ्ख्यामा कमी आएको छ । समयमै स्क्रिनिङ गराउँदा सयौँले ज्यान जोगाएका छन् ।
बितेको चार वर्षको तथ्याङ्कले घोराही उपमहानगरपालिकामा ४८८ जनामा पाठेघरको मुखको क्यान्सरको शङ्कास्पद लक्षण फेलापरेको छ । घोराही उपमहानगरपालिका स्वास्थ्य प्रवर्द्धन शाखाले १९ वटै वडामा सञ्चालन गरेको शिविर र संस्थागत परिवार नियोजन क्लिनिकबाट ४८८ महिलाको पाठेघरमा क्यान्सरको लक्षण फेलापरेको हो । महिलाहरूको स्वास्थ्य संरक्षणका लागि उपमहानगरले आर्थिक वर्ष २०७९/८० देखि पाठेघरको मुखको क्यान्सर परीक्षणका लागि शिविर सञ्चालन गर्दै आएको छ ।
चार आर्थिक वर्षमा घोराहीले १९ वटै वडाका विभिन्न क्षेत्रमा पुगेर १६ हजार ७४१ महिलाको पाठेघर परीक्षण गर्यो । त्यही परीक्षणमा ४८८ महिलाको पाठेघरमा क्यान्सरको शङ्कास्पद लक्षण फेलापर्यो । तथ्याङ्कअनुसार आव २०७९र८० मा कुल पाँच हजार ८०९ महिलाको पाठेघर परीक्षण गरियो । तीमध्ये ११६ महिलामा क्यान्सर पोजेटिभ देखियो ।
आव २०८०/८१ मा तीन हजार ६६५ महिलाको पाठेघर जाँच गर्यो । जसमा ८८ जनाको पाठेघरमा पोजेटिभ देखियो । यस्तै आव २०८१/८२ मा पाँच हजार २६० जनामा गरिएको परीक्षणबाट १६४ जनामा शङ्कास्पद लक्षण भेटिएको थियो भने चालु आव २०८२र८३ मा दुई हजार सात जनाको पाठेघर जाँच गर्दा १२० जनामा पोजेटिभ देखिएको घोराही उपमहानगर स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले जानकारी दिए ।
समयमै समस्या पत्ता लाग्दा खर्च पनि कम हुने र निको पनि पार्न सहज हुने कुरालाई हामीले सबै महिलाहरूलाई सजग गराउँदै जाँदा उपचारका लागि आउनेको सङ्ख्या बढेको शाखा प्रमुख पौडेलले जानकारी दिए ।
घोराहीले अहिले गाउँघरमै पुगेर निःशुल्क शिविर चलाउने, संस्थागत परिवार नियोजन क्लिनिक र लक्ष्मीपुर स्वास्थ्यचौकीमा पाठेघरको मुखको क्यान्सर जाँच गर्ने व्यवस्था मिलाएको छ । हरेक बिहीबार संस्थागत परिवार नियोजन क्लिनिक र हरेक महिनाको पहिलो सोमबार लक्ष्मीपुर स्वास्थ्यचौकीबाट पाठेघरको मुखको क्यान्सरको जाँच भइरहेको प्रमुख पौडेलले जानकारी दिए । गम्भीर समस्या देखिए सम्बन्धित अस्पतालहरूमा रिफर गर्ने गरिएको उनले बताए ।
घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले दैनिकजसो आफ्नो टेबुलमा क्यान्सरपीडित महिला आउन थालेपछि रोग लागेर उपचार गर्नुभन्दा रोग समयमै पत्ता लगाउने अभियान चलाएको बताईन् ।
“आव २०७९/८० देखि पाठेघरको मुखको क्यान्सर जाँच अभियान थाल्यौँ”, उपप्रमुख डिसीले भनिन्, “केहीलाई त बचाउन सकिएन, तर समयमै जाँच भएर उपचार गर्दा धेरैले नयाँ जीवन पाउनुभएको छ । त्यसैले पाठेघरको मुखको क्यान्सर जाँचलाई अभियानकै रूपमा आगामी दिनमा पनि सञ्चालन गछौँ ।”
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया